फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुदुरपश्चिम नेपालको कर्णालीमा जलवायु परिवर्तन केन्द्र स्थापना गरिने

(GMT+08:00) 2014-10-31 17:54:41

         सरकारले कर्णाली अञ्चलमा जलवायु परिवर्तनबाट जोगिने उपायको अध्ययन गर्न 'जलवायु परिवर्तन अनुकुलन अध्ययन केन्द्र' स्थापना गर्ने भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले कर्णालीको उपयुक्त स्थानमा जलवायु परिवर्तनबाट जोगिने उपायबारे अध्ययन गर्न यस्तो केन्द्र स्थापनाको पहल गर्ने बताउनुभयो।

          मुगुको रारा तालको किनारामा बुधवारदेखि शुरु भएको जलवायु सम्मेलनका अवसरमा पोखरेलले यस्तो घोषणा गर्नुभएको हो। जलवायु परिवर्तनका कारण हिमाली जनजीवन खतरामा परेको र कर्णालीका जनताले थप संकट व्यहोर्ने अवस्था आएको भन्दै जलवायु अध्ययन केन्द्र स्थापना गर्न पहल थाल्ने उहाँले बताउनुभयो।

          उपाध्यक्ष पोखरेलले भन्नुभयो- 'कर्णालीको जनजीवनलाई मात्र होइन, हिमाली जीवन जोगाउन अब जलवायु परिवर्तनसँग अनुकुल हुने खालका खेतीपाती नगर्ने हो भने कर्णालीको गरिबी अझै बढ्छ, त्यसपछि विकासका नाममा जति खर्च गरे पनि केही हुँदैन।'

          कार्यक्रममा वातावरण तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले कर्णालीमा जलवायु अध्ययन केन्द्र स्थापना गरेर नेपालको सम्पूर्ण हिमाली जनजीवन जोगाउन सरकारले सघाउने बताउनुभयो।

           कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाक र वातावरण मन्त्रालयको संयुक्त आयोजनामा 'स्वर्गकी अप्सरा' भनेर चिनिने सुन्दर रारा तालको किनारामा 2 दिनसम्म चल्ने जलवायु सम्मेलनको उद्घाटन राराको माटो छोएर गरिएको थियो।

            प्राध्यापक डा.पिताम्बर शर्माले कार्यपत्र प्रस्तुत गर्दै कार्वन उत्सर्जन गरेर जलवायु परिवर्तन गर्ने ठूला र विकसित राष्ट्रले गरेको अपराधको सजायँ नेपालले भोग्नुपरेको बताउनुभयो। सम्मेलनमा हिमाली क्षेत्रबाट निर्वाचित करीव आधा दर्जन सभासदसहित विज्ञ र सञ्चारकर्मीहरुको सहभागिता छ ।

जानकारी तथा लेखहरु
सुझाउ