स्मार्ट प्रणालीका लागि एसियाली विकास बैंकले नेपाललाई सघाउने
2021-11-27 16:02:12cri
Share with:

नेपाल विद्युत प्राधिकरणको व्यवसाय दक्षतापूर्ण बनाउन एसियाली विकास बैंक (एडिबी) ले ७ अर्ब ८ करोड अर्थात ६० मिलियन डलर बराबरको ऋण सहायता दिने भएको छ । एडीबीले पटक पटक गरी ४ लाख ४८ हजार स्मार्ट मिटर वितरण गरेपनि व्यावसायिक कारोबार पुरानै प्रणालीमा सञ्चालन भइरहेकाले यसमा सुधार गरी अटोमेसन जाने गरी स्मार्ट प्रणाली विकासका लागि यो सहायता दिन लागेको हो । विद्युत प्राधिकरणले अघि सारेका डिजिटल विद्युत प्राधिकरण र आधुनिक सेवाका लागि विद्युत ग्रिड आधुनिक परियोजनाअन्र्तगत सहायता दिन लागिएको एडीबीका ऊर्जातर्फका वरिष्ठ परियोजना अधिकृत पुष्कर मानन्धरले जानकारी दिनुभयो।

एकीकृत वित्तीय सूचना प्रणालीको समेत विकास गर्ने लक्ष्य राखिएको परियोजनाबाट प्राधिकरणभित्र पारदर्शीता र आन्तरिक सुशासन कायम गर्न सहयोग पुग्नेछ भने प्राधिरणको सफ्टवेयरको स्तरोउन्नति गरेपछि व्यवसायबारे विश्लेषण गर्न सहज हुने बताइएको छ।

सहायता सम्बन्धी आज शुक्रबार एडिबी र अर्थ मन्त्रालयबीच ऋण सहायता सम्बन्धी सम्झौता हुन लागेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सम्झौतामा मन्त्रालयका सचिव मधुकुमार मरासिनी र एडिबीका नेपाल निर्देशक अर्नाउड काचोइसले हस्ताक्षर गर्ने कार्यक्रम छ।

यस्तै, परियोजना सम्बन्धि सम्झौतामा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एडिबीका नेपाल निर्देशक काचोइसले हस्ताक्षर गर्ने कार्यक्रम छ।