फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ खाना र परिकार

(GMT+08:00) 2011-09-09 19:02:58

           रवि- श्रोताहरु, हामीले केही महिनाअगाडिदेखिको पैचिङ्ग डायरीमा चिनियाँ खानाको विषयमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, अगिल्लो हप्ताको कार्यक्रममा तपाईंले चिनियाँ खाना र त्यससँग जोडिएको सभ्यता र संस्कृतिको विषयमा कुराकानी गर्नुभएको थियो । आज पनि त्यही विषयमा भन्नुपर्ने केही कुरा बाँकी छन् कि ?

           ध्रुव- रविजी, मैले अगिल्लो हप्ताको कार्यक्रममा चिनियाँ खानाको सभ्यता र संस्कृतिसँग जोडिएका विषयमा केही चर्चा गरेको थिएँ । वास्तवमा चिनियाँ खानाको सभ्यता र संस्कृति ज्यादै पुरानो छ । चिनियाँ मान्यताअनुसार केही खाना र परकारको आफ्नै विशेष अर्थ हुन्छ र ती खाना विशेष मानिसले विशेष अवसरमा खाने गर्छन् । आजको कार्यक्रम पनि चिनियाँ खानामा निहित अर्थको अथवा खानाको संकेतका विषयबाट कुराकानी सुरु गर्ने विचार गरेको छु ।

           रविजी, मैले पाएको जानकारीअनुसार चीनमा हाँस प्रतिवद्ध, भरपर्दो र विश्वासको संकेत मानिन्छ । बैवाहिक जीवनमा आपसी विश्वास र प्रतिबद्धता कायम होसे भन्नका लागि विवाहभोजमा मुखै रसाउने गरेर सेकेर पकाइएको पैचिङ्ग रोष्ट डकको परिकार डाइनिङ्ग टेबुलमा राखिएको हुन्छ । पैचिङ्ग रोष्ट डक धेरै नेपालीहरुले पनि सुनेको चिनियाँ खानाको परिकार हो । पैचिङ्गमा मात्रै नभएर मैले नेपालमा पनि थुप्रैपटक पैचिङ्ग रोष्ट डक अर्थात् सेकिएको पैचिङ्ग हाँस खाएको छु । चीनमा यो परिकार निकै महँगा परिकारहरुमध्येमा पर्छ । पैचिङ्ग डकको लागि चीनभरि मात्रै नभएर विश्वप्रसिद्ध र पुरानो रेष्टुराँ छ्यूयान च्यू त रेष्टुराँमा एउटा पैचिङ् डकको मूल्य दुई सय पचास आरएमबी अर्थात् दुई हजार पाँच सय नेपाली रुपियाँ जति पर्छ । तर नेपालमा भने यो निकै महँगो छ । गतवर्ष मैले काठमाडौंको एउटा चिनियाँ रेष्टुराँमा पैचिङ्ग रोष्टडकको एउटा परिकारको मूल्य पाँच हजारभन्दा बढी रुपियाँ तिरेको छु । चीनभरि चिनियाँसँग मात्रै नभएर थुप्रै विदेशी साथीहरुसँग खाना खान जाँदा पनि अधिकांशले पैचिङ्ग डकको परिकारको नाम लिने गरेका छन् । त्यसैले चिनियाँ खानाको सभ्यताको कुरा गर्दा प्रमुखरुपमा आउँने पैचिङ डक पैचिङ घुम्नका लागि आउने अन्य ठाउँका चिनियाँ तथा असंख्य विदेशीहरूको खानाको केन्द्रविन्दु बन्न सफल रहेको छ भन्न सकिन्छ। पैचिङमा यात्रा गर्न आएका जोसुकैले पनि पैचिङ डकको स्वाद नलिइकन र ग्रेटवाल नचढिकन उनीहरूको यात्रा वास्तविक रुपमा पूरा हुँदैन भन्ने चिनियाँ र विदेशीले भनेको मैले सधैँ सुन्ने गरेको छु ।

          तर पैचिङ्गमा पाइने हाँसको सबै परिकारलाई पैचिङ्ग डक भनिने चाहिँ होइन । यसको पकाउने छुट्टै तरिका र ग्राहकलाई पस्किने भिन्दै शैली छ । जस्तो कि पैचिङ्ग डक अर्डर गरिसकेपछि त्यो भान्सामा तयार गर्न कम्तिमा आधा घन्टाको समय आवश्यक पर्छ । उक्त आधा घन्टाको समयमा अन्य खानेकुरा अर्डर गरेर खाने गरिन्छ । पैचिङ्ग रोष्ट डक वास्तवमा सिङ्गै सेकाइएको हाँसको मासु हो । मासु पाकेपछि ग्राहकलाई आफ्नैअगाडि ल्याएर काट्ने कि भान्सामा नै काटेर ल्याउने भनेर सोधिन्छ । वास्तवमा सिङ्गै सेकिएको पैचिङ्ग हाँस अधिकांश ग्राहकहरुले आफ्नै आँखाअगाडि काट्न लगाउँछन् ।

           रवि- ध्रुवजी, पैचिङ्ग रोष्ट डकको बारेमा बताइरहँदा तपाईंलाई बीचमा नै रोक्न मन लागेको थिएन । तर मैले तपाईंलाई एकैछिन रोक्नुपर्ने भएको छ । किनभने अब एउटा सन्देश राख्ने बेला भएको छ । पहिला एउटा छोटो सन्देश राखौं र त्यसपछि तपाईंले कुराकानीको क्रमलाई अगाडि बढाउनुहोला ।

 

          ध्रुव- हुन्छ रविजी ।

           सन्देश

            रवि- श्रोताहरु, यो सन्देशपछि पैचिङ्ग डायरीमा तपाईंहरुलाई पुनः स्वागत छ । आजको कार्यक्रममा हामीले चिनियाँ खानाको बारेमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, भर्खरै बजाइएको सन्देशअगाडि पैचिङ्गको प्रसिद्ध खानाका परिकारहरुमध्येको एक पैचिङ्ग डकको विषयमा कुराकानी गरिरहनुभएको थियो ।

            ध्रुव हजुर रविजी । यो सन्देशभन्दाअगाडि मैले पैचिङ्ग डकको बारेमा कुराकानी गरिरहेको थिएँ । वास्तवमा सिङ्गै सेकेर पकाइएको पैचिङ्ग हाँस अधिकांश ग्राहकहरुले आफ्नै आँखाअगाडि काट्न लगाउँछन् । म पैचिङ्गको केन्द्रमा रहेको छियनमन, उ ताखौ, मेरो विश्वविद्यालय नजिक रहेको स्वाङ्ग आन बजारलगायतका धेरै ठाउँमा मैले कैयौंपटक पैचिङ्ग डक खाएको छु । मैले हरेकपटक भान्सेलाई हामीहरुकै अगाडि हाँस काट्न लगाउने गरेको छु । यसरी काट्दा सिङ्गै पकाइएको हाँसको मांशपेशी नभएको छाला सुरुमा काटिन्छ। यो ज्यादै कुरुम कुरुम हुन्छ । त्यसपछि क्रमशः छालासहितको मासुलाई सानोसानो टुक्रा पारिन्छ । यसरी टुक्राटुक्रा पारिएको हाँसको मासु पनि प्लेटमा विशेष तरिकाले सजाएर बल्ल ग्राहकको टेबुलमा राखिन्छ । कुनै पनि मसला नहालिकन सेकिएको हाँसको परिकार टेबुलमा आइसकेपछि त्यसलाई तुरुन्तै सोझै खाइँदैन । मासुलाई अचारजस्तो एक प्रकारको ससेज, हरियो साग अझ विशेष गरेर हरियो लसुनसँग मिसाएर पुरीजस्तो सानो रोटीमा राखेर बेरिन्छ । यसरी पोको पारेर बनाइएको परिकार बल्ल खानको लागि तयार हुन्छ । पहिलोपटक पैचिङ्ग डक खाने बेलामा यसरी मासु बेर्नका लागि वेटरले सहयोग गर्न तम्सिन्छन् । तर एकपटक रोटीमा बेरेको देखेपछि सजिलै सिकिन्छ र हरेक व्यक्तिले आफैँले बेरेर खान सक्छन् ।

          भान्सेले मासु छुट्याएपछि टाउको खाने कि नखाने, हाँसको खुट्टा खाने कि नखाने भनेर सोध्छन् । खाने भए त्यसलाई पनि खान मिल्ने गरेर काटेर दिइन्छ । बाँकी रहेको हाँसको हड्डीको पनि सुप अर्थात झोल बनाउँन सकिन्छ । कुनैकुनै रेष्टुराँमा हड्डीको झोल पकाएर दिइन्छ भने कोहीकोहीले आफ्नो अनुकूलमा त्यसको झोल बनाएर खानका लागि घर लैजान्छन् । घरमा लैजाने भए वेटरले सुरक्षितरुपमा पोको पारेर दिन्छन् ।

          रवि- ध्रुवजी, आजको लागि हाम्रो पैचिङ डायरीको निर्धारित समय सकिनै लागेको छ । त्यसैले अब श्रोताहरुसँग बिदा माग्नु पर्ने भएको छ ।

          ध्रुव- हुन्छ रविजी । तर श्रोताहरु, अन्य नियमित कार्यक्रमसहित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवाको प्रसारण भने जारी नै रहनेछ । हामीलाई सुन्दै गर्नुहोला ।

          रवि- श्रोताहरु, आजको पैचिङ्ग डायरी कार्यक्रमबाट म रवि..

          ध्रुव- अनि म ध्रुव पौडेल बिदा हुन्छौं ।

           दुबै- नमस्कार ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह