नेपालका नदीमा पानीको बहाव घट्न थालेपछि भारतबाट विद्युत किन्ने तयारी
2021-11-28 17:16:38cri
Share with:

हिउँद लागेसँगै नदीमा पानीको बहाव घट्ने र जाडोका कारण माग बढ्दै गर्दा नेपाल विद्युत् प्राधिकरण अब भारतबाट विद्युत् खरिद गर्नुपर्ने अवस्थामा पुगेको छ । चाडपर्व सकिएर तथा कोरोना महामारीको अवस्था सहज भएकाले उद्योग व्यवसाय कलकारखाना सञ्चालनमा आउने क्रम बढ्न थालेकाले माग बढेको छ । त्यस्तै चिसो पनि बढ्न थालेकाले घरायसी माग पनि बढ्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नयाँ आयोजना थपिएपछि यो वर्ष वर्षायाममा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदा ५०० मेगावाटसम्म विद्युत् खेर फाल्नुपरेको थियो तर पछिल्ला दिनमा अवस्था फेरिएको छ । खोलानालामा जलप्रवाह घटेसँगै बहावमा आधारित विद्युत् आयोजनाबाट उत्पादन घट्न थालेको छ ।

प्राधिकरण प्रणाली सञ्चालन विभागका निर्देशक सुरेशबहादुर भट्टराईका अनुसार पछिल्लो समय निजीक्षेत्रका आयोजनाबाट विद्युत् आपूर्ति घटिसकेको छ । अहिले यस्ता आयोजनाबाट ५०० मेगावाटको हाराहारीमा आपूर्ति सीमित हुन थालेको छ ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले पनि नियमित रूपमा १७० मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ । साँझ बिहान उच्च माग व्यवस्थापन गर्न यो आयोजनाको सञ्चित जलशयमार्पmत थप विद्युत् पनि आपूर्ति गर्ने गरिएको छ । प्राधिकरणका आफ्ना आयोजनाबाट अहिलेसम्म पूर्ण क्षमतामै विद्युत् आपूर्ति गरिरहेको भट्टराईले जानकारी दिनुभयो ।

प्राधिकरणले कुलेखानी जलविद्युत् आयोजनालाई जगेडामा राख्दै आएकामा आपूर्ति व्यवस्थापनका लागि मङ्सिर पहिलो साताबाटै उच्च माग समयमा सञ्चालनमा ल्याउन थालिसकेको छ। यस पटक नेपाल भारत विद्युत् व्यापारअन्तर्गत गत महिनादेखि सुरु भएको ३९ मेगावाटको निर्यात भने अहिले पनि नियमित छ ।

गत वर्ष भारतबाट नेपालले सात सय मेगावाटसम्म विद्युत् आयात गर्नुपरेको थियो । यो वर्ष माथिल्लो तामाकोसीलगायत निजी क्षेत्रका जलविद्युत् आयोजना थपिए पनि आयात भने खासै नघटने देखिएको छ ।

अघिल्लो वर्ष कोरोना महामारीका कारण उद्यम व्यवसाय खासै सञ्चालनमा आउन सकेका थिएनन् । यस वर्ष भने सबै उद्योग व्यवसाय सुचारु भइसकेकाले माग पनि थप बढ्ने अनुमान प्राधिकरणको छ ।

माथिल्लो तामाकोसी, लिखुखोला, सिँगटी, लोअर मोदीजस्ता आयोजना यो वर्ष थपिएका छन् । ती आयोजनाबाट सामान्य अवस्थामा २०० मेगावाट आपूर्ति थप हुनसक्छ ।

प्राधिकरणले यस वर्ष राति भने सकभर भारतबाट विद्युत् नकिन्ने सोच बनाएको छ । भारतको बिजुली तुलनात्मक रूपमा राति महँगो पर्छ । यसर्थ दिउँसो १२/१३ घण्टा सस्तो पर्ने बिजुली किन्ने र राति आवश्यक पर्ने बिजुली उत्पादन गर्न कुलेखानी र माथिल्लो तामाकोसीलाई रूपले प्रयोग गर्ने सोच बनाएको छ।

कुलेखानीमा यस वर्ष पानी सञ्चय पनि उच्चतम बिन्दुसम्म भएकाले पनि प्राधिकरणलाई उच्च भार व्यवस्थापन गर्न केही सहज हुने देखिएको छ।