फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व वन्यजीव दिवसको पहिलो भाग

(GMT+08:00) 2014-03-07 15:10:21

     मार्च तीन तारिख विश्व वन्यजीव दिवस पर्दछ। विश्वका दुर्लभ पशुपन्छी तथा वनस्पतिबारे जनचेतना जगाउने र तिनको महत्व दर्शाउने हेतुले राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो।

     नेपालका महत्वपूर्ण बन्यजन्तुमा बाघ,गैंडा हात्ती, हिंउँ चितुवा, गोही, घडियाल, व्वाँसो, दुर्लभ चराहरु आदि पर्दछन्। संरक्षित बन्यजन्तु ब्वाँसो संकटापन्न जनावर भएपनि चोरी शिकार र अवैध व्यापारले गर्दा यो लोप हुने अवस्थामा छ। चितवन लगायत संखुवासभा, मुस्ताङ, मनाङ, डोल्पा, कास्की र हुम्ला जिल्लामा पाइने ब्वाँसो कुनै बेला प्रत्यक्ष कराएको सुनिने गरेकोमा अहिले हराउँदै गएको प्रष्टै छ।

     हिमाली मुलुक भएकाले नेपालमा हिमालमा आश्रित जनावरहरुको अवस्था अझै बढी चासोको विषय हो। नेपालमा 4 सयको हाराहारीमा हिउँ चितुवा भएको अनुमान छ तर यकिन तथ्यांक छैन। लजालु जनावर हिउँ चितुवाको बासस्थान हिउँले ढाकिएको क्षेत्र हो। जलवायु परिवर्तनका कारण हिउँ पग्लने क्रम बढेकोले हिउँ चितुवा जस्ता हिमाली जनावरको बासस्थान भत्किंदै गएको छ। हिउँ चितुवाका लागि आवश्यक हिउँ नै नहुनु र पर्याप्त आहार प्रजाति नहुनेले यो पनि संकटबाट गुज्रिंदै आएको प्राणी हो। जलवायु परिवर्तनको असरले मानिसलाई जसरी नै वन्यजन्तुको बासस्थान र जैविक विविधतामा असर पुगेको छ। विश्वमा नै चोरी–सिकार, बासस्थान विनाश, खान्कीको अभाव, मानिस र वन्यजन्तुबीचको द्वन्द्व, सिकार, अंगको अवैधानिक व्यापारका कारण वन्यजन्तु संरक्षणमा चुनौती छ।

     विश्वमा आठ प्रजातिका सालक पाइने भए पनि नेपालमा दुई प्रजातिका कालो सालक र तामेसालक पाइने गरेको छ। सालकले वर्षमा सात करोड किरा–फट्याङग्रा खाइदिने भएकाले बालीनालीमा किराको प्रकोप कम हुने र यसले कुनै किसिमको नोक्सानीसमेत गर्दैन। निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले नेपालमा पाइने 27 प्रजातिका स्तनधारी प्राणीलाई लोपोन्मुख सूचीमा राखेको छ। तर नेपालमा वन्यजन्तु संरक्षणका लागि केही निकायले गम्भीरतापूर्वक कदम चालेकामा लोपोन्मुख सालकको खपेटा तस्करीका कारण उच्च जोखिममा रहेको सालक संरक्षणका लागि अभियान चालिएको छ। विश्व वन्यजन्तु कोषको सहयोगमा यो कार्यक्रम भएको हो तर आफ्नै श्रोतमा संरक्षणका लागि कदम चाल्न नेपालको सन्दर्भमा एउटा जटिल चुनौती हो।

     नेपालका वन्यजन्तुको अवस्था अत्यन्तै चिन्ताजनक हुँदै गएको अध्ययनले देखाएको छ। वनजंगल फडानीका कारण बासस्थानको विनाश, वन्यजन्तुको चोरी सिकारी आदि क्रियाकलापका कारण वन्यजन्तु दिनानुदिन संकटमा पर्दैछन्। नेपालमा रहेका संकटापन्न जीवजन्तुहरूमध्ये लगभग दुई तिहाई बासस्थान विनाशबाट सिर्जिएका हुन्।

     नेपालको सन्दर्भमा वन्यजन्तु एवं जैविक विविधताको अवस्था त्यति सन्तोषजनक देखिँदैन। पछिल्लो समयमा भएको जलवायु परिवर्तनका कारण हावापानी, वासस्थान र आहारमा परिवर्तन ल्याउने भएकाले जीवजन्तुका लागि आवश्यक वातावरण प्रतिकूल बनिरहेको छ, जसका कारण विभिन्न चराको अण्डा पार्ने र कोरल्ने समय परिवर्तन हुँदै गएको छ। कोरलिएका चराहरूमा समेत अनौठो गुण देखिने अशक्त बन्ने, प्राणी तथा वनस्पतिको प्रजनन र उत्पादन क्षमतामा ह्रास आउने र उत्पादनमा आएका समस्या पनि सिर्जित हुन थालेका छन्।

     भौगलिक बनावट, माटो र वातावरणीय विविधताका कारण नेपाल विश्व जैविक विविधतामा धनी मानिन्छ। नेपाल जैविक विविधतामा विश्वमै 31 औं स्थानमा पर्छ। एक तथ्यांकअनुसार नेपालमा 8 सय 65 प्रजातिका चरा, 1 सय 86 प्रजातिका माछा, 7 हजार प्रजातिका फूल फुल्ने बिरुवा, 2 सय 46 प्रजातिका महत्त्वपूण जडिबुटी, 5 हजार प्रजातिका कीरा-फट्यांरा 4 सय प्रजातिका बहुआयामिक बाली तथा 60 प्रजातिका जंगली खाद्य फलफूल पाइन्छ।

     नेपालमा पाइने चराहरूमध्ये 19 प्रजातिका लाटोकोसेरा, संसारमै पाइने 23 प्रजातिका गिद्धमध्ये 8 प्रजातिका गिद्ध नेपालमा पाइन्छ। तीमध्ये करिब चार प्रजातिका गिद्ध अति नै संकटापन्न अवस्थामा छन्। नेपालमा करिब 89 प्रजातिका सर्प पाइन्छन् जसमध्ये करिब 1 प्रजातिको सर्प मात्र रैथाने प्रजातिका रूपमा रहेको छ। यी मेरुदण्डीय प्राणीबाहेक अरू थुपै प्राणी विविधता नेपालमा पाइन्छ। यहाँ अहिलेसम्म लगभग 6 सय 53 थरीका रङ्गीबिरङ्गी पुतली, 3 हजार 9 सय 66 भन्दा बढी मोथ प्रायः राती उड्ने पुतलीहरू, 5 हजारभन्दा बढी कीरा, 2 सय प्रजातिका माकुरा छन्। तीमध्ये करिब 32 प्रजातिका स्तनधारी जन्तु, 34 प्रजातिका चरा, 9 प्रजातिका सरीसृपहरू र 3 प्रजातिका उभयचरहरू संकटापन्न अवस्थामा छन्। स्तनधारी जन्तुमध्ये रामगाई र पुड्के बँदेल नेपालबाट लोप भएको अनुमान गरिएको छ।

     गुलाबी टाउके हाँस, ठूलो सेतो बकुल्ला, होमराई धनेश प्रजातिका चरा नेपालबाट लोप भएका छन् भने थप 1 सय 22 प्रजातिका चरा कहालीलाग्दो अवस्थामा छन् जसमध्ये कैयन् वन्यजन्तु वा प्राणी रैथाने छन्।

जानकारी तथा लेखहरु
सुझाउ