फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ खाना र परिकार

(GMT+08:00) 2011-09-02 17:47:54

           रवि- श्रोताहरु, हामीले केही महिनाअगाडिदेखिका पैचिङ्ग डायरीमा चिनियाँ खानाको विषयमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, अगिल्लो हप्ताको कार्यक्रममा तपाईंले चिनियाँ खाना तथा त्यससँग जोडिएको सभ्यता र संसकृतिको विषयमा कुराकानी गर्नुभएको थियो । आजको कार्यक्रममा कुन विषयमा कुराकानी गर्ने विचार गर्नुभएको छ ?

          ध्रुव- रविजी, मैले अगिल्लो हप्ताको कार्यक्रममा चिनियाँ खानाको सभ्यता र संस्कृतिसँग जोडिएका विषयमा केही चर्चा गरेको थिएँ । आजको कार्यक्रममा पनि चिनियाँ खानामा निहित अर्थको अथवा खानाको संकेतका विषयबाट कुराकानी सुरु गर्ने विचार गरेको छु ।

           रविजी, झन्डै साढे चार वर्षको पैचिङ्ग बसाइका क्रममा मैले धेरै चिनियाँ साथीहरुसँग चिनियाँहरुको सबैभन्दा ठूलो पर्व बसन्त चाडलगायतका अन्य पर्वहरु सँगै मनाएको छु । विभिन्न चाडपर्वहरुमा धेरै चिनियाँ साथीहरुसँग उनीहरुकै घरमा गएर खाना पनि खाएको छु । यसरी घरमा नै खाना खान जाँदा होस् अथवा बाहिर रेष्टुराँमा खाना खान  जाँदा होस् माछाको परिकार समावेश हुने गरिएको हुन्छ । चिनियाँहरुलाई माछा एकदमै मनपर्ने खानाका परिकारहरुमध्येको एक हो । किनभने चिनियाँ भाषामा माछाको अर्थ बुझाउने अक्षर 鱼"यू"को उच्चारण गर्दा भरपूर अथवा प्रशस्त भन्ने अर्को चिनियाँ अक्षर "余" यूको उच्चारणसँग मिल्छ । त्यसैले हरेक वर्षका चाडपर्वहरुमा खाना खाने टेबुलमा सधैंजसो माछाको परिकार राख्ने गरिन्छ । माछाकै कुरा गर्दा रविजी, माछा पौष्टिक तत्त्वहरुले भरपूर खाद्यपदार्थ पनि हो र माछा अन्य तरकारीको तुलनामा निकै छोटो समयमा नै पाक्छ । त्यति मात्रै नभएर माछा सजिलै पचाउन सकिने खाद्यपदार्थ हो । त्यसले गर्दा पनि माछा स्वास्थ्यका दृष्टिकोणले मासुभन्दा राम्रो मानिन्छ ।

          रविजी, माछासँग जोडिएको अर्को कुरा पनि राख्छु । नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैँका लागि दशैँ आउनुभन्दाअगाडि घर लितपोत गर्ने, सफा गर्ने र सिंगार्ने चलन छ । घर मात्रै नभएर गाउँघरमा घरवरिपरिको बाटोघाटो पनि सफा गर्ने चलन छ । त्यसैगरी चिनियाँहरुको सबैभन्दा ठूलो चाड बसन्तपर्वमा चिनियाँहरूले आफ्नो घर सफा गर्ने र सिंगारपटार गर्ने गर्छन् । चिनियाँहरुले घरको बाहिर मूल ढोकामा अथवा ढोकामाथि फु लेखिएको चित्र झन्ड्याउने गरेको मैले देखेको छु । त्यसको साथसाथै घरभित्र र बाहिर पनि एक प्रकारको परम्परागत नववर्ष चित्र झुण्ड्याउन चिनियाँहरुलाई मनपर्छ । वसन्तचाड चिनियाँहरुको परम्परागत नयाँ वर्ष पनि हो । यो नयाँ वर्षमा झुन्ड्याइने नयाँ वर्षचित्रमा एउटा हट्टाकट्टा र मोटो बालक एउटा रातो रङ्को माछाको घोडा चढेको हुन्छ । कुनैकुनै नयाँ वर्षचित्रमा बालकले माछालाई आफ्नो पाखुरामा च्यापेको पनि हुन्छ । मैले अगाडि नै भनिसकेँ कि चिनियाँ भाषामा माछाको र भरिपूर्णको उच्चारण एउटै हुन्छ । माछा भएको उक्त नयाँ वर्षचित्र झुन्ड्याउनाले"हरेक नयाँ वर्षले घर सबै कुराले भरिपूर्ण हुन्छ"भन्ने विश्वास गरिन्छ ।

          रवि- ध्रुवजी, तपाईंलाई मैले एकैछिन रोक्नुपर्ने भएको छ । किनभने अब एउटा सन्देश राख्ने बेला भएको छ । पहिला एउटा छोटो सन्देश राखौं र त्यसपछि तपाईंले कुराकानीको क्रमलाई अगाडि बढाउनुहोला ।

          ध्रुव- हुन्छ रविजी ।

           सन्देश

           रवि- श्रोताहरु, यो सन्देशपछि पैचिङ्ग डायरीमा तपाईंहरुलाई पुनः स्वागत छ । आजको कार्यक्रममा हामीले चिनियाँ खानाको बारेमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, भर्खरै बजाइएको सन्देशअगाडि माछासँग जोडिएको चिनियाँ मान्यताको विषयमा कुराकानी गरिरहनुभएको थियो ।

           ध्रुव- हजुर रविजी । मैले यो सन्देशअघि चिनियाँहरुलाई मन पर्ने खाद्यपदार्थहरुमध्येको एक माछासँग जोडिएको सांस्कृतिक पक्षको बारेमा जानकारी दिएको थिएँ । माछाकै विषयमा अर्को एउटा जानकारी पनि दिन मन लाग्यो मलाई । बसन्त चाड सुरु हुने मध्यरातमा बज्ने नयाँ वर्षको घन्टीलाई विश्वका सबै चिनियाँहरुले ब्यग्रताका साथ प्रतीक्षा गरेर बसेका हुन्छन् । यसरी चीनको परम्परागत नयाँ वर्ष सुरु हुने संकेतस्वरुप बज्ने नयाँ वर्षको घन्टीको आवाज सुन्नका लागि परिवारका सबै सदस्यहरु एकै ठाउँमा भेला भइ कुरेर बस्ने क्रममा मिठामिठा खानेकुरा पकाएर खान्छन् । यसलाई वास्तवमा पारिवारिक मिलन र पारिवारिक भोज भने पनि हुन्छ । किनभने कामको शिलशिलामा घरबाहिर गएकाहरु पनि यो पारिवारिक भोजलाई उच्च महत्त्व दिएर सकेसम्म घर फर्किन्छन् । त्यसदिनको पारिवारिक भोजको परिकारमा पनि माछा अनिवार्यरुपमा समावेश गरिएको हुन्छ । त्यसले पनि सुरु हुनै लागेको नयाँ वर्षभरि सम्पन्न र अझ बढी प्रगति हासिल गर्नका लागि आशिर्वाद प्राप्त गर्न सकिन्छ भन्ने जनविश्वास छ । यसरी नयाँ वर्षको पारिवारिक भोजका लागि विशेष गरेर माछा सिङ्गै पकाइन्छ । यदि टुक्रा गरेर पकाइए पनि टेबुलमा राख्ने बेलामा माछाको टाउको र पुच्छर जोडेर राखिन्छ जसले आगामी वर्षको सुरुवात राम्रोसँग होस् र उक्त वर्षको अन्त्य पनि राम्रो होस् भन्ने संकेत दिन्छ ।

          रविजी, आजको पैचिङ्ग डायरीको समय अलिकति बाँकी छ त्यसैले माछाकै बारेमा अर्को एउटा छोटो प्रसङ्ग पनि राख्छु । अतिथीको स्वागतमा कुनै भोज अथवा स्वागत समारोहमा कुनै टेबुलमा माछाको परिकार राखियो भने उक्त माछा पहिलोपटक सबैभन्दा विशिष्ट व्यक्तिले खान सुरु गर्नुपर्छ । घरमा खाना बोलाइएको अवस्थामा सिङ्गै माछा मुख्य अतिथी वा विशिष्ट व्यक्तिको अगाडि राख्ने गरिन्छ । रेष्टुराँमा पनि वेटरले माछा सबैभन्दा कुनामा बस्ने मानिसको अगाडि पुर्याइदिन्छन् । त्यसैले माछा खाँदा पहिले मूलढोकाबाट सबैभन्दा टाढा अर्थात् कोठाको कुनामा रहेका व्यक्तिले खान सुरु गरेपछि मात्रै अरुले खानुपर्छ ।

          रवि- ध्रुवजी, आजको लागि हाम्रो पैचिङ डायरीको निर्धारित समय सकिनै लागेकोले अब श्रोताहरुसँग बिदा माग्नु पर्ने भएको छ ।

          ध्रुव- हुन्छ रविजी । तर श्रोताहरु, अन्य नियमित कार्यक्रमसहित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवाको प्रसारण भने जारी नै रहनेछ । हामीलाई सुन्दै गर्नुहोला ।

           रवि- श्रोताहरु, आजको पैचिङ्ग डायरी कार्यक्रमबाट म रवि..

           ध्रुव- अनि म ध्रुव पौडेल बिदा हुन्छौं ।

           दुबै- नमस्कार ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह