फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्राचीन बस्ती ऊ चनको यात्रासम्बन्धी पहिलो भाग

(GMT+08:00) 2014-05-12 14:13:55

     ऊ चन भन्ने ठाउँ चीनको दक्षिणी भागमा पर्ने एउटा प्रसिद्ध बस्ती हो। त्यहाँ प्राचीन र परम्परागत वास्तु-शैली र हजारौं वर्ष लामो इतिहास बोकेकाले विश्वमा निकै प्रख्यात छ। स्थानीय सरकारले उचित संरक्षण र विकास गर्दै आएकाले ऊ चनको विशेषतायुक्त र रमणीय दृश्यलाई पूर्ण रुपमा देश र विदेशका पर्यटकहरुसमक्ष देखाएको छ।

     ऊ चन बस्ती चीनको च च्याङ्ग प्रान्तको थोङ्ग स्याङ्ग भन्ने ठाउँमा अवस्थित छ। गाडी चढेर च च्याङ्ग प्रान्तको सदर मुकाम हाङ्ग चौबाट उत्तरी भागतिर जाँदा एक घण्टाभन्दा बढी समयमा त्यहाँ पुग्नसकिन्छ। ऊ चन वस्तीको वरपर पानी बगिरहेको छ। पूर्वदेखि पश्चिमसम्म बग्ने पानी र दक्षिणदेखि उत्तरसम्म बग्ने दुईवटा नदीले समस्त ऊ चन बस्तीलाई पूर्वी, पश्चिमी, दक्षिणी र उत्तरी भागमा विभाजन गरेको छ।

     ऊ चनमा दक्षिणी चीनको विशेषतायुक्त वास्तु-शैली रहेको देखिन्छ। त्यहाँका सैयौं वर्षभन्दा लामो इतिहास बोकेका प्राचीन-वास्तुहरुलाई राम्रोसँग संरक्षण गरिएको छ। त्यहाँ पुगेपछि स्थानीय महिला पथ-प्रदर्शकले सर्वप्रथम पर्यटकका लागि त्यहाँका विशेषतायुक्त वास्तुबारे जानकारी दिने गरेका छन्। एक पथप्रदर्शक भन्छिन्:

     यी भवनहरु हाम्रो ऊ चनमा रहेका सबैभन्दा विशेषतायुक्त वास्तु अर्थात् स्वै क भन्ने भवन हुन्। चिनियाँ भाषामा स्वै भनेको पानी हो भने क भनेको भवन हो। यस किसिमको भवन हाम्रो ऊ चनमा मात्रै देख्न पाइन्छ। ती भवनहरुलाई "पानीमा निर्माण गरिएको चीनको अन्तिम स्थान" भनिन्छ। ती भवनहरुको इतिहास सैयौं वर्षको छ।

     ऊ चनमा बगिरहेको नदीका दुवै पट्टिमा त्यस्तै किसिमका प्राचीन भवनहरु जताततै देख्न पाइन्छन् जुन युगौंयुगदेखि नै ऊ चन बासीहरुको आबास भवन हुन्। त्यस्तो विशेषतायुक्त भवनमा बस्दा अनौठो र आनन्दको अनुभव गर्न सकिन्छ। झ्याल खोलेर बाहिर बगिरहेको स्वच्छ पानी र हिंडिरहेका बासिन्दाहरु देख्दा एउटा सुन्दर तस्वीर देखाइएको जस्तो अनुभूति हुन्छ।

     ऊ चन बस्तीको इतिहास हजारौं वर्ष भइसकेकाले अन्य प्रान्तका प्राचीन बस्तीको तुलनामा ऊ चनले आफ्नो अपेक्षाकृत पूर्ण र प्रशस्त रीतिरिवाजको अझ राम्रोसँग संरक्षण गर्दैआएको छ। ती रीतिरिवाज लामो समयसम्म रहंदैआएकाले ऊ चन बस्तीको मुख्य आकर्षण बनिसकेका छन्। त्यहाँका पुराना पुलहरु, बगिरहेको स्वच्छ पानी, र प्राचीन आबास भवनहरुमा गहिरो ऐतिहासिक र सांस्कृतिक वातावरण मौजुद छन्। ऊ चन बस्तीका जिम्मेवार व्यक्ति चाङ्ग चेन लिनले यसरी जानकारी दिँदै भन्नुभयो:

     यति लामो इतिहास बोकेको प्राचीन बस्तीको हैसियतले हाम्रो ऊ चनको आफ्नै विशेषता छ। हामीले परम्परागत संस्कृतिको संरक्षणका लागि अथक प्रयास गर्दैआएका छौं। मेरो विचारमा, ऊ चन बस्तीको विशेषतायुक्त संस्कृति देश र विदेशका पर्यटकलाई आकर्षण गर्ने सबैभन्दा महत्वपूर्ण चीज नै हो।

     ऊ चन बस्तीमा पर्यटकका लागि पूर्वी र पश्चिमी भाग मात्र खुला गरिएका छन्। तीमध्ये पूर्वी भाग पश्चिमी भागभन्दा अझअघि अर्थात् सन् 2001 देखि विश्वका पर्यटकहरुसमक्ष खुला भएका हुन्।

     पूर्वी भागमा मुख्यत: स्थानीय परम्परागत संस्कृतिको प्रचार-प्रसार गरिन्छ। त्यस भागमा केही साना परिधिका संग्रहालयहरु पनि छन्। तीमध्ये सैयौं पलङसम्बन्धी संग्रहालय, स्थानीय रीतिरिवाज संग्रहालय, काठद्बारा बनाइएका मूर्तिहरुको संग्रहालय र चीनका स्वर्गीय साहित्यकार माउ तुङ्गको निबास भवन संग्रहालय आदि हुन्। ती संग्रहालयहरु त्यति ठूला नभए तापनि सैयौं वर्षयता दक्षिणी चीनको विशेषतायुक्त इतिहासबारे पनि जानकारी दिन्छन्।

     पूर्वी भागमा रहेको सान पाई भन्ने मदिरा बनाइने घर र होङ्ग युआन थाई भन्ने कपडा रङ्गाउने घर पर्यटकका लागि अवलोकन गर्न लायक ठाउँ हुन्। सान पाई भन्ने मदिरा ऊ चन बस्तीको प्रसिद्ध मदिरा हो। त्यस मदिराको ज्यादै मीठो बास्ना रहेकाले विश्वमा निकै नामी छ। त्यहाँको मदिरा बनाइने घरमा पर्यटकले पेशागत कर्मचारीद्बारा मदिरा बनाइने रोचक प्रक्रियाको अवलोकन गरेको मात्र नभई भर्खरै बनाइएको ताजा र मीठो मदिरा पनि चाख्नसक्छन्।

     अर्को ठाउँ अर्थात् होङ्ग युआन थाई भन्ने कपडा रङ्गाउने घरले हालसम्म लगभग एक हजार वर्षको इतिहास बोकिसकेको छ। त्यस घरमा रङ्ग्याइएको एक किसिमको नीलो कपडा विश्वप्रख्यात छ। उक्त कपडा बनाइने सबै माल-सामान प्रदुषणरहित प्राकृतिक वस्तुहरु हुन्। कपडा रङ्ग्याउने घरअगाडि केही स-साना पसलहरु छन्। पर्यटकहरु ती पसलहरुमा गएर चिनोका रुपमा एकेक वटा नीलो कपडा किन्नसक्छन्।

     यसअतिरिक्त, ऊ चन बस्तीको पूर्वी भागमा अन्य धेरै ऐतिहासिक पर्यटकीय स्थलहरु छन्। जस्तै: स्यौ चन मन्दिर, प्राचीन चीनको थाङ्ग वंशका एकजना राजकुमारको निबास भवन, साँघुरो खाडी र स्वाङ्ग छ्याउ भन्ने प्राचीन पूल आदि छन्।

     चीनको ह नान प्रान्तबाट ऊ चन आएका एक युवा जोडी दम्पत्ति दुवै नै पूल छेउ बसेर आनन्दसँग आराम गरिरहेका छन्। उनीहरु खुशीसँग भन्छन्:

     हामी हिजो मात्र यहाँ आइपुगेका हौं। परिकल्पनाभन्दा यहाँको दृश्य झनै रमणीय छ! हामीले यहाँ तीन-चार दिनसम्म बस्ने योजना गरेका छौं। मेरा श्रीमानले भिडियो बनाउन खोज्नुभएकाले हामी यहाँ आएका हौं। पहिले हाम्रा साथीले यहाँको वातावरण निकै राम्रो छ भन्ने कुरा धेरैपटक हामीलाई बताइसकेका थिए।

जानकारी तथा लेखहरु
सुझाउ