नेपाली चियामा भारतको बक्रदृष्टि
2021-10-22 16:44:18cri
Share with:

नेपाली चियामा भारतको बक्रदृष्टि_fororder_3

नेपाली चियाको निर्यात बजारको विविधिकरण गर्न नसक्दा उत्पादकहरू भारतीय बजारमा निर्भर छन्। भारतसँग नेपालको ठूलो व्यापारिक निर्भरता छ। आयात र निर्यात दुवै ६५ प्रतिशत व्यापार भारतसँग हुन्छ।

भन्सार विभागको तथ्यांक अनुसार, गत वर्ष भारतसँग नेपालको व्यापार घाटा ८ खर्ब ६५ अर्ब रुपैयाँ छ। यद्यपि भारतले नेपालको निर्यातलाई उसको बजारमा सहज प्रवेश दिने विषयलाई सधैँ सौदाको विषय बनाउँदै आएको छ। भारतीय वस्तु नेपालमा निर्बाध प्रवेश गरेपनि नेपालका निकासी वस्तुलाई भारतले विभिन्न गैर–भन्सार अवरोध सिर्जना गर्दै आएको छ।

यस वर्ष भारतमा चिया निकासी प्रभावित हुने संकेत देखिएको छ। भारतीय आयातकर्ताले यस वर्ष नेपाली चिया उत्पादकलाई दिने मूल्य निकै कम प्रस्ताव गरेका छन्। गत वर्ष २०० रुपैयाँ प्रतिकेजीसम्म (सीटीसी) चिया भारतमा निकासी भएको थियो। भारतमा गत वर्ष लकडाउनका कारणले बगान र फ्याक्ट्रीहरू बन्द रहेकाले पनि नेपाली उत्पादकले राम्रो मूल्य पाएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकारीहरू बताउँछन्। यद्यपि, यो वर्ष भने उत्पादनको लागत मूल्यभन्दा कम मूल्य प्रस्ताव आएको र यो मूल्यमा निकासी गर्न सम्भव नभएको उत्पादकहरू बताउँछन्।

यस वर्ष नेपाली चियालाई भारतीय आयातकर्ताले ८० देखि ९० रुपैयाँ प्रतिकेजी प्रस्ताव गरेका छन्। त्यस्तै, हरियो पत्ता गत वर्ष प्रतिकेजी ४० देखि ४५ रुपैयाँसम्ममा निकासी भएको थियो, अहिले हरियो पत्ताका लागि ७–८ रुपैयाँमात्र मूल्य प्रस्ताव भएको छ। जसका कारण उत्पादकहरू चिया गोदाममा थन्क्याउन बाध्य भएको इकागज अनलाइनले लेखेको छ।

नेपाली चियालाई विश्वबजारमा पठाउन चियाको ‘अक्सन हाउस’निर्माण गर्ने र विश्वबजारबाट दरको बोलकबोलबाट बेच्ने नीतिगत घोषणामा मात्र सीमित भइदिँदा नेपाली उत्पादक भारतीय बजारमा निर्भर छन्।

यस वर्ष फेरि भारतले नेपालबाट भारतमा निकासी हुने शून्य भन्सारमा आधारित चियाले भारतीय चिया उत्पादकलाई असर पारेको जस्तो गलत मनसायप्रेरित तर्क अघि सार्न थालेको छ। भारतको फाइनान्सियल एक्सप्रेस पत्रिकाले हालै प्रकाशित गरेको समाचार अनुसार, नेपालबाट शून्य भन्सार सुविधामा निकासी भइरहेको चियाले भारतीय उत्पादन र त्यहाँका उद्योगलाई असर पारेको उल्लेख गरेको छ।

नेपालको प्रमुख निकासीवस्तु चिया गत वर्ष १३ हजार एक सय ४० टनको परिमाणमा ३ अर्ब ७९ करोड रुपैयाँमा निकासी भएको थियो। नेपालका २८ जिल्लामा १६ हजार ९ सय हेक्टरभन्दा धेरै क्षेत्रफलमा चिया खेती हुँदै आएको छ भने १४ हजारभन्दा धेरै साना उत्पादकहरू संलग्न छन्। प्रमुख नगदेबालीका रूपमा लिइने चियाको वार्षिक उत्पादन झण्डै २५ हजार टन छ। नेपालमा उत्पादित चियामध्ये आधाभन्दा धेरै निकासी हुँदै आएको छ भने आन्तरिक खपत धान्न नेपालले वार्षिक सवा दुई सय टनसम्म चिया आयात पनि गर्दै आएको छ।