फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कृषिलाई व्यावसायिक रूपमा विकास गर्न कृषि टेक्नोपार्कको आवश्यकता

(GMT+08:00) 2014-01-09 16:23:12

          कृषिलाई व्यावसायिक रूपमा विकास गर्न कृषि टेक्नोपार्क आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन्। क्षेत्रीय कृषि निर्देशनालय मध्यमाञ्चलले काभ्रै जिल्लाको बनेपास्थित बुडोलमा सुरु गरेको समुदाय व्यवस्थित सिञ्चित कृषि क्षेत्र आयोजनासम्बन्धी बुधबार भएको गोष्ठीमा कृषि फार्महरूलाई कृषि टेक्नोपार्कका रूपमा अघि बढाउन सुझाव दिइएको छ।

          कृषि विभाग मूल्याङ्कन तथा अनुगमन शाखाका प्रमुख डा हरि शर्मा न्यौपानेले टेक्नोपार्कको विषय बहसमा नै रहेको उल्लेख गर्दै यसलाई अवलम्बन गर्न सके धेरै आर्थिक वृद्धि दर हासिल गर्न सकिन्छ भन्नुभयो। हामीले यसलाई बहसको विषय बनाउँदै आएका छौँ, डा न्यौपानेले भन्नुभयो।

          उहाँले कृषि टेक्नोपार्कबाट वातावरणीय जोखिम न्यूनीकरण हुनुका साथै बालीनालीको जोखिम पनि न्यूनीकरण हुन सक्छ भन्नुभयो। डा न्यौपानेले एउटा पार्कका लागि झन्डै 12 लाखको लगानी हुने उल्लेख गर्दै कृषक स्वयम्ले लगानी गर्न नसके पनि लगानीकर्ताले त्यस्तो पार्क बनाएर रोजगारी वृद्धि गर्न सक्ने बताउनुभयो। यसबाट कृषकले प्रविधिबारे जानकारी प्राप्त गर्नुका साथै व्यवस्थापनमा समेत सजिलो हुन्छ, उहाँले भन्नुभयो।

          उहाँले कृषिमा नयाँ मोडेलका रूपमा आउने कृषि टेक्नोपार्कले कृषिको परम्परागत कृषि प्रणालीमा समेत सुधार आउने बताउनुभयो। डा न्यौपानेले परीक्षणका लागि धादिङ, काठमाडौँ, चितवन लगायतका जिल्लामा सुरु गर्न सकिने जानकारी दिनुभयो।

          उहाँले सो पार्कका लागि राज्यले सहुलियत दिनुपर्नेमा समेत जोड दिनुभयो। इन्डोनेसियाबाट आएको सो पार्कको अवधारणाबाट बेमौसमी तरकारी उत्पादनसँगै उत्पादित वस्तुलाई बजारसँग जोडिनेछ। यस्तो पार्क निश्चित क्षेत्रमा निर्माण गर्न सकिन्छ। क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक लेखनाथ आचार्यले बाली बिमालाई प्रभावकारी बनाउन आग्रह गर्दै कृषिमा सुशासनको आवश्यकतामा जोड दिनुभयो। गोष्ठीमा मध्यमाञ्चलको 19जिल्लाबाट प्रगति प्रतिवेदन प्रस्तुत भएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह