फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटकका लागि गन्तव्य बन्दै ठोरी-1

(GMT+08:00) 2015-05-07 16:28:31

      पर्सा जिल्लाको सदरमुकाम वीरगन्जजबाट सुदूरउत्तरमा पर्ने जिल्लाकै अन्तिम गाविस ठोरी वीरगन्जदेखि मात्रै करिब 68 किलोमिटरको दूरी र समुद्री सतहदेखि करिब 195 मिटरको उचाइमा रहेको ठोरीमा पछिल्ला दिनमा पर्यटकको चलहपहल बढेको छ।

      विसं 2050 अघिसम्म चितवन, गोरखा, धादिङ लगायतका बासिन्दा नुन लिन भारतीय भूमिमा जान यही गाविस हुँदै आउने गरेको स्थानीय अग्रज आशबहादुर गुरुङको अनुभव रहेको छ। अहिलेको जस्तो यातायातको सुविधा नभएको र पैदल यात्राका लागि यो बाटो छोटो पर्ने भएकाले पनि नुन लिन आउनेको ओइरो लाग्ने गरेको गुरुङको भनाइ छ।

      ठोरी गाविसलाई पूर्वमा पर्सा वन्यजन्तु आरक्ष, पश्चिम र उत्तरमा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणमा शोमेश्वर डाँडाले घेरेको छ। गाविससँगै चितवन राष्ट्रिय निकुञ्ज जोडिएका कारण पनि संसारमै दुर्लभ मानिने संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडा र पाटेबाघको विशेष रुपमा अवलोकन गर्न सकिन्छ भने हात्ती, भालु, चितुवा, हरिण, मृगलगायतका वन्यजन्तु समेत देख्न सकिन्छ।

       वरिपरि डाँडाले घेरेको उपत्यकाजस्तो भूमि तराई क्षेत्रमा नपाइने भए तापनि पर्साको ठोरी गाविस यसको अपवादमा देखिन्छ। यो मात्रै एउटा गाविस हो जुन तराई क्षेत्रमै वरिपरि डाँडाले घेरिएको उपत्यका जस्तै छ। वरिपरि नै डाँडाले घेरेका कारण ठोरी भएर बग्ने खोला पनि एकै स्थानबाट मात्रै भारत प्रवेश गर्ने गर्छन्।

       शोमेश्वर डाँडाले दक्षिणबाट भारतीय सीमा छुट्याएकाले सोही डाँडा छुट्टिएको स्थान गाविसको टाउन प्लान क्षेत्रबाट मात्रै नेपालका खोलानाला भारतीय भूमि भिखना ठोरी हुँदै भारत भित्रिने गर्छन्। ठोरीको वडा नम्बर 1 मा कृष्णमन्दिर, 3 मा दुर्गामन्दिर र विक्रमबाबा, 7 मा वनशक्ति माताको मन्दिर रहेको छ।

       यसैगरी गाविसको वडा नम्बर 2 मा निकै अग्लो पहाड रहेको छ, जसलाई सिनै पर्वत पनि भन्ने गरिएको छ। जुन स्वयम् भ्युटावर जस्तै अग्लो रहेको त्यहाँ पुगेर फर्कनेको अनुभव रहेको छ। त्यहाँबाट गाविसको पूरै बस्ती र भारतको भिखना ठोरी, नरकटियागन्ज, गौनाहा लगायतको बस्ती देखिनुका साथै मकवानपुरको मनहरीसम्मका बस्ती अवलोकन गर्न सकिने स्थानीय पत्रकार प्रेम लामाको अनुभव रहेको छ।

       यसैगरी गाविसमा स्थानीय बासिन्दाकै एकल प्रयासबाट लघुजलविद्युत् उत्पादन गरिएको छ भने चारवटा पानी मिलसमेत सञ्चालन गरिँदै आएको छ। लघुजलविद्युत्बाट उत्पादन गरिएको विद्युत् गाविस–6, 7 र 8 का केही बासिन्दाले अहिले उपभोग गर्दै आइरहेका छन् भने अन्य वडामा समेत पुर्‍याइने योजनासमेत रहेको छ। सहरबजारमा बस्ने जनताले विद्युत्भार कटौतीको मार खेपिरहेका बेला ठोरीका बासिन्दा भने लघुजलविद्युत्बाट उत्पादित बिजुली प्रयोग गरी विद्युत्भार कटौती मुक्त बनेका छन्।

जानकारी तथा लेखहरु