फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रहित विपरीत भारतसँग कुनै सम्झौता नगर्ने प्रधानमन्त्री कोइरालाको भनाइ

(GMT+08:00) 2014-08-22 18:17:34

             प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रहित विपरीत भारतसँग कुनै सम्झौता नगर्ने बताउनुभएको छ।

           भारतसँगको विद्युत् व्यापार सम्झौता र माथिल्लो कर्णालीको आयोजना विकास सम्झौता हतारमा हस्ताक्षर नगर्न माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा गएको नेकपा–माओवादीसहित 10 दलका नेताहरूको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री कोइरालाले सो कुरा बताउनुभएको गोरखापत्र अनलाईनले लेखेको छ।

             ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले नेपाललाई तल पारेर कुनै सम्झौता नहुनेमा आश्वस्त पार्दै आफूले राष्ट्रियतामा आँच आउन नदिने स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

              प्रधानमन्त्री कोइरालाले प्रतिनिधिमण्डललाई भारतको हिजो र अहिलेको अवस्थामा परिवर्तन आएकाले सधैँ शङ्काको दृष्टिकोणले नहेर्न आग्रह गर्नुभयो।

             हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुषमा स्वराजले नेपाल भ्रमणका क्रममा आफ्ना छिमेकी राष्ट्रसँग समानता र सार्वभौमिकताको आधारमा सम्बन्ध विकसित गर्न चाहेको तथा थिचोमिचोमा पारेर लेनदेन गर्न नचाहेको कुरा आफूसँग राखेको प्रधानमन्त्रीले जानकारी दिनुभयो।

              प्रधानमन्त्री कोइरालाले मलेसियाका पूर्व प्रधानमन्त्री डा. महाथिर मोहम्मदले नेपाल भ्रमणको क्रममा आफूसँगको भेटमा मलेसियाको विकासको आधार विदेशी लगानी रहेको स्मरण गराउँदै नेपालमा विदेशी लगानी आउँदा नतर्सन प्रतिनिधिमण्डललाई आग्रह गर्नुभयो।

              बाढी र पहिरो पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रतिपक्षी दलहरूले देखाएको संवेदनशीलताले देश र जनताको भविष्यप्रति आफूलाई झनै आशावादी बनाएको प्रधानमन्त्री कोइरालाले बताउनुभयो।

              तीनबुँदे ज्ञापनपत्रमा भारतसँग सम्झौता गर्नुपरे सर्वदलीय सहमति कायम गरेर मात्रै गर्र्नुपर्ने, आन्तरिक आपूर्तिमुखी विद्युत् परियोजना निर्माण राज्यले मात्रै गर्नुपर्ने, निजी क्षेत्रले विद्युत् निकाल्दा चिलिमे र माथिल्लो तामाकोसी नमुनाअनुसार बनाउनुपर्ने उल्लेख छ।

जानकारी तथा लेखहरु
सुझाउ