तुम्लिङमा फसेका पर्यटकहरुको हेलिकोप्टरबाट उद्धार
2021-10-22 16:46:48cri
Share with:

तुम्लिङमा फसेका पर्यटकहरुको हेलिकोप्टरबाट उद्धार_fororder_4

ट्रेकिङ सम्पन्न गरेर सिमकोट पैदल मार्गबाट फिर्ता हुन लागेको चार जना विदेशी पर्यटकसहित १२ जनाको टोलीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। काठमाडौंबाट आएको एयर डाइनेष्टिकको हेलिकोप्टर तुम्लिङबाट टोलीको उद्धार गरेको हो। हिल्सा र लिमीको ट्रेकिङका लागि गएको चार जना स्लोभानियाका पर्यटकहरुसहितको टोली तुम्लिङमा रोकिएका मध्ये आठ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभएको छ।

टोली आफ्नो ट्रेकिङ सकाएर सिमकोट फिर्ता हुने तयारीमा तुम्लिङमा रहेकै बेला हिमपात सुरु भएपछि न्यालु लेकको बाटो बन्द हुँदा रोकिनुपरेको गोरखापत्र अनलाइनले लेखेको छ।

हिमपातको कारण नाम्खा गाउँपालिका–६ को लिमी क्षेत्रको तुम्लिङमा चार जना स्लोभानियाका नागरिकसहित १२ जना रोकिएको थियो। हेलिकोप्टरबाट उद्धार गरिएका मध्य विदेशी नागरिकलाई काठमाडौं लगिने जनाइएको छ।

असोज २२ गते सिमकोटबाट हिल्सा हुँदै लिमीको ट्रेकिङमा गएको उक्त टोली चार दिनयता न्यालु लेकमा बाक्लो हिमपात हुँदा उतै रोकिएको हो। टोलीमा चार जना स्लोभानियाका नागरिक, तीन जना टुर गाईड, पाँच जना हुम्लाका स्थानीय र आठ वटा खच्चड तुम्लिङमा रोकिएका थिए। ट्रेकिङ गर्दै न्यालु लेकबाट पैदल मार्गबाट पर्यटकको टोली सिमकोट आउने कार्यक्रम थियो। न्यालुमा तीन फिटभन्दा बढी हिमपात हुँदा बाटो बन्द भएपछि टोली आउन नसकेको हो। तीनदिन लगातारको वर्षाले पाँच हजार मिटर अग्लो न्यालु लेकमा हिमपात हुँदा बाटो अवरुद्ध हुँदै आएको छ।

बुधवार टोलीको उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा लेखी पठाएको थियो। पाँच हजार मिटर अग्लो हिमालको कारण हेलिकोप्टरले दुई फ्लाइट गर्नुपरेको थियो।