कूटनीतिक नियोगमा पहिलोपटक ‘ई–सेन्सस’
2021-10-22 16:39:19cri
Share with:

केन्द्रीय तथ्यांक विभागले पहिलोपटक विदेशस्थित ४० कूटनीतिक नियोगमा ‘ई–सेन्सस’(अनलाइनबाट जनगणना) गर्ने भएको छ। त्यसका निम्ति प्रत्येक नियोगमा एक कर्मचारीलाई सम्पर्क व्यक्ति तोकिने छ। कात्तिक २५ देखि मंसिर ९ सम्म हुने १२ औं राष्ट्रिय जनगणनाका लागि यस्तो पहल गरिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभएको छ।

विभिन्न ३० मुलुकमा नेपाली दूतावास छन्। त्यसबाहेक न्युयोर्क, जेनेभा, भियनामा स्थायी नियोग छन्। नेपाली महावाणिज्य दूतावास ल्हासा, कोलकाता, हङकङ, जेहाद, न्युयोर्क, भियना, ग्वान्जाओ र छेन्दुमा रहेका छन्। ‘तोकिएका सम्पर्क व्यक्तिलाई भर्चुअल माध्यमबाट तालिम दिइनेछ,’ लामिछानेले बताउनुभयो, ‘ती नियोगमा रहेका कर्मचारी र त्यहीँ रहेका परिवारको गणना हुनेछ। वेब एप्लिकेसन्समार्फत सम्पर्क व्यक्तिले डाटा इन्ट्री गर्नेछन्।’

कूटनीतिक नियोगमा कार्यरतलाई मूली, परिवार संख्या, शिक्षा, अध्ययन क्षेत्र, प्रजननसम्बन्धी प्रश्न सोध्नुका साथै कोही अपांगता भए त्यसबारे पनि खुलाइनेछ। कार्यरत मुलुक, कामको विवरण, पद आर्थिक कामको संस्थागत क्षेत्र पनि उल्लेख गरिनेछ। वैदेशिक रोजगारी र अध्ययन गर्न गएका नागरिकको विवरण भने स्वदेशमा रहेका घरपरिवारबाट लिइनेछ। विदेशमै स्थायी बसोबास गर्ने नेपालीबारे भने तथ्यांकमा उल्लेख नहुने जनाइएको छ।

तथ्यांकीय सिद्धान्तअनुसार ६ महिनाभन्दा बढी घर छाडेर अन्यत्र जाने परिवारका सदस्यलाई ‘अनुपस्थित जनसंख्या’मानिन्छ। तथ्यांकशास्त्री तुङ्ग शिरोमणि बाँस्तोलाका अनुसार १९९८ सालमा भएको चौथो जनगणनामा पहिलोपटक जीविकाका लागि मुग्लान गएका भनेर विदेशमा जानेहरूको संख्या उल्लेख गरिएको थियो।

उहाँले त्यतिखेर ८१ हजार ७ सय २२ जना विदेश गएको तथ्यांक आफ्नो पुस्तक ‘जनगन्तीका सय वर्ष’मा उल्लेख गर्नुभएको छ। १९६८ सालदेखि हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ। सातौं, आठौं र नवौं राष्ट्रिय जनगणनामा विदेशमा रहेकाहरूको तथ्यांक उल्लेख छैन। २०५८ सालको १० औं जनगणनादेखि पुनः विदेश गएकोहरूको तथ्यांक राख्न थालिएको हो।

२०६८ को जनगणनाले विदेशमा रहेकाहरूको जनसंख्या १९ लाख २१ हजार ४ सय ९४ देखाएको थियो। यो संख्या वैदेशिक रोजगारी र अध्ययन गर्न जानेको हो, जुन कुल जनसंख्याको ७ दशमलव ३ प्रतिशत थियो। पछिल्लो तथ्यांकले सबैभन्दा धेरै गुल्मी, अर्घाखाँची र प्यूठानको (४४ दशमलव ८१ प्रतिशत) जनसंख्या विदेशमा रहेको देखाएको कान्तिपुर दैनिकले लेखेको छ।