फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटकका लागि गन्तव्य बन्दै ठोरी-2

(GMT+08:00) 2014-08-14 08:38:48

        यसैगरी गाविसमा स्थानीय बासिन्दाकै एकल प्रयासबाट लघुजलविद्युत् उत्पादन गरिएको छ भने चारवटा पानी मिलसमेत सञ्चालन गरिँदै आएको छ। लघुजलविद्युत्बाट उत्पादन गरिएको विद्युत् गाविस–6, 7 र 8 का केही बासिन्दाले अहिले उपभोग गर्दै आइरहेका छन् भने अन्य वडामा समेत पुर्‍याइने योजनासमेत रहेको छ। सहरबजारमा बस्ने जनताले विद्युत्भार कटौतीको मार खेपिरहेका बेला ठोरीका बासिन्दा भने लघुजलविद्युत्बाट उत्पादित बिजुली प्रयोग गरी विद्युत्भार कटौती मुक्त बनेका छन्।

         विद्युत् नपुगेका गाविसका अन्य वडाका अधिकांश बासिन्दाले सौर्य ऊर्जा (सोलार)को उपभोग गरी विद्युत्भार कटौतीको मारबाट बचेका छन्। हरियाली वातावरण शीतल हावा र चराचुरुङ्गीको चिरविराहटले मनै लोभ्याउने पर्साको एक मात्रै प्राकृतिक दृष्टिकोणले धनी, गाविस ठोरीलाई जिल्लामै पर्यटकीय गन्तव्यको मुख्य क्षेत्र बनाउने पहल भने अझै हुन सकेको छैन।

         ठोरीमा रहेको प्राकृतिक दृश्य अवलोकन र भ्रमण गर्न अहिले पनि भारतका विभिन्न स्थानबाट पर्यटक आउने गरेका छन्। प्रचारप्रसारबिना नै अहिले दैनिक सयौँको सङ्ख्यामा भारतीय पर्यटक आइरहेका छन् भने आन्तरिक पर्यटक पनि आउने गरेको स्थानीय सुरेश पन्तले बताउनुभयो।

         आवश्यक योजना बनाएर ठोरीलाई पर्यटकीय गन्तव्यको क्षेत्र बनाउनसके स्थानीय बासिन्दाको आम्दानीको स्रोत बढ्नुका साथै जीवनशैली नै परिवर्तन भएर ठोरीको नाम अझै सबैतिर प्रचार हुने पन्तको भनाइ छ।

         मुलुकका विभिन्न ठाउमा व्यापारिक केन्द्र नरहेका कतिपय स्थानमा पर्यटकीय व्यवसायले मात्रै पनि त्यस क्षेत्रको कायापलट गरेको सन्दर्भमा ठोरी आफैँमा एक पर्यटकीय क्षेत्र रहेको र मुलुककै व्यापारिक केन्द्र आफैँनै जिल्लामा रहेको यस परिस्थितिमा ठोरीले चाहेमा चाँडै नै फड्को मारी विकासको चरमोत्कर्षमा पुग्न सक्ने सम्भावना व्यापक रहेको छ। तर ठोरीलाई पर्यटकीय गन्तव्य बनाउन ठोरीमा क्रियाशील राजनीतिक दलका नेतृत्वकर्ताहरुको भूमिका सक्रिय हुनुपर्नेमा स्थानीयले जोड दिएका छन्।

         यसैगरी ठोरी गाविस–7 मा अहिले लौहपुरुष गणेशमान सिंह श्रेष्ठको सालिक बनाइँदैछ भने दुईवटा झोलुङ्गे पनि ठोरीमा बनेको छ। वडा नम्बर 7 मा नै पर्यटन मन्त्रालयले रु. पाँच लाखको लागतमा अमृत धारणालाई व्यवस्थित बनाइदिएको छ। यिनै कारणले ठोरीमा पछिल्ला दिनमा पर्यटक बढेको स्थानीय शिक्षक प्रेम लामाले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ