फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रसंघमा तैनाथ नेपाली शान्ति सैनिकको संख्या 1 लाख 3 हजार नाघ्यो

(GMT+08:00) 2014-07-29 19:11:28

       हालसम्म नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघमा तैनाथ हुने शान्ति सैनिकको संख्या 1 लाख 3 हजार 7 सय 33 पुगेको छ। संयुक्त राष्ट्रसंघको आव्हानमा हाल शान्ति सेनामा योगदान गर्ने राष्ट्रको श्रेणीमा नेपाल पाँचौ स्थानमा रहेको छ। नेपाली सेना शान्ति स्थापना कार्यको लागि विभिन्न द्वन्द्वरत मुलुकहरुमा तैनाथ रही आफूलाई प्राप्त कार्यादेश कुशलतापूर्वक सम्पन्न गर्दै आएको सेनाले दाबी गरेको सेतोपाटी अनलाइनले लेखेको छ।

        नेपाली सेनाको एक टोली शान्ति स्थापनार्थ लागि सुडान प्रस्थान गरेको छ। शान्ति स्थापना कार्यको लागि संयुक्त राष्ट्रसंघको आव्हानमा टोली त्यसतर्फ गएको हो। अर्जुनवाण गणको बाँकी 500 शान्ति सैनिकहरु मध्ये साउन 4 गते 250 र आज बिहान 250 जना शान्ति सैनिकहरु त्यस तर्फ प्रस्थान गरेका हुन्।

        गत पौष 25 गते बसेको मन्त्रिपरिषद्को बैठकले दक्षिण सुडानमा थप 8 सय 50 शान्ति सैनिक खटाउने निर्णय गरेको थियो। त्यही निर्णय अनुसार टोली पठाइएको सेनाले जनाएको छ। सुडान जस्तो भौगोलिक, वातावरणीय र सुरक्षात्मक दृष्टिले निकै नै प्रतिकुल र चुनौतीपूर्ण परिस्थितीमा नेपाली सेनाले उल्लेखनीय रुपमा कार्य सम्पादन गर्दै आईरहेको छ।

        जसको राष्ट्रसंघबाट पनि प्रंसशा हुँदै आएको छ। मिशनको म्याण्डेट अनुसार सेनाले विशेषतः आम जनताको सुरक्षा, महिला तथा बालवालिकाहरुको सुरक्षा जस्ता महत्वपूर्ण जिम्मेवारीहरुलाई सम्हाल्दै आएको छ। नेपालबाट शान्ति सेनामा सहभागी भईरहेका शान्ति सैनिकहरुको कुल संख्या 4 हजार 3 सय 42 पुगेको छ। जसमध्ये साउथ सुडानमा मात्र महिलाहरुको संख्या 34 रहेको छ भने सबै मिशनहरुमा गरी जम्मा 86 जना महिलाहरु शान्ति सेनामा सहभागी रहेका छन्। महिलाहरुको सहभागितालाई भविष्यमा अझ बढाउने उद्देश्य नेपाली सेनाले लिएको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ