फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2015 सम्ममा वयस्क निरक्षरता 50 देखि 75 प्रतिशतसम्म घटाउने सरकारको लक्ष्य

(GMT+08:00) 2014-04-19 18:35:00

          नेपाल सरकारले सन् 2015 सम्ममा वयस्क निरक्षरता 50 देखि 75 प्रतिशतसम्म घटाउने लक्ष्य राखेको छ।

          शिक्षा मन्त्रालय, युनिसेफलगायत संस्थाले संयुक्त रुपमा आयोजना गरेको 'सबैका लागि शिक्षा, सन् 2015 अघि र पछि' विषयको अन्तक्र्रिया तथा अध्ययन सार्वजनिक कार्यक्रममा सन् 1995 देखि सुरु भएको साक्षरता कार्यक्रमअनुसार बर्सेनि निरक्षरता प्रतिशत घट्ने क्रममा रहेको बताइयो।

           सन् 2015 पछिका शैक्षिक कार्यसूचीमा विशेषगरी अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउन विविध कार्यक्रम ल्याइने लक्ष्य छ। यसैगरी मातृभाषालाई विद्यालयमा प्रयोग गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिने छ।

          मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले शैक्षिक गुणस्तरलाई विशेष ध्यानमा राखिने र विश्वका अन्य मुलुकमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षामा जोड दिइने बताउनुभयो। 'सबैका लागि शिक्षा कार्यक्रम'का संयोजक हृदयरत्न बज्राचार्यले कार्यपत्र प्रस्तुत गर्दै आधारभूत शिक्षा सबैको पहुँचमा पुर्‍याउन स्थानीय निकाय तथा विभिन्न सरकारी एवं गैरसरकारी सङ्घसंस्थाको परिचालन गर्नुपर्नेमा जोड दिनुभयो।

        'शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल'का अध्यक्ष बाबुकाजी श्रेष्ठले विभिन्न समुदायमा गरिएको शैक्षिक अध्ययनको कार्यपत्र प्रस्तुत गर्दै जीवनोपयोगी शिक्षा हुनुपर्ने बताउनुभयो। कार्यक्रममा मानवअधिकारकर्मी गौरी प्रधान, प्याब्सनका केन्द्रीय अध्यक्ष लक्ष्यबहादुर केसी, बालअधिकार सञ्जालका अध्यक्ष डा विजय सैँजुलगायतले विद्यार्थीलाई विद्यालयसम्म पुर्‍याउने र टिकाइराख्न र बीचैमा विद्यालय छाड्न नदिनका लागि गर्नुपर्ने कार्यक्रमलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

          तथ्याङ्क विभागका अनुसार हाल नेपालको साक्षरता 66 प्रतिशत पुगेको र यो क्रम प्रत्येक वर्ष एक प्रतिशतले बढ्दै गइरहेको गोरखापत्र अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ