फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ खाना र परिकार

(GMT+08:00) 2011-07-29 17:49:26

            रवि- श्रोताहरु, हामीले केही हप्ताअगाडिदेखिको पैचिङ्ग डायरीमा चिनियाँ खानाको विषयमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, अगिल्लो हप्ताको कार्यक्रममा तपाईंले चीनका रेष्टुराँमा जलचर प्राणीहरु जिउँदै पालेर राखिने र ग्राहकले खाना अर्डर गरेपछि मात्रै त्यसलाई मारेर पकाउने चलनको बारेमा कुराकानी गर्नुभएको थियो । आजको कार्यक्रममा कुन विषयमा कुराकानी गर्ने विचार गर्नुभएको छ ?

            ध्रुव- रविजी, मैले अगिल्लो हप्ताको कार्यक्रममा चीनमा रेष्टुराँमा माछालगायतका जलचर प्राणीहरु मात्रै नभएर कछुवा, भ्यागुता, चराचुरुङ्गी, सर्पलगायतका प्राणीहरु रेष्टुराँमा जिउँदै पालेर राखिने र ग्राहकले जिउँदो जनावर हेरेर चित्त बुझाएपछि बल्ल मारेर पकाइने विषयमा कुराकानी गरेको थिएँ ।

            रविजी, आजको कार्यक्रममा चिनियाँ खानाको सभ्यता र संस्कृतिसँग जोडिएका केही विषयमा चर्चा गर्ने विचार गरेको छु । चिनियाँ खानाको सभ्यता र संस्कृति ज्यादै पुरानो भएको मानिन्छ । चिनियाँ मान्यताअनुसार केही खाना र परिकारको आफ्नै विशेष अर्थ हुन्छ र ती खाना विशेष मानिसले विशेष अवसरमा नछुटाइकन खाने  गर्छन् । आजको कार्यक्रम चिनियाँ खानामा निहित अर्थको अथवा खानाको संकेतका विषयबाट कुराकानी अगाडि बढाउँछु ।

            रविजी, झन्डै साढे चार वर्षको पैचिङ्ग बसाइका क्रममा मैले धेरै साथीहरुको जन्मदिनको उपलक्ष्यमा आयोजना गरिएका भोजमा सहभागी हुने मौका पाएको छु । तर वास्तवमा मैले आजसम्म मेरो जन्मदिन मनाएको छैन । किनभने जन्मदिन एक दिनमात्रै मनाएर पुरा हुँदैन । त्यो जन्मदिन आउनका लागि हेरक सेकेन्ड, हरेक मिनेट, प्रत्येक घन्टा, प्रत्येक दिन, सबै हप्ता र बाह्रै महिनाको समय उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने मेरो धारण छ । त्यसैले मैले जन्मदिन भनेर एकै दिन पनि मनाउने गरेको छैन । तर अरुले मनाउने जन्मदिनमा म पनि अतिथिको रुपमा सहभागी हुने गरेको छु र त्यसलाई भेटघाटको उपयुक्त अवसरको रुपमा सदुपयोग गर्ने गरेको छु । अहिलेसम्म साथीहरुद्वारा मनाइएका जन्मोत्सवमा भाग लिएर उहाँहरुप्रति सम्मान पनि प्रकट गर्दै आएको छु । अधिकांश विदेशी, मैले भन्न खोजेको, चिनियाँबाहेकका विदेशीको हकमा सबैले जन्मदिनमा जन्मदिनको केक राख्ने गरेका हुन्छन् । तर चिनियाँहरुको जन्मदिनमा जन्मदिनको केकको साथै चाउचाउ पनि राखिएको हुन्छ । चिनियाँहरु बाहेक मैले भाग लिएको नेपाली र अरु विदेशीहरुको जन्मोत्समा चाउचाउको परिकार राखिएको देखेको छैन । चिनियाँहरुको जन्मोत्सवमा अरु धेरै कुरा छुट्लान् तर चाउचाउ कुनै पनि हालतमा छुटाइएको हुँदैन । किनभने चिनियाँ संस्कृतिमा चाउचाउलाई दीर्घायूको संकेतको रुपमा लिने गरिन्छ । जन्मोत्सव मनाउनका लागि तयार गरिएको केक र मैनबत्ती सँगसँगै ससना नानीदेखि वृद्धवृद्धासम्म सबैसँग दीर्घायुको चाउचाउको बटुका रहेको हुन्छ । स्वस्थ जीवनको कामनासहित खाइने चाउचाउ लामो हुन्छ । चाउचाउ लामो आयु अर्थात् दीर्घायुको प्रतिक मानिने भएकोले जन्मोत्सव मनाउँदा खाइने चाउचाउको लामो तान्द्रोलाई बीचमा टुक्रा नपारिकनै खाइन्छ । यसरी जन्मोत्सवमा चाउचाउ खाँदा तान्द्रो चुडाइयो भने अथवा त्यान्द्रो टुक्रा पारियो भने चिनियाँ संस्कृतिक मान्यताअनुसार त्यो ज्यादै ज्यादै अशुभ मानिन्छ ।

            रवि- ध्रुवजी, अब एउटा सन्देश राख्ने बेला भएको छ । पहिला एउटा छोटो सन्देश राखौं र त्यसपछि तपाईंले कुराकानीको क्रमलाई अगाडि बढाउनुहोला ।

            ध्रुव- हुन्छ रविजी ।

            सन्देश

            रवि- श्रोताहरु, यो सन्देशपछि पैचिङ्ग डायरीमा तपाईंहरुलाई पुनः स्वागत छ । आजको कार्यक्रममा हामीले चिनियाँ खानाको बारेमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, भर्खरै बजाइएको सन्देशअगाडि जन्मदिन मनाउँदा चिनियाँहरुले चाउचाउ खाने गरेको विषयमा कुरा थियो ।

            ध्रुव- हजुर रविजी । मैले चाउचाउ चिनियाँहरुको जन्मदिनमा खाइने महत्त्वपूर्ण कुरा हो भनेर भनेको थिएँ । वास्तवमा जन्मोत्सवकै कुरासँग जोडिएको अर्को एउटा कुरा पनि राख्न मन लाग्यो आजको कार्यक्रममा । बच्चाको जन्मोत्सव मनाउने विषयमा चीनमा नेपालमा भन्दा अलि बेग्लै चलन रहेको मैले पाएको छु । चीनमा बच्चाको उमेर एक महिना पूरा भएको दिनलाई घरपरिवारका सदस्यहरुले उत्सवको रुपमा विशेषरुपमा मनाउँछन् । त्यस दिन साथीभाइ र आफन्तलाई निमन्त्रणा गरेर सबैलाई भोज पनि खुवाइन्छ । एकजना मित्रको छोरी एक महिना पूरा भएको अवसरमा आमन्त्रित भएर सुविधासम्पन्न होटलमा एकपटक मैले भोज खाने मौका पनि पाएको छु । भोजमा आमन्त्रित साथीभाइ र नातेदारले बच्चालाई सौभाग्यको कामनासहित स-साना उपहारहरू, उदाहरणका लागिः दीर्घायुताल्चा, दीर्घायुहार अथवा गलहार आदि दिनेरहेछन् । म चाहिँ पहिलोपटक गएको बेलामा मैले बच्चाको लागि उपहारकोरुपमा तयारी कपडा लगिदिएको थिएँ । चीनमा कसैकसैले बच्चाको उमेर एक सय दिन पूरा भएको अवसरलाई पनि उत्सवको रुपमा मनाउँछन् । तर महिना दिन पुगेको र सय दिन पुगेको अवसरमा नेपालमा चाहिँ यसरी भोज खुवाइने चलन भएको मैले थाहा पाएको छैन । महिनादिन पूरा भएको र सय दिन पूरा भएको विशेष दिनपछिका हरेक वर्षको जन्मदिनमा चाहिँ परम्परागत खाना दीर्घायु-चाउचाउ अनिवार्यरुपमा समावेश गरिएको हुन्छ ।

           रविजी, पाका उमेरका मानिसको जन्मदिनको हकमा हरेक पाँचौं वा दशौं वर्षलाई विशेषरुपमा मनाइन्छ । वृद्धवृद्धालाई भने जन्मदिनको शुभकामनासहित परिवाका सदस्य वा मित्रहरुले मुख्यगरी कलात्मक वस्तु अझ विशेष गरी चित्रकला उपहार दिन्छन् । त्यसमा सधैंजसो राइसल्लाको बोट, रातो शीर भएको सारस, दीर्घायुको अर्थ बोक्ने अक्षर र दीर्घायुका देवता आदिका चित्रहरू पर्छन् । उपहारकोरुपमा दिइने चित्रकलामा हस्तलिपि शुभकामना सन्देस पनि हुनसक्छ । त्यसका साथसाथै कसैकसैले पौष्टिक आहार वा रक्सी पनि दिने गरेको मैले सुनेको छु ।

           रवि- ध्रुवजी, आजको लागि हाम्रो पैचिङ डायरीको निर्धारित समय सकिनै लागेको छ । त्यसैले अब श्रोताहरुसँग बिदा माग्नु पर्ने भएको छ ।

           ध्रुव- हुन्छ रविजी । तर श्रोताहरु, अन्य नियमित कार्यक्रमसहित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवाको प्रसारण भने जारी नै रहनेछ । हामीलाई सुन्दै गर्नुहोला ।

           रवि- श्रोताहरु, आजको पैचिङ्ग डायरी कार्यक्रमबाट म रवि..

           ध्रुव- अनि म ध्रुव पौडेल बिदा हुन्छौं ।

            दुबै- नमस्कार ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह