फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बंगलादेशबाट पहिलोपटक नेपालमा आलु आयात

(GMT+08:00) 2014-10-31 17:54:15

          भारतले आलु निर्यातमा कडाइ गरेपछि व्यवसायीले बंगलादेशबाट आलु आयात गर्न थालेका छन्। डेढ महिनायता बंगलादेशबाट आलु आयात भइरहेको हो। त्यहाँबाट आलु आयात आउन थालेको पहिलो पटक भएको व्यवसायीले जानकारी दिए।

           आयातकर्ता दिलीप तिम्सिनाका अनुसार विगतमा पश्चिम बंगालको धुपगुढीलगायत जिल्लामा उत्पादित आलुले नेपालको माग धान्थ्यो। तर केही महिनाअघि बंगालका मुख्यमन्त्री ममता बेनर्जीले आफ्नो राज्यका जनताले पर्याप्त आलु नपाएको र महँगो दरमा खरिद गर्न बाध्य भएको भन्दै निर्यातमा प्रतिबन्ध लगाइन्। त्यसपछि बंगलादेशी आलु आयात सुरु भयो।

          ईकान्तिपुर अनलाईनका अनुसार भारत आफैले पनि बंगलादेशबाट आलु आयात गरिरहेको छ। पहिला भारतसँगै भुटानबाट समेत आलु आयात हुन्थ्यो। भुटानमा पनि निर्यात गर्ने गरी आलु उत्पादन नभएको सम्बद्ध व्यवसायीको भनाइ छ। नेपालसहित भारत र भुटान पनि बंगलादेशी आलुको भरमा छन्।

           मेची भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा करिब 30 करोड मूल्यको आलु बंगालदेशबाट आयात भएको छ। भन्सार अधिकृत गोपी उप्रेतीले बंगलादेशबाट 29 करोड 66 लाख 45 हजार मूल्यको आलु भित्रिएको जनाउनुभयो। यसअघि भारतबाट आयातित आलुले नेपाली माग धान्दै आएको थियो। गत वर्ष यही अवधिमा करिब साढे 39 करोडको आलु भारतबाट भित्रिएको थियो।

            बंगलादेशबाट आलु आयात पहिलो पटक हो। नेपाल-बंगलादेश व्यापार सुरु भएको डेढ दशक नाघ्दा आलु आयात भएको थिएन।

जानकारी तथा लेखहरु
सुझाउ