माछामा आत्मनिर्भर बन्दै दाङ
2021-11-29 16:23:05cri
Share with:

दाङ जिल्ला माछामा आत्मनिर्भर बन्दै गएको छ। केही वर्षअघिसम्म भारतबाट ल्याएर खपत हुने गरेको माछाको बजार अहिले आन्तरिक उत्पादनले बजार धान्न थालेको कारोबार अनलाइनले लेखेको छ।

कुनै समय माछाका लागि अरु जिल्लाको भर पर्ने दाङले अहिले वर्षेनि करिब ६ सय मेट्रिक टन माछा उत्पादन गर्ने गरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका मत्स्य विकास अधिकृत महेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो।

जिल्लामा अहिले करिब १ सय ४१ हेक्टर क्षेत्रफलमा माछा पालन हुने गरेको छ। करिब २ सय २५ जना व्यावसायिक कृषक माछा पालनमा आवद्ध छन्। कुनै समयमा कार्प प्रजातीका माछा मात्रै पालन हुने गरेको जिल्लामा अहिले पंगास प्रजातिका माछा पालन हुन थालेसँगै माछा उत्पादनमा बढोत्तरी भएको मत्स्य विकास अधिकृत यादवले बताउनुभयो। “पहिले पहिले कार्प प्रजातिमा कमन, सिल्भर, रोहु, नैनी लगायत माछा पालन हुन्थ्यो अहिले त पंगास प्रजातिका बैखालगायत प्रजातीका माछा पालन हुन थालेसँगै माछाको उत्पादन पनि बढेको छ” मत्स्य विकास अधिकृत यादवले भन्नुभयो।

जिल्लामा वार्षिक रुपमा उत्पादन हुने माछाको बजार भने बाह्रै महिना धान्ने अवस्थामा नपुगेको उहाँले जानकारी दिनुभयो। खासगरी, चैत्र, वैशाख, जेठ महिनामा अहिले पनि अन्य जिल्ला वा भारतको माछाको भर पर्नु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो। बाँकी समय भने आन्तरिक उत्पादनले बजारको माग धान्ने गरेको छ।

व्यावसायिक रुपमा माछा पालन गर्ने कृषकको आकर्षण बढ्दै गएको र राज्यले माछा पालनका लागि कृषकलाई पनि सहुलियत प्रदान गर्ने नीति बनाएकाले यसतर्फ कृषकको रुची बढ्दै गएको उहाँ बताउनुहुन्छ। यद्यपि, माछा खाने उपभोक्ताको अवस्थामा भने सुधार आउन चुनौतीपूर्ण रहेको मत्स्य विकास अधिकृत यादवले बताउनुभयो।

स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक भएपनि काँडाको डरले माछा खानेको संख्या अपेक्षा अनुरुप बढ्न नसकेको उहाँको भनाइ छ। “माछा खानेहरुको संख्या मासु खानेको अनुपातमा कमी देखिन्छ, मानिसहरु रेड मिटमा आकर्षित छन्, जिल्लामा माछाको अपत बढाउन सचेतना पनि आवश्यक छ जस्तो लाग्छ” उहाँले भन्नुभयो। उत्पादनको सिजनमा माछाको खपत हुन नसक्दा जिल्ला बाहिर पनि निर्यात हुने गरेको उहाँले जानकारी दिनुभयो।

अहिले पनि जिल्लामा माछाको खपत हुन नसकेको अवस्थामा रुकुम, रोल्पा, सुर्खेतसम्म कृषकले माछा बिक्रीका लागि पठाउने गरेका छन्। माछाको बजार राम्रो रहेकाले कृषकले माछामा घाटा व्यहोर्नु पर्ने अवस्था नरहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ। विज्ञ केन्द्रका प्रमुख डा. बेदबहादुर केसीले जिल्लामा माछाको खपत बढाउन र बाह्रै महिना उपलब्ध हुन सक्ने गरी योजनाका साथ कार्यविधि बनाएर काम गर्न थालिएको जानकारी दिनुभयो।

जिल्लामा अहिले पनि वार्षिक प्रतिव्यक्ति १.०८ केजी माछा मात्रै खपत हुने गरेको छ। वार्षिक रुपमा कम्तिमा ५ केजी माछा प्रतिव्यक्ति खपत हुनु पर्ने हुन्छ। जिल्लामा माछाको उत्पादन बढाउन र कृषकलाई मत्स्य पालनमा टेवा दिन चालु आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश सरकारले फिस मिसन कार्यक्रमका लागि ५० लाख बजेट विनियोजन भएको मत्स्य विकास अधिकृत यादवले बताउनुभयो। उक्त बजेट पोखरी निर्माणका लागि माछा पालक कृषकलाई सहुलियतमा प्रदान गरिनेछ। जसअन्तर्गत प्रतिहेक्टर पोखरी निर्माणका लागि ५ लाख विनियोजन गरिएको उहाँको भनाइ छ। यो कार्यक्रमका लागि प्रदेश सरकारबाट अझै कार्यविधि आई नसकेकाले सूचना प्रकाशन नगरिएको उहाँले बताउनुभयो।