फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एकसय चिनियाँ स्वयंसेवक शिक्षक नेपाल आउने

(GMT+08:00) 2014-09-30 17:28:42

       चीन सरकारले नेपालका विद्यालयमा आफ्नो भाषा, कला र सङ्गीतजस्ता विषय पढाउने गरी चालु आर्थिक वर्षमा एक सय स्वयंसेवक शिक्षक उपलब्ध गराउने भएको छ। यसअघि अनौपचारिक र गैह्रसरकारीस्तरमा विभिन्न विद्यालय र शैक्षिक प्रतिष्ठानमा चिनियाँ भाषा शिक्षण भइरहेकामा त्यसलाई औपचारिकस्तरमा विस्तार गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा सोमबार हस्ताक्षर भएको अनलाइनखबरले लेखेको छ।

       शिक्षा मन्त्रालयमा शिक्षामन्त्री चित्रलेखा यादवको उपस्थितिमा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डित र नेपालका लागि चिनियाँ राजदूत ऊ छिन्थाइले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्। चीनले पछिल्ला समयमा आफ्नो नीति, भाषा र संस्कृतिबारे छिमेकी र एसियाली मुलुकका विभिन्न तहका व्यक्तिलाई जानकारी गराउने र त्यसमा उत्पन्न अन्योल तथा अस्पष्टतालाई हटाई सुमधुर सम्बन्ध विकासका लागि नयाँ रणनीति, सहयोग र कार्यक्रम अघि सार्दै आएको छ।

       मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालका अनुसार पर्यटन प्रवेशाज्ञामा आउने ती स्वयंसेवकलाई मागका आधारमा सामुदायिक र संस्थागत दुवै विद्यालयमा खटाउन सकिनेछ । यसवापत् नेपाल सरकारलाई थप आर्थिक भार पर्ने छैन । नेपाल र छिमेकी चीनबीच सांस्कृतिक सम्बन्ध भएपनि विश्वव्यापी प्रभाव बन्दै गएको चिनियाँ भाषा र संस्कृतिबारे नेपाली विद्यार्थीले औपचारिक जानकारी पाएमा भविष्यमा उनीहरूको चौतर्फी व्यक्तित्व विकासमा सहयोग पुग्ने आशा सरकारले गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ