फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रीदेवी चाङ्गको चिनियाँ प्रेम कथा

(GMT+08:00) 2014-04-28 15:19:58

     श्रीदेवी चाङ्ग एकजना भारतीय महिलाको नाम हो। श्रोतालाई अचम्म लाग्ला, किन उहाँको नाममा चाङ्ग भन्ने चिनियाँ थर जोडिएको? आजको कार्यक्रममा म तपाईंलाई श्रीदेवी चाङ्गको रोचक चिनियाँ प्रेम कथा सुनाउँछु।

     भारतीय चलन अनुसार, महिलाहरूको बिवाह भएपछि आफ्नो नामपछि श्रीमानको थर थप्नुपर्छ। श्रीमती श्रीदेवीका श्रीमान चिनियाँ हुनुहुन्छ। त्यसैगरी त्यो परम्परागत चलन बमोजिम श्रीमती श्रीदेवीले बिवाहपछि आफ्नो नामपछि श्रीमानको थर अर्थात् चाङ्ग भन्ने थर थप्नुभयो। गत शताव्दीको नब्बेको दशकमा श्रीदेवीले चीन आएर अध्ययन गर्न थाल्नुभएको थियो। चीनमा उहाँले अधिकांश ज्ञान प्राप्त गर्नुका साथै सुमधुर प्रेम पनि हासिल गर्नुभयो।

     श्रीदेवी चाङ्ग भारतको चेन्नाइमा जन्मनु भएको थियो भने दिल्लीमा हुर्कनु भएको थियो। सन् 1996 मा उहाँले भारतकै नेहरु विश्वविद्यालयमा चिनियाँ साहित्य एपीको पदवी प्राप्त गर्नुभएको थियो। अनि उहाँ भारत सरकारको मानव शक्ति स्रोत विकास योजना कार्यालयमा भर्ना हुनुभएको थियो। त्यसपछि उहाँलाई चीन सरकारद्बारा सञ्चालित पूर्ण छात्रवृत्तिको तरिकामार्फत् चिनियाँ जन विश्वविद्यालयमा अध्ययनका लागि भर्ना गरिएको थियो। चिनियाँ जन विश्वविद्यालयमा पढ्दा श्रीदेवीको एकजना चिनियाँ केटासँग चिनजान भयो। जो सफ्टवेयरको डिजाइनमा अध्ययनरत् हुनुहुन्थ्यो। दुई वर्षसम्मको अवधिमा श्रीदेवी तथा ती पुरुषबीच घनिष्ट मित्रता कायम भयो। सन् 1998मा श्रीदेवीले आफ्नो पढाई सिध्याएर भारत फर्कन खोज्नुभयो। तर त्यति बेला उहाँ तथा केटा एक अर्काको प्रेममा चुर्लुम्म डुब्न थालिसकेका थिए।

     श्रीदेवीका अनुसार, भारतीयहरुको विचार त्यति खुलस्त छैन। धार्मिक र साँस्कृतिक कारण भएकाले उनीहरू विरलै विदेशीसँग बिवाह गर्दछन्। आफ्ना बुवा-आमाले आफ्ना चिनियाँ केटा साथीलाई स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा श्रीदेवी निकै चिन्तित हुनुहुन्थ्यो। तर आफ्ना बुवा-आमासँग वैचारिक आदान-प्रदान गरेपछि श्रीदेवीले खुसीसाथ के फेला पार्नुभएको छ भने बुवा-आमाले चिनियाँ केटा साथीलाई तुरुन्तै र सुचारु रुपमा स्वीकार गरेका थिए। त्यति बेलाको अवस्थाको पुन:अवलोकन गर्दै श्रीदेवी यसरी भन्नुहुन्छ:

     मेरा बुवा-आमा साँच्चिकै राम्रा छन्। सामान्य भारतीय बुवा-आमाभन्दा उहाँहरूको विचार अलि खुलस्त देखिन्छ। उहाँहरूका मनमा छोराछोरीको सुख अरुभन्दा झन् महत्वपूर्ण विषय नै हो।

     आमा-बुवाको आश्वासन र शुभकामना पाएपछि श्रीदेवी तथा चिनियाँ केटा साथीले तुरुन्तै बिवाहको योजना पनि तर्जुमा गर्नुभयो। सन् 2000को जून महिनामा श्रीदेवी र केटा साथी चाङ्ग दुवैले भारततर्फ उड्ने विमान चढेर भावी ससुरा र सासूसँग भेट्नुभयो। केटा साथी चाङ्गका लागि त्यो पहिलो विदेश यात्रा पनि थियो।

     सन् 2000को अक्टोबर दुई तारिखका दिन श्रीदेवी र चिनियाँ केटा साथी चाङ्गबीच भारतमा रमाइलोसँग बिवाह सम्पन्न भएको थियो। उहाँहरूको बिवाह समारोह पूराका पूरै भारतीय परम्परागत चलन बमोजिम आयोजना गरिएको थियो। श्रीदेवीका अनुसार, किन अक्टोबर दुई तारिखका दिनमा बिवाह गर्ने? त्यसमा दुईवटा अर्थ रहेका छन्। एक, अक्टोबर एक तारिखका दिन चीनको राष्ट्रिय दिवस हो भने दुई, अक्टोबर दुई तारिखका दिन भारतीय महात्मा गान्धी(Mahatma Gandhi)को जन्म दिन हो। कि चिनियाँ होस् वा भारतीय मानिसका लागि त्यो राम्रो अवसर नै हो। केही समयपछि उहाँहरूले चीन फर्केर चिनियाँ शैलीको अर्को बिवाह समारोहको पनि आयोजना गर्नुभएको थियो। श्रीदेवीको विचारमा चिनियाँ श्रीमानसँगको बिवाह भएपछि चीन र भारत बीच सँस्कृति र मित्रताको हस्तान्तरण पनि हुन थालेको छ। त्यो आफ्नो लागि एक किसिमको सुख र पवित्र कार्यभार हो।

     श्रीदेवीका अनुसार, विभिन्न देशका पुरुष र महिलाबाट गठित परिवारमा जीवन शैली र विचार तरिकामा केही भिन्नता रहेका हुन्छन्। तर श्रीमान र श्रीमती सधैं एकले अर्काको विस्तृत सम्मान र समझदारी गर्दछन्। उहाँको पारिवारिक वातावरण साह्रै मेलमिलापयुक्त र मीठो छ। आफ्ना चिनियाँ सासूबारे चर्चा गर्दै श्रीदेवी खुसीसाथ भन्नुहुन्छ:

     मेरी सासूको विचारमा आफ्ना छोराले एकजना विदेशी युवतीसँग बिवाह गरेको कुरा एक परिवारका लागि ठूलो गौरवको विषय हो। वास्तवमा त्यो एक सौभाग्य पनि हो। शुरुमा वरिपरिका मानिसहरूको शंका र अविश्वास देख्दा मलाई डर लागेको थियो। तर मेरी सासूले मलाई के बताउनुभएको थियो भने अरु मान्छेको वास्ता नगरी आफूद्बारा रचिएको बाटोलाई कायम राख्नुपर्छ। अनि अन्त्यमा आफूले सुख पाउनसक्छ। उहाँको कुरा सुनेर मलाई साह्रै घत लाग्यो। यस वर्ष मैले चाङ्गसँग बिवाह गरेको जम्मा तेह्र वर्ष भइसकेको छ। हाम्रो सुमधुर जीवनबाट आफ्नो पहिलेको छनौट एकदम ठीक भएको स्पष्टसँग प्रतिबिम्बित गरिएको छ।

     बिवाह भएको छ वर्षपछि श्रीदेवी र चिनियाँ श्रीमानले आफ्ना चिट्टिक जुम्ल्याहा शिशु पनि जन्माउनुभयो। अहिले उहाँका दुईजना छोरी लगभग आठ वर्षका भएका छन्। उनीहरू स्वतन्त्र, स्वस्थ र खुसीसाथ हुर्कन सक्ने भन्ने श्रीदेवी तथा श्रीमानको सबैभन्दा ठूलो अभिलाषा हो।

     आफ्नो तेह्र वर्षको रोचक प्रेम जीवनको पुन:सिंहावलोकन गर्दै श्रीदेवीले हरेक दिनको जीवनमा भरिपूर्ण न्यानो र सुखको अनुभव गर्नुहुन्छ। उहाँको विचारमा चिनियाँ पुरुषसँग बिवाह गर्नु नै आफ्नो जीवनमा गरिएको सबैभन्दा ठीक निर्णय हो। उहाँ यसरी भन्नुहुन्छ:

     एकजना विदेशी युवतीका लागि एकजना उपयुक्त चिनियाँ श्रीमानलाई पत्ता लगाउनु नै एक किसिमको सौभाग्यको कुरा हो। म चीनमा जम्मा सत्र वर्षसम्म बसेकी छु। चीन भन्ने देशलाई म साह्रै माया गर्दछु। यहाँ मेरो रोमन्टिक प्रेम, राम्रा श्रीमान, चिट्टिक छोरी र सुखमय परिवार छ। मलाई धेरै सुख लागेको छ।

जानकारी तथा लेखहरु
सुझाउ