फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-यात्राका लागि प्रवेशाज्ञा सम्बन्धी केही जानकारी

(GMT+08:00) 2014-03-06 08:41:22

        तपाईंको चीन-यात्राका लागि सबैभन्दा पहिले गर्नुपर्ने महत्वपूर्ण काम भनेको प्रवेशाज्ञा बनाउनु हो। विदेशी मित्रहरुले चीनको भ्रमणका लागि आउनुअघि सम्बन्धित मुलुकस्थित चिनियाँ राजदूताबास वा वाणिज्य दूताबासमार्फत पर्यटन प्रवेशाज्ञा मिलाउनु अत्यावश्यक र नभइनहुने कुरा हो। सन् 2013 को सेप्टेम्बरदेखि संचालन हुन थालेको पछिल्लो नियमअनुसार, चीनमा बसोबास, काम, अध्ययन, भ्रमण, पर्यटन, सीमा पार, जहाज रेलमार्ग हवाइ कर्मचारी, पत्रकार, परिवार भ्रमण आदि विषयको लागि C、D、F、L、G、J、M、R、Q、S、X、Z यी बाह्र प्रकारका सामान्य प्रवेशाज्ञा छन्। तीमध्ये L प्रकारको प्रवेशाज्ञा भनेको पर्यटन प्रवेशाज्ञा हो। सामूहिक रुपमा चीनको पर्यटन गर्ने विदेशीको लागि "सामूहिक L" प्रवेशाज्ञा चाहिन्छ।

        9 जना वा यसभन्दा बढी संख्याका पर्यटकहरुले समूहगत रुपमा चीन आउन चाहेको खण्डमा सामूहिक पर्यटन प्रवेशाज्ञाका लागि निवेदन गर्न पाउँछन्। सन् 2013 को अक्टोबर एक तारिखदेखि संचालनमा आएको चीनको पर्यटन ऐनका अनुसार, चीनमा पर्यटन गर्ने विदेशीले चीनमा अवैधानिक बस्नुहुँदैन भने समूहगत रुपमा चीन आएका पर्यटकले अनधिकृत रुपमा समूहलाई विभाजन गर्नु वा समूहबाट छुट्टिनु पनि हुँदैन।

       शन चङ, चु हाइ तथा स्या मन गरी यी विशेष आर्थिक क्षेत्रमा घुम्नका लागि जाने विदेशीहरुले प्रत्यक्ष रुपमा ती नाकाहरुका प्रवेशाज्ञा कार्यालयमा "विशेष क्षेत्रको पर्यटन प्रवेशाज्ञा" पाउनका लागि आवेदन गर्नुपर्छ। हाइनान प्रान्तको 15 दिनसम्मको मात्र यात्रा गर्ने हो भने तत्कालै हाइ खौ वा शान या नाकामा प्रवेशाज्ञा लिन सकिन्छ। हंगकंगमा रहेका विदेशीहरुले समूहगत रुपमा शन चङ विशेष क्षेत्रको भ्रमण गर्न चहेमा 72 घण्टासम्मका लागि प्रवेशाज्ञा बनाउनुपर्दैन।

        तिब्बत स्वायत्त प्रदेशको यातायात तथा पर्यटन आवश्यक प्रबन्ध र स्वागत क्षमताको हिसाबले तिब्बतमा पर्यटन गर्नका लागि तिब्बत यात्रा अनुमोति पत्र लिने र अन्य वैधानिक औपचारिक कार्य पूरा गर्नुपर्छ। संगठित विदेशी पर्यटन दलले तिब्बत घुम्न चाहेमा तिब्बत स्वायत्त प्रदेशीय अन्तर्राष्ट्रिय पर्यटन एजेन्सीबाट तिब्बत प्रवेश पुष्टिकरण प्रक्रिया गर्नुपर्छ र आवेदन समय लगभग दशदेखि चौध दिनसम्म लाग्छ। तिब्बत आएका विदेशी पर्यटक वा पर्वतारोहीले स्वदेशबाट वितरण गरिएको राहदानी र विदेशका लागि चीनको राजदूताबास वा वाणिज्यदूताबासबाट वितरण गरिएको प्रवेशाज्ञा लिनुपर्छ तर प्रवेशाज्ञा विना चीन आउन सक्ने सम्झौता भएका मुलुकका पर्यटकका लागि यो प्रावधान लागू हुँदैन। यसबाहेक तिब्बतको शान्नान, आली, लिन्ची, सिगाच्छे आदि जिल्ला प्रवेश गर्नका लागि सीमा कार्ड चाहिन्छ।

        यसबाहेक अमेरिका, क्यानाडा, रुसलगायत 45 वटा मुलुकबाट आएका तेस्रो देश प्रवेशाज्ञा र हवाई टिकट लिएका विदेशीले पैचिङ, शाङहाइ, क्वाङ चौ, छङ तु आदि क्षेत्रमा 72 घण्टासम्म सीमा पार प्रवेशाज्ञा विना हैसियत लिनसक्छन् र सो अवधिमा निर्दिष्ट प्रशासनिक क्षेत्रमा घुम्न सक्छन्। पर्यटन प्रवेशाज्ञा लिएर आउनेहरुले चीनद्वारा विदेशीका लागि खुला गरिएका वा निर्दिष्ट गरिएका नाकामा सिमा सुरक्षा जाँच अंगको जाँच-बुझपछि मात्र चीनभित्र प्रवेश गर्न सक्छन्।

        तपाईं चीनभित्र आफ्नो प्रभावकारी राहदानी र पर्यटन प्रवेशाज्ञा लिएरै मात्र विदेशीका लागि खुला हुने क्षेत्रहरुमा यात्रा गर्न सक्नुहुन्छ। चीन सरकार चीनभित्र रहेका विदेशीहरुको जायज हित-अधिकारको संरक्षण गर्दछ। तर पर्यटन प्रवेशाज्ञा लिएर चीनको भ्रमण गर्नआउने विदेशीको हैसियतमा तपाईंले चीनमा रोजगारीमा लाग्ने, धार्मिक प्रचार-प्रसार गर्ने र अवैध अन्तर्वार्ता लिने जस्ता आफ्नो हैसियतसँग नमिल्ने खालका कारवाई गर्नु हुँदैन। अन्यथा तपाईं जरिवाना या सजायको भागी हुनुहुनेछ। यसका साथै, चीनमा रहँदा तपाईंले अवश्य पनि चीनको ऐन-कानूनको पालना गर्नुपर्छ र चीनको रीतिथिति तथा चलन-चलनको सम्मान गर्नुपर्छ।

       तपाईं प्रवेशाज्ञामा तोकिएको अवधिभित्र चीनमा पर्यटन गर्न सक्नुहुन्छ। तोकिएको मिति सकिएपछि पनि अझै चीनको भ्रमणमा रहन चाहनुहुन्छ भने स्थानीय सार्वजनिक सुरक्षा कार्यालयसँग चीनमा बस्ने म्याद थपिदिन निवेदन गर्न सक्नुहुन्छ। तपाईंको यात्रा पूरा भएपछि प्रवेशाज्ञाको प्रभावकारी अवधिभित्र विदेशीका लागि खुला हुने अन्तर्राष्ट्रिय नाकामा सिमा सुरक्षा जाँच कार्यालयको जाँच-बुझ पार गरेपछि बाहिर निस्कनु हुन्छ।

       चीनको पछिल्लो ऐन र नियमका अनुसार, पर्यटकले लिएको प्रवेशाज्ञा र निवास कागत-पत्रको सबभन्दा लामो समयावधि भनेको एक सय असी दिन हो, काम गर्न आवास दस्तावेज र गैर-काम गर्न आवास दस्तावेजका सबभन्दा छोटो वैधताको अवधि छुट्टा छुट्टै गरी नब्बे र एक सय असी दिन रहेका छन् भने सबभन्दा लामो भनेको पाँच वर्षको अवधि रहेको छ।

        चीनले विभिन्न मुलुकका पर्यटकलाई हार्दिक स्वागत गर्छ तर यदि चीन प्रवेश भएपछि तपाईँले प्रवेशाज्ञाको प्रकारसँग नमिलेको गतिबिधि गरेमा चीन सरकारले अन्तर्राष्ट्रिय नियमबमोजिम चीनभित्र प्रवेश हुन तपाईँलाई निषेध गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ