फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाथीभरा मन्दिरमा 40 क्विन्टल सिक्का

(GMT+08:00) 2014-11-04 19:10:09

       नेपालको ताप्लेजुङ जिल्लामा पर्ने चर्चित धार्मिकस्थल पाथीभरामा संकलित करिब 40 क्विन्टल सिक्का पैसा राष्ट्र बैंकले लैजाने भएको छ। पूर्वाञ्चल व्यवस्थापक दीपकबहादुर थापाले सदरमुकाम फुङलिङमा हिजो सोमबार यसबारे जानकारी दिनु भएको कान्तिपुर अनलाइले लेखेको छ।

        उहाँले पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिको निष्त्रियताका कारण ढिलाइ भएको आरोप लगाउनुभयो। पाथीभरा पुगेर फर्किएका उहाँले नोट या सिक्का जे भए पनि त्यसको व्यवस्थापन जिम्मा राष्ट्र बैंकको हुँदा आफूले पहिल्यै समितिलाई जानकारी गराएको बताउनुभयो।

        'मैले यस बारेमा समाचार थाहा पाएपछि टेलिफोनमार्फत समितिलाई जानकारी गराएको थिएँ, उहाँहरूले पठाउनु भएन अब तुरुन्तै पठाउनुस् भनेर तातो लगाएको हुँ,' थापाले भन्नुभयो। सिक्काको सरफ पानी र रिठ्ठाको धुलो मिलाएर सफा गरी सुकाएपछि पुनः धानको ढुटोले उजिल्याउनुपर्ने प्रस्ताव उहाँले गर्नुभएको छ। माइल स्टिल र जिंक मिसाएर बनाइने सिक्का पानीले भिजे वा चिसोमा परे खिया, दाग लाग्छ।  त्यसलाई सफा गरेर चम्काउनुपर्छ।

        बैंकले विदेशी र खोट लागेको पैसा भने सटही गर्दैन। एक हजार सिक्काको एउटा पोको बनाएर दिन उहाँले भन्नुभएको छ। धोएर सफा गरेपछि एक रुपैयाँको सिक्काको तौल चार ग्राम हुन्छ भने दुई रुपैयाँको पाँच ग्राम। हजारको चार किलो हुने भएकाले सबै गनिरहन झन्झट गर्नु नपर्ने सुझाव समिति उपाध्यक्ष रणबहादुर कार्कीलाई दिइएको छ।

         चढाइएको सिक्का भिज्न माटोमा पर्न नदिई राखे नबिग्रने बैंकले जनाएको छ। समितिले नेपाल बैंक लिमिटेडसँग सानो मात्रामा साट्दै आएको सिक्का पाथीभरा मन्दिर परिसरको गोदाममा थन्क्याएको छ। खोट लागेको छुट्याउँदा करिब 10 लाख हाराहारी हुने बैंकका अधिकारीको अनुमान छ। 40 क्विन्टलमध्ये एक रुपैयाँको 70, दुईको 15, खोट लागेको 13 र विदेशी सिक्का 2 प्रतिशत भएको अनुमान गरिएको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ