फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष नेपाल आउन इच्छुक

(GMT+08:00) 2014-09-30 17:31:44

         चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ नेपाल-चीन कूटनीतिक सम्बन्धको 60 औं वर्षगाँठ पारेर सन् 2015 भित्रै नेपाल भ्रमण निम्ति इच्छुक देखिएका छन्। संयुक्त राष्ट्रसंघको 69 औं महासभामा सहभागी परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र समकक्षी वाङ यीबीच शनिबार भएको भेटवार्तामा चिनियाँ पक्षले यस्तो जानकारी गराएको कान्तिपुर अनलाइनले लेखेको छ।

        दुईपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन भ्रमण महत्त्वपूर्ण र विशेष होस् भन्ने चाहना अनुरुप चिनियाँ राष्ट्राध्यक्षले नेपाल भ्रमण गर्ने सम्भावना बलियो भएको मन्त्री पाण्डेले बताएका छन्। मन्त्री पाण्डे र चिनियाँ समकक्षीबीचको यो पहिलो भेट हो।

        सन् 1996 डिसेम्बरमा तत्कालीन राष्ट्राध्यक्ष च्याङ चमिनले भ्रमण गरेयता अर्का राष्ट्रपति नेपाल पुगेका छैनन्। नेपाललाई नजिकबाट बुझेका भनी चिनिएका निवर्तमान राष्ट्राध्यक्ष हु जिन्ताओलाई 10 वर्षे लामो कार्यकालमा समेत भ्रमणको अवसर जुरेन। चमिनअघि सन् 1984 मार्च 19 देखि 21 सम्म तत्कालीन राष्ट्राध्यक्ष ली च्यानिनले नेपाल भ्रमण गरेका थिए। सन् 2012 जनवरीमा चिनियाँ प्रधानमन्त्री वन च्यापाओले नेपाल भ्रमण गरेका थिए।

        चिनियाँ समाचार एजेन्सी सिन्हाले 60 औं वर्षगाँठलाई विशेष बनाउन दुवै मुलुक सहमत भएको उल्लेख गरेको छ। चीनले यसलाई एउटा अवसरका रूपमा लिनेछ, मन्त्रीको वाङको भनाइ उद्धृत गर्दै सिन्हाले लेखेको छ, 'दुई मुलुकको सम्बन्ध अझ प्रगाढ र नयाँ उचाइमा पुर्‍याउन उच्चस्तरीय अन्तक्रिर्या, गहिरो व्यावहारिक सहयोग, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तार गर्न चीन व्यापक सहकार्य र साझेदारी चाहन्छ।'

        नेपाल-चीनबीच सन् 1955 अगस्ट 1 मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। हालै राष्ट्रपति सीले तीन दक्षिण एसियाली मुलुक भारत, श्रीलंका र माल्दिभ्सको भ्रमण गरेका थिए। चिनियाँ विदेश मन्त्रालयद्वारा सीको भ्रमणपछि आयोजित बिफ्रिङ्गमा आउँदो वर्ष बाँकी दक्षिण एसियाली मुलुकहरू भ्रमण योजनामा रहेको बताइएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।

        दुई मन्त्रीबीचको भेटवार्ता नेपाल-चीन व्यापारका लागि यथासक्य छिटो वैकल्पिक मार्ग खोल्नुपर्ने विषयमा समेत केन्द्रित थियो। मन्त्री वाङले नेपाल र चीन हिमाल र पानीबाट साइनो गाँसिएका मित्रवत छिमेकी भएको पनि बताए।

जानकारी तथा लेखहरु
सुझाउ