फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ विकलाङ्ग बालकका मायालु अमेरिकी आमा

(GMT+08:00) 2014-05-02 19:24:04

       अमेरिकी एशिया चिकित्सा सेवा आदान-प्रदान केन्द्र एउटा गैर-सरकारी सामाजिक संस्था हो। सन् 1994मा त्यसको स्थापना चीनको ल्याउ निङ्ग प्रान्तको शन याङ्ग शहरमा गरिएको थियो। बितेका बीस वर्षयता त्यस संस्थाले समस्त समाजलाई स्वास्थ्य र चिकित्सा सम्बन्धी विविध हितकल्याणमूलक सेवा प्रदान गर्दैआएको छ। जस्तै: पारिवारिक मिलन, अनाथहरूका लागि उपयुक्त परिवारको छनौट, विपन्न परिवारका बाल बालिकाका लागि नि:शुल्क अपरेशन र प्रकोपग्रस्त क्षेत्रतर्फ चन्दास्वरुप विभिन्न सामग्री र चिकित्सा सेवा आदि। के भन्नसकिन्छ भने त्यस संस्थाबाट अधिकांश विपन्न समुदाय विशेषत: विकलाङ्ग बालक तथा उनीहरूको परिवार लाभान्वित भएका छन्।

     अमेरिकी एशिया चिकित्सा सेवा आदान-प्रदान केन्द्रका महाप्रबन्धक श्रीमती वै स्याउ सिन हुनुहुन्छ। वास्तवमा उहाँ अमेरिकी नागरिक हुनुहुन्छ। उहाँको अमेरिकी नाम पाउला युम्स्चेइद हो। सन् 1984मा उहाँ अमेरिकाबाट चीन आउनुभएको थियो। शुरुका छ वर्षसम्म उहाँले एक विश्वविद्यालयमा अङ्ग्रेजी सिकाउनुभएको थियो। त्यस क्रममा उहाँले चिनियाँ सँस्कृति र समाजको गहन रुपमा जानकारी लिनुभएको थियो। सन् 1992मा उहाँले भित्री मङ्गोलियाको स्थानीय चिकित्सा संस्थाको निरीक्षण गर्नुभयो। त्यस्तो दुर्गम क्षेत्रमा चिकित्सा प्रबन्ध निकै अभाव रहेको कठिनाई देख्दा श्रीमती वैले त्यस क्षेत्रमा दुःख भोगिरहेका बासिन्दाका लागि केही योगदान गर्ने अठोट पनि गर्नुभयो। त्यति बेलाको अवस्थाको पुन:स्मरण गर्दै उहाँ यसरी भन्नुहुन्छ:

     मेरो चिकित्सा सम्बन्धी कुनै पनि पृष्ठभूमि छैन। तर चीन आएको शुरुआतमा मैले चिनियाँ वायु सेना चिकित्सा प्रतिष्ठानमा अङ्ग्रेजी भाषा सिकाएकी थिएँ। त्यस क्रममा मैले चिकित्सा सेवा सम्बन्धी चिनियाँ सर्वसाधारणहरूको चाहनाबारे स्पष्टसँग बुझेकी थिएँ।

     बितेका बीस वर्षयता ऊ स्याउ सिनको चिकित्सा केन्द्रले नागरिक मामिला विभाग आदि सरकारी संस्थासँग सहयोग गरी पूँजी र चिकित्सा सम्बन्धी ज्ञान भन्ने पक्षमार्फत् विकलाङ्ग बाल बालिका तथा उनीहरूको परिवारलाई नि:शुल्क रुपमा अपरेशन सेवा दिंदैआएको छ। यसबाहेक, उहाँले पुनस्थापना हुनका लागि चाहिने बाल बालिकाका लागि तालिम क्याम्प र अङ्ग्रेजी कक्षा आदि विशेषतायुक्त सेवा पनि प्रदान गर्नुभयो। अनाथालयका अधिकांश अनाथहरू अपरेशन गरिएपछि पुन:स्वस्थ भएका छन्। उनीहरूले तुरुन्तै धाई-परिवारबाट आउने न्यानोपन र माया पनि पुन:पाउन सकेका छन्।

     एक सामाजिक संस्थाको हैसियतले केन्द्रमा कार्यरत् कर्मचारीहरूमध्ये प्राय:जसो समाजका विभिन्न क्षेत्रका स्वयम सेवक-सेविकाहरू हुन्। यति मात्र होइन, विकलाङ्ग बाल बालिकालाई अपरेशन गर्ने वा औषधोपचार गर्ने चिकित्सकहरूले पनि आफ्नो खर्चमार्फत् विमान टिकट किनेर चीन पुगी आफ्नो समय र पेशागत प्रविधि हस्तान्तरण गर्ने गर्दछन्। आफ्ना केन्द्रका कर्मचारी र चिकित्सकहरूबारे चर्चा गर्दै श्रीमती वैले यसरी जानकारी दिंदै भन्नुभयो:

     हाम्रा चिकित्सकमध्ये प्राय:जसो अमेरिकाबाट आएका हुन्। अरु चिकित्सक बेलायत र गणतन्त्र कोरियाबाट पनि आएका छन्। उनीहरूले आ-आफ्नो बिदा अथवा अतिरिक्त समयको सदुपयोग गरी चीन लगायत अनेकन् विकासोन्मुख मुलुक गएर स्वयम सेवा प्रदान गर्ने गर्दछन्। कमजोर समुदायलाई सहायता दिनु नै उनीहरूको साझा अभिलाषा हो।

     सामान्य परिवारको तुलनामा विकलाङ्ग बालबालिका सहित परिवारमा देखिने खुसी र सुख अपेक्षाकृत कम छ। ती परिवारका आमाबुवा झन् अप्ठ्यारो परेका हुन्छन्। यस्तो अवस्थामा श्रीमती वैले आफ्नो केन्द्रमा ती परिवारका लागि विशेष गतिबिधि वा कक्षा पनि संचालन गर्नुभयो। ती गतिबिधि या कक्षामार्फत कठिन अवस्थामा रहेका परिवारका आमाबुवाले अधिकांश प्रेरणा पाउनुका साथै विभिन्न पेशागत ज्ञान र प्रविधि पनि सिक्न सकेका छन्।

     सत्र वर्षअघिको एक दिन श्रीमती वैले एक अनाथालयको भ्रमण गर्नुभएको थियो। त्यहाँ उहाँले रोगले च्यापेकी एकजना अनाथ केटीसँग भेट्नुभयो। पहिलो चोटी देखे तापनि वैले त्यो केटीलाई निकै हेरचाह र माया गर्नुभयो। उहाँले त्यो केटीलाई एउटा सुमधुर अङ्ग्रेजी नाम पनि राख्नुभयोः कि शेरी। अनि शेरी वैले चीनमा पोषण पालन गर्नुभएको पहिलो छोरी पनि बनेकी छिन्।

     अहिले छोरी शेरी एकजना सुन्दरी र इमान्दार युवतीको रुपमा सप्रेकी छिन्। उनी पनि आफ्ना अमेरिकी आमाको केन्द्रमा कार्यरत् एकजना स्वयम सेविका छिन्। आफ्नी चिनियाँ छोरी शेरीबारे चर्चा गर्दै श्रीमती वैलाई ज्यादै खुसी र गौरव लागेको छ। किनकि उहाँका आँखामा छोरी एकदमै मायालु र उत्कृष्ठ छिन्।

     चीनमा रहँदाको बीस वर्षयता श्रीमती वैले अघिपछि गरी अन्य तीनजना केटा-केटीको पनि पोषण पालन गर्नुभएको छ। उनीहरूको आ-आफ्नो शारीरिक अपाङ्ग भए तापनि अमेरिकी आमा वैको माया, ख्याल-विचार र हेरचाहमा स्वस्थ रुपमा हुर्कंदैआएका हुन्। अतिरिक्त समयमा अमेरिकी आमा वैले पनि उनीहरूको व्यक्तिगत विशेषता बमोजिम विभिन्न किसिमका तालिम दिने गर्नुहुन्छ। जस्तै: पियानो, टेबुल टेनिस र पौडी आदि। आफ्ना चिनियाँ छोराछोरीबारे चर्चा गर्दै आमा वैले खुसीसाथ भन्नुभयो:

     उनीहरू विकलाङ्ग भए तापनि आ-आफ्नो श्रेष्ठता र विशेषता रहेको छ। त्यो निकै मूल्यवान छ। उनीहरुको जीवनमा रहेको एक महत्वपूर्ण अङ्ग बन्ने र उनीहरूका आमा बन्ने भन्ने कुरा मेरो जीवनभरि सबैभन्दा गौरवको कुरा नै हो।

जानकारी तथा लेखहरु
सुझाउ