फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा 6 सय 22 अर्ब रुपैयाँ

(GMT+08:00) 2014-08-14 16:47:57

        गत आर्थिक वर्ष (2070/71) मा नेपालको कुल व्यापार घाटा 19 प्रतिशतले वृद्धि भई 6 खर्ब 22 अर्ब 55 करोड रुपैयाँ पुगेको छ। सोही आर्थिक वर्षको बजेटभन्दा व्यापार घाटा 20 प्रतिशत बढी हो।

        कारोबार अनलाइनका अनुसार गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थ, सवारी साधन, फलामजन्य वस्तु, खाद्यान्न, तेल र औषधि आयातमा उच्च वृद्धि भएको छ भने ऊर्जा अभाव, श्रम समस्या र राजनीतिक अस्थिरताले लगानी सीमित छ। रेमिट्यान्स उच्च वृद्धिले विलासी वस्तुको माग बढेको छ।

        बढी निर्यात हुने तयारी पोसाक, पस्मिना, गलैंचा र फलामजन्य वस्तुको कच्चा पदार्थ विदेशबाटै आयात हुन्छ, यही कारण पनि नेपालको व्यापार घाटा झन् चुलिँदै गएको हो।

        भन्सार विभागका अनुसार गत आवमा 7 खर्ब 22 अर्ब 26 करोड रुपैयाँको आयात भएकोमा 99 अर्ब 71 करोड रुपैयाँको मात्र निर्यात भएको छ। गत आर्थिक वर्षमा आयात 19 प्रतिशत र निर्यात 29 प्रतिशतले वृद्धि भएको छ। आव 2067/68 मा 3 खर्ब 33 अर्ब, 2068/69 मा 4 खर्ब 24 अर्ब र 2069/70 मा 5 खर्ब 23 अर्ब करोड व्यापार घाटा भएको थियो।

       विभागका उपमहानिर्देशक दमोदार रेग्मीका अनुसार गत वर्षको व्यापार तथ्यांकले नेपालीहरूमा विलासी वस्तु उपभोग संस्कृति बढ्दो रहेको देखाएको छ। "रेमिटेन्सका कारण हरेक परिवारको जीवनस्तर वा आम्दानी बढेको छ," उहाँले भन्नुभयो, "जीवनस्तर बढेपछि मोटरसाइकल, विद्युतीय सामग्री र कमेस्टिक वस्तुको उपभोग गर्ने क्रम बढ्दो छ।" 56 प्रतिशत घरधुरीमा रेमिट्यान्स आउँछ। गत आर्थिक वर्षमा मात्र 5 लाख 27 हजार युवा कामका लागि बिदेसिएका छन्।

        गत आर्थिक वर्षमा कुल निर्यातले मागको 66 प्रतिशत पेट्रोलियम पदार्थ आयात धान्न सक्ने देखिन्छ। पेट्रोलियम पदार्थको आयात 34 प्रतिशतले वृद्धि भएर 1 खर्ब 49 अर्ब 82 करोड रुपैयाँ पुगेको छ। यो कुल आयातको करिब 21 प्रतिशत हिस्सा हो। पेट्रोलियमबाट 23 अर्ब भन्सार महसुल असुल भएको छ।

        फलाम तथा स्टिलजन्य वस्तुको आयात 2 प्रतिशतले वृद्धि भई 5 अर्ब 80 करोड पुगेको छ। कृषि प्रधान देश नेपालमा खाद्यान्न आयात 35 प्रतिशत वृद्धि भएको छ। गत आर्थिक वर्षमा 27 अर्ब 65 करोड रुपैयाँको खाद्यान्न आायात भएको विभागको तथ्यांकमा छ। बढी आयात हुने 10 वस्तुको हिस्सा कुल आयातमा 65.87 प्रतिशत छ।

        फलाम 8 अर्ब 25 करोड, गलैंचा 7 अर्ब 50 करोड, कफी 6 अर्ब 60 करोड र तयारी पोसाक 6 अर्ब 40 करोडको निर्यात भएको छ। निर्यातको पहिलो नम्बरको फलामभन्दा आयातको पहिलो पेट्रोलियम करिब 18 गुणा बढी छ।

        फलाम तथा स्टिल तथा ठूल्ठूला मेसिनरी समाग्री आयात बढी हुनुमा नेपाल औद्योगीकरणतर्फ गइरहेको संकेत देखिएको उपमहानिर्देशक रेग्मी बताउनुहुन्छ। "ऊर्जा अभावमा उद्योगमा पेट्रोलियम पदार्थ बढी खपत भएको छ," उहाँले भन्नुभयो, "सडक खन्ने काममा पेट्रोलियम पदार्थ प्रयोग भइरहेको छ, यो सकारात्मक छ, यसले विकासको गति बढाइरहेको छ।" उहाँका अनुसार आयातका आधारमा निर्यात उत्साहजनक छैन तर देशको अवस्था हेर्दा राम्रै मान्नुपर्छ।

         वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसचिव पुरुषोत्तम ओझा विलासी तथा उपभोग्य वस्तुको आयात वृद्धिको तुलनामा निर्यात न्यून रहेकाले व्यापार घाटा बढेको बताउनुहुन्छ। "आयातमा ठूलो हिस्सा लिएको सवारी साधन, पेट्रोलियम पदार्थ, सुन, कस्मेटिकले उत्पादन र रोजगारी सिर्जना हुँदैन," उहाँले भन्नुभयो।

 

जानकारी तथा लेखहरु
सुझाउ