फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा सार्वजनिक सवारीको आयु 20 वर्ष

(GMT+08:00) 2014-10-19 18:14:39

        पुराना गाडी व्यवस्थापनमा समस्या देखिएपछि नेपाल सरकारले सार्वजनिक सवारीको आयु 20 वर्ष तोकेको छ। हिजो शनिबारदेखि लागू हुने गरी यो व्यवस्था लागू गरिएको हो। 1 दशकअघिदेखि नै 20 वर्षे गाडी व्यवस्थापनको कुरा उठ्दै आए पनि व्यवसायीको अवरोधका कारण लागू हुन सकेको थिएन। त्यतिबेलै सरकारले आयु तोक्ने तयारी गरेको कारोबार अनलाइनले लेखेको छ।

        सवारी चाप हुने काठमाडौंजस्ता सहरमा पुराना गाडीले फाल्ने धूवाँकै कारण हानिकारक रोग निम्तिएका छन्। "मानिसले बढ्दो उमेरमा सबैखाले खानेकुरा पूर्ण रूपमा पचाउन नसकेझैं पुराना सवारीले पनि तेल पचाउन नसक्ने भएकाले प्रदूषण हुन्छ," यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक शरद अधिकारी भन्नुहुन्छ, "उपत्यकामा प्रदूषण अत्यधिक बढेकाले पुराना गाडी व्यवस्थापन अनिवार्य भइसकेको थियो।" उपत्यकाको भौगोलिक बनावट झन्डै कचौराको आकारमा भएकाले यहाँ उडेको धुवाँधुलो पनि बाहिर जाने सम्भावना कम हुने उहाँले बताउनुभयो।

        विभागका अनुसार कात्तिक 1 देखि दर्ता हुने नयाँ सवारी साधनको आयु 20 वर्ष हुने प्रष्ट रूपमा उल्लेख गरिनेछ। सार्वजनिक सवारीको ब्लुबुक (सवारी दर्ता किताब)मै आयु लेखिनेछ। 20 वर्षपछि सवारी स्वतः स्क्र्यापमा लगिनेछ। त्यसपछि पुराना गाडी व्यवस्थापनमा अहिलेजस्तो समस्या रहनेछैन। अधिकारीका अनुसार 20 वर्ष पुराना सवारीको संख्या 10 हजार रहेको अनुमान छ।

        यातायात व्यवसायीले पनि सरकारको यो निर्णय स्वागतयोग्य भएको बताएका छन्। नयाँ नियम कार्यान्वयनमा कुनै समस्या नआउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष डोलनाथ खनालले बताउनुभयो। "सरकारले 2057 मै आयु तोक्ने भने पनि हुन सकेको थिएन, ढिलै सही– अहिले त्यो निर्णय हुनु सकारात्मक कुरा हो," उहाँले भन्नुभयो, "ब्लुबुकमै सवारीको आयु उल्लेख गर्न समस्या छैन। यसले व्यवसायीलाई समेत त्यसपछिको योजना बनाउन सहयोग पुग्नेछ।"

        सरकारले यसअघि पहिचान गरेका 20 वर्ष पुराना सार्वजनिक यातायात (बस तथा ट्रक) व्यवस्थापनका लागि तत्काल प्रक्रिया थालिने प्रविधिक निर्देशक अधिकारीले बताउनुभयो। उहाँका अनुसार 20 वर्षे सवारी व्यवस्थापनमा भदौ 26 को मन्त्रिपरिषद् बैठकले बाटो खोलिदिएको हो। अबका दिनमा यस्ता समस्या नदोहोरिने र काठमाडौंको प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने विश्वास उहाँको छ।

        विभागले यसअघि 20 वर्ष पुराना सवारीलाई प्रदूषण जाँचपासको हरियो स्टिकर दिन रोक लगाएको थियो। हरियो स्टिकर नभएका सवारीलाई सिंहदरबार प्रवेश निषेध गरिएको छ।

        यस्ता गाडी व्यवस्थापनका लागि विभागले छिट्टै 21 दिने सूचना जारी गर्नेछ। सबै प्रक्रिया पूरा गरी 2 वर्षभित्र 20 वर्ष पुराना गाडी स्क्र्याप गरिसक्ने योजना रहेको अधिकारीले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ