फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा सार्क शिखर सम्मेलनको तयारी तीब्र गतिमा

(GMT+08:00) 2014-10-24 19:08:49

       नेपाल सरकारले नजिकिँदै गरेको 18औँ सार्क शिखर सम्मेलनमा काठमाडौँ उपत्यकाभित्र प्रयोग हुने विभिन्न सडकहरुको सुधार, मर्मत सम्भारको कामलाई तीव्रता दिएको छ। सार्कअन्तर्गतको भौतिक पूर्वाधार समिति मातहतका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयले पूर्वाधार निर्माण र व्यवस्थापनको कार्यलाई तीव्र गतिकासाथ अघि बढाएको राष्ट्रिय समाचार समितिले लेखेको छ। सार्कलाई लक्षित उपत्यकाभित्रका विभिन्न मुख्य सडक तथा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग एवम् ग्यालेरी बैठक, सिंहदरबारको मर्मत–सुधारको काम भइरहेको छ।

         सार्कका बेला बढी प्रयोग हुने सडकमा सार्क राष्ट्र (आठ देशका प्रमुख)हरु बस्ने सोल्टी होटल पुग्ने त्रिपुरेश्वरदेखि होटलसम्मको सडक र दोस्रो दर्जाका सार्कस्तरीय मन्त्रीहरु बस्ने बौद्धस्थित हायात होटलसम्मको सडक चिल्लो बनाउने काम भइरहेको छ। यस्तै सार्कका लागि महत्वपूर्ण (सार्क सम्मेलन कक्ष) राष्ट्रिय सभागृहको भौतिक संरचना निर्माणको काम द्रुतगतिमा अघि बढिरहेको छ। सभागृहको मर्मत सम्भारको जिम्मा लिएको भवन विभागले कात्तिक 25 गतेभित्र सबै काम सक्ने जनाएको छ।

        भवन विभागका भवन निर्माण तथा सम्भार डिभिजन प्रमुख तपेन्द्रबहादुर खड्काले विद्युत् कटौतिले काममा केही अवरोध सिर्जना भएको भए तापनि लक्षित समयमै काम पूरा गरी कात्तिक 30 गतेभित्रै पूर्व अभ्यास हुने जानकारी दिनुभयो। सार्कलाई लक्षित गरी ललितपुरमा वाग्मती पुलदेखि जावलाखेलसम्म सडक ओभरलेको काम भइरहेको छ भने भक्तपुरमा सडक पेटी रङ्गाउने, चर्चित धार्मिक स्थल डोलेश्वर महादेव र पाइलटबाबा आश्रमसम्मको सडक मर्मत र सुधारको काम अघि बढाइएको छ। डिभिजन सडक कार्यालय ललितपुरका प्रमुख अशोक तिवारीले कात्तिक मसान्तसम्म सबै मर्मत र सुधारका काम सकिने बताउनुभयो।

         मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयको विवरणअनुसार सार्क शिखर सम्मेलन आउन 35 दिन बाँकी रहँदा सार्क लक्षित सडक सुधारका काम करिब 10 प्रतिशतमात्र भएको छ, सडकबाहेक अन्य निकायले गर्ने काम भने अन्तिम चरणमा पुगेको छ। सार्क लक्षित गरेर उपत्यकामा 50 किलोमिटर ओभरले गरिनुपर्नेमा हालसम्म पाँच किलोमिटरमात्र सकिएको छ, 45 किलोमिटर बाँकी छ, जुन करिब पाँच इन्च कालोपत्र गर्नुपर्ने हुन्छ। निर्माण सामग्री उत्पादन र खपतमा समस्या भइरहेको छ।

          एक महिनाअघि सुरु भएको काम कात्तिक 25 भित्र सक्नुपर्ने छ। फुटपाथ र बिजुली पानी नालालगायत व्यवस्थापनका काम करिब सकिन लागेको छ। त्यसैगरी अर्को महत्वपूर्ण 80 किलोमिटर सडक रोड मार्किङ सडक लेन छुट्याउने काम गर्नुपर्ने छ। सार्कलाई मध्यनजर गरी सडक मर्मत सुधार सम्भारका लागि रु 85 करोड बजेट विनियोजन गरिएको छ। उक्त बजेट सडकको नियमित बजेट कार्यक्रमको हो।

          नेपाल टेलिकमले सार्कका बेला उपत्यकामा जताततैबाट नेटवर्क चल्ने गरी सञ्चारलाई प्रभावकारी बनाउन टावर राख्ने काम अन्तिम चरणमा पुर्‍याएको जनाएको छ। सार्कका लागि सिंहदरबारको ग्यालरी बैठक कक्षको मर्मत सुधारको काम धमाधम भइरहेको छ। त्यहाँ सरकारको तर्फबाट सार्कका राष्ट्र प्रमुखका लागि दिवाभोज(लन्च) र रात्रीभोज( डिनर) आयोजना गरिँदैछ। सहरी विकास मन्त्रालयअन्तर्गत भवन विभागले ग्यालरी बैठक कक्षसहित राष्ट्रिय सभागृहको काम जिम्मेवारी लिएको छ। अहिले सबैभन्दा बढी चासो र चिन्ताको विषय सभागृहको भएकाले यसलाई प्राथमिकताका साथ काम अघि बढाइएको सम्बन्धित पदाधिकारीको भनाइ छ।

          सार्क निजिकिएको र सम्बन्धित निकायले काममा गम्भीरता नदेखाएकाले केही विलम्ब भइरहेको कार्यलाई तीव्र गतिकासाथ प्रभावकारी रुपमा अघि बढाउन मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयले सम्बन्धित निकाय र पदाधिकारीलाई निर्देशन दिइसकेको छ। सार्क राष्ट्रका पाहुनाको सवारी पार्किङका लागि सार्क सम्मेलन कक्ष सभागृह पछाडिको सार्वजनिक बसपार्क एक साता अघिदेखि नै खाली गरिने भएको छ। त्यसैगरी सभागृह वरपरको सुरक्षालाई मध्यनजर गर्दै माइक्रोबस बिसौनीलाई पनि हटाएर अन्यत्रै व्यवस्था गरिने जनाइएको छ।

          सार्कलाई लक्षित गरी अन्तर्राष्ट्रिस्तरको मापदण्ड अनुरुप सडक लेन छुट्याइने छ। एसियाली सडक सञ्जालअनुसार सङ्केत पनि हुनुपर्ने मापदण्ड कायम गरिएको छ। सार्कका राष्ट्र प्रमुखलाई एकदिन आरामका लागि धुलिखेलस्थित एक होटलमा राखिने भएको छ। त्यहाँ पुग्नका लागि हेलिकोप्टरको व्यवस्था गरिएको छ, जुन सम्बन्धित निकायबाट परीक्षण पनि भइसकेको छ।

          सार्क भौतिक पूर्वाधार समितिका संयोजकसमेत रहनुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि एवम् सरोकारवाला निकायका प्रमुखले सम्मेलनका लागि भइरहेको उपत्यकाभित्रका विभिन्न सडक, सार्क राष्ट्र प्रमुख बस्ने होटल तथा प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र सिंहदरबारस्थित ग्यालेरी बैठकको मर्मत सुधार कार्यको स्थलगत निरीक्षण गर्नुभएको छ।

          मन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयका सचिव, भवन विभागका महानिर्देशक, सिंहदरबार पुनःनिर्माण समितिका प्रमुख, काठमाडौँ उपत्यका विस्तार आयोजना प्रमुख काठमाडौँकै 1 र 2 डिभिजन कार्यालय र ललितपुर र भक्तपुरका डिभिजन प्रमुखको सहभागिता थियो। सो अवसरमा मन्त्री निधिले सार्क लक्षित पूर्वाधार निर्माणका कार्यलाई प्रभावकारी रुपमा समयमै सम्पन्न गर्न सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिनुभयो।

 

जानकारी तथा लेखहरु
सुझाउ