फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल दक्षिण एशियाकै प्रख्यात पर्यटकीय गन्तब्य

(GMT+08:00) 2014-02-06 18:30:48

       

       प्राकृतिक रुपमा नेपाल सुन्दर छ । विश्वका आठ हजार मिटरभन्दा माथिका उच्च शिखरहरु मध्ये सर्वोच्च शिखर सगरमाथा लगायत हालसालै पत्ता लागेको नवौं उच्च शिखर अन्नपूर्ण ईष्ट समेत गरी जम्मा 9 शिखरहरु यहीं छन् र तिनले बर्षेनी लाखौंको संख्यामा पर्यटकहरुलाई आकर्षित गरिरहेका छन् । विश्वकै उच्चस्थानमा रहेको तिलिचो ताल, नेपालकै गहिरो सेफोक्सुण्डो, अनुपम सौन्दर्यका साथ प्राकृतिक रुपमा रहेको नेपालको सबैभन्दा ठूलो रारा लगायतका तालहरु यहीं छन् ।

        संसारमै सबैभन्दा फराकिलो उच्च स्थानमा रहेको भञ्ज्याङ "थोराङला पास" (5416 मि.) सहितको अति प्रशिद्ध अन्नपूर्ण पदमार्ग, एभरेष्ट–गोक्यो ट्रेकिङ रुट, गोसाईकुण्ड रहेको लाङटाङ–हेलम्बू ट्रेकिङ रुटका साथै पहिचान हुन बाँकी रहेका सयौं अति रोमाञ्चक तथा चुनौतिपूर्ण पदमार्गहरु यहि देशमा छन् । दुईवटा आठ हजार मिटरभन्दा माथिका शिखरहरु धवलागिरी र अन्नपूर्ण प्रथम विचमा रहेको विश्वकै गहिरो खोंच "कालिगण्डकी गर्ज" यहीं छ । अपार भौगोलिक विशिष्टता भएको यो मुलुकमा जैविक विविधता र पर्यावरणीय विविधता पनि छ । धार्मिक सहिष्णुताको सर्वोत्कृष्ट नमूना यही देशमा छ, साँस्कृतिक विपुलता पनि छ ।

        विविध जातिका चराचुरुङ्गि तथा जिवजन्तुहरु, सिमसार र त्यहाँ मौषमअनुसार साइबेरियासम्म देखी बसाईसराईमा आउने चराहरु, संसारकै दुर्लभ र नेपालमा मात्र पाईने एकसिङ्गे गैंडा तथा काँडे भ्याकुर, थरिथरिका सुनाखरी तथा विभिन्न प्रजातिका गुराँस लगायतका अन्य पुष्प तथा छ हजार पाँच सय भन्दा बढिका वनस्पतिहरुका लागि नेपाल प्रख्यात छ । आठ सय पचास भन्दा बढि प्रजातिका पुतलीहरुका साथै आठ सय असीका हाराहारीमा चराचुरुङ्गिका विविध प्रजाति पाईने हुनाले तत्सम्बन्धमा अध्ययन गर्न चाहने विज्ञहरुका लागि नेपाल चाखलाग्दो गन्तव्य सावित भएको छ । तब त नेपालले "वर्ड वाचर्स प्याराडाईज" को उपमा पाएको छ ।

        विश्वका लगभग 5000 प्रजातिका स्तनधारी प्रजातिहरुमध्ये नेपालमा 208 किसिमका प्रजातिहरु पाईन्छन् । आई.यू.सी.एन. ले पहिचान गरेका विश्वका दुर्लभ स्तनधारी प्रजातिहरुमध्ये कुल 32 प्रजातिहरु नेपालमा पाईन्छन् ।

         हामीसँग भएका प्राकृतिक सम्पदा, ऐतिहासिक धरोहर, विश्वकै उच्च हिमश्रृंखला, भौगोलिक बनावटको लाभ र सम्पन्न साँस्कृतिक सम्पदालाई प्रयोग गरि घुमन्ते तथा साहसिक पर्यटकहरु भित्राउन सकिन्छ । तिनै घुमन्ते पर्यटकहरुलाई हाइकिङ्ग, ट्रेकिङ्ग, माउण्टेनियरिङ्ग, र्‍याफ्टिङ्ग, बन्जी जम्प, क्यान्योनिङ, प्याराग्लाइडिङ्ग, हर्सराइडिङ्ग, जलयात्रा, माउण्टेन बाईकिङका लागि आकर्षित गर्नुका साथै स्पोर्ट टुरिज्म, हेल्थ टुरिज्म, एग्रो टुरिज्म, होमस्टे टुरिज्मका लागि वातावरण तयार गर्न सके पर्यटकहरुको संख्या बृद्धि हुने र प्रशस्त विदेशी मुद्रा देशमा भित्रिने छ । यसका साथै स्थानिय रुपमा नै रोजगारीका प्रशस्त अवसरहरु श्रृजना गर्न सकिन्छ ।

जानकारी तथा लेखहरु
सुझाउ