फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिहारका लागि भारतबाट साढे दुई लाख माला ल्याइने

(GMT+08:00) 2014-10-20 19:05:53

        नेपालीहरुको दोस्रो ठूलो चाड तिहारका लागि भारतबाट सयपत्री फूलका साढे 2 लाख माला ल्याइने भएको छ। करिब 1 करोड थुँगाबाट बनेका सो परिणाम बराबरका माला भित्र्याउन लागिएको नेपाल फ्लोरिकल्चर्स एसोसिएसन (फ्यान) का उपाध्यक्ष कुमार कसजूले बताउनु भएको अनलाइन खबरले लेखेको छ।

         कसजूका अनुसार एउटा मालाका लागि 40 थुँगा फूल आवश्यक पर्छ। मागअनुसार स्वदेशमा सयपत्री फूलको उत्पादन नभएपछि भारतबाट आयात गर्नुपर्ने बाध्यता भएको कसजुले बताउनुभयो। प्राकृतिक प्रकोप र डढुवा रोगका कारण स्वदेशी फुल उत्पादनमा कमी आएको हो।

          आन्तरिक उत्पादनमा कमी आएको र भारतमा आएको हुदहुद आँधीका कारण उत्पानदमा ह्रास आएकाले यो वर्ष फूलको मूल्य बढ्ने उहाँको भनाइ छ। 'यो वर्ष एउटा मालाको 50 देखि 60 रुपैयाँ पर्नेछ' उहाँले भन्नुभयो -गत वर्ष प्रतिमाला 40 देखि 50 रुपैयाँ पर्दथ्यो।

          फूलका सामग्रीको मूल्य प्रत्येक वर्ष घटाउँदै लैजाने फ्यानको योजना भएपनि कारणबस यो वर्ष मुल्य बढ्ने उहाँले बताउनुभयो। अन्य वर्षको भन्दा यो वर्ष तिहार छिट्टै आएकाले भर्खर कोपिलामात्रै लागेको उहाँको भनाइ छ। 'अहिले बल्ल कोपिला लाग्न सुरु गरेको छ, समयमा फूल फुल्ने अवस्था छैन' कसजूले भन्नुभयो -आयात गर्नुको विकल्प छैन।

          स्वदेशी दुई करोड 80 लाख सयपत्रीका थुँगाबाट निर्मित 7 लाख माला स्वदेशमै निर्माण गरिने उहाँले जानकारी दिनुभयो। भारतबाट साढे दुई लाख माला ल्याइने छ।

        'यो तिहारमा देशभर 9 देखि 10 लाख मालाको खपत हुन्छ' उहाँले भन्नुभयो। काठमाडौंमा मात्रै 6 देखि 7 लाख माला खपत हुने उहाँले बताउनुभयो। नेपाली बजारमा प्रत्येक वर्ष 15 प्रतिशतले फूलका मालाको माग बढ्दै गएको कसजुले बताउनुभयो।

          सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ, दोलखा, चितवन, धनुषा, भक्तपुर, ललितपुर, काठमाडौंलगायतका स्थानमा सयपत्री फूलको व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ। नेपालको 35 जिल्लामा 6 सय 50 पुष्प फर्म तथा नर्सरीबाट 1 सय 10 हेक्टर क्षेत्रफलमा पुष्पको खेती हुँदै आएको छ। यो व्यवसायबाट 41 हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन।

          गत आर्थिक बर्ष 2070 को चैतसम्ममा भारतलगायत अन्य मुलुकबाट गरी 3 करोड 69 लाख रूपैयाँ बराबरको फूल आयात भएको थियो भने 4 करोड रूपैयाँ बराबरको निर्यात गरिएको थियो।

 

जानकारी तथा लेखहरु
सुझाउ