कोरोनाले डेढ वर्षदेखि स्थगित रसुवागढी नाका खुल्ने प्रतीक्षामा नेपाली व्यवसायी
2021-11-28 17:17:40cri
Share with:

कोरोना महामारीका कारण चीन प्रवेश गर्ने छोटो दूरीको रसुवागढी नाका प्रभावित भएको डेढ वर्ष भइसकेका छ। जसका कारण नेपालको राजश्वमा समेत प्रभाव परेको छ। चीनले हाल सो नाका एकतर्फी रूपमा सञ्चालन गरेको छ। संक्रमण सुरु भएयता चीनले कोटा प्रणालीमा सामान ल्याइरहेको छ। २०७६ माघ १५ देखि २०७७ जेठ २२ गतेसम्म रसुवागढी नाका बन्द भयो। रसुवागढी काठमाडौंदेखि १ सय ५२ किलोमिटर उत्तर भोटेकोसी नदी किनारामा अवस्थित छ। चीनले रसुवागढी नाकालाई सन् २०१७ सेप्टेम्बर १ तारिखदेखि अन्तर्राष्ट्रिय नाकाका रूपमा मान्यता दिइसकेको अन्नपूर्णले लेखेको छ।

हाल चीनले आफ्नै गाडीमा नेपालतर्फको भू–भागमा सामान ल्याइदिने गरेको छ। हाल रसुवागढी नाकाबाट चिनियाँ ९ वटा कन्टेनरमा सामान आयात भइरहेको छ। चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन्। चिनियाँ गाडीमा आएको सामग्री नेपाली गाडीमा लोड अनलोड गर्न स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएको सुरक्षाकर्मीले जनाएका छन्।

कोरोना महामारी सुरु भएपछि खुम्चिएको नेपाल–चीन व्यापार अझै सहज हुन सकेको छैन। कोटा प्रणालीमा सञ्चालित व्यापार पर्याप्त नभएको गुनासो व्यापारीले गरिरहेका छन्। कोटा प्रणालीअनुसार दैनिक ९ चिनियाँ कन्टेनरमा सामग्री नेपाल आयात भइरहेको छ। तर, यो परिमाण निकै कम भएको व्यापारीहरूले बताएका छन्। सिजनअनुसारको सामान ल्याइए पनि तोकिएको समयमा सामान नेपाल आइनपुगेको व्यवसायीले बताएका छन्।