चीनबाट रासायनिक मल भित्रियो
2021-10-21 16:10:36CRI
Share with:

कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल भित्रिन थालेको छ। तातोपानी नाका हुँदै कात्तिक ३ गतेसम्म तीन सय चालिस मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिनुभएको छ।

हिउँदेबालीका लागि कम्पनीले सिल्क ट्रान्सपोर्ट प्रालिमार्फत ३५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपीसहित ४० हजार मेट्रिक टन रासायनिक मल मगाएको थियो।

किसानहरुले धानबाली भित्र्याई सकेपछि आलु तथा गहुँबाली सुरु गर्ने गर्दछन्। त्यसका लागि मलको अभाव हुन नदिने उद्देश्य राखी कृषि सामग्री कम्पनीले चीनबाट मल झिकाउन समयमै ठेक्का प्रक्रिया पुर्‍याएको थियो। तर उक्त मल खासा क्षेत्रमा रोकिएर रहेको अवस्थाबाट हालै नेपाल भित्रिन थालेको सिल्क ट्रान्सपोर्टले जनाएको छ।

नेपाल सरकारले यसअघि पनि साल्ट ट्रेडिङ कम्पनीमार्फत चीनबाट चार हजार मेट्रिक टन युरिया मल मगाएको राससले जनाएको छ।