फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरा विश्‍वकै आकर्षणको केन्द्र रहेको नेपालका अर्थमन्त्रीको भनाइ

(GMT+08:00) 2014-11-21 18:18:14

          अर्थमन्त्री डा.रामशरण महतले पोखरा विश्वकै आकर्षणको केन्द्र रहेको बताउनु भएको छ। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हिजो बिहीबार पोखरामा सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन कार्यक्रममा बोल्दै डा. महतले सो बिचार व्यक्त गर्नु भएको हो। हिमाल र ट्रपिकल क्लाइमेट संसारकै अनुपम विविधता भएको बताउँदै यसलाई राम्रोसँग सदुपयोग गर्दै पर्यटन विकासको साथै खेलकुद, शिक्षा, स्वास्थ्यको हबको रूपमा पश्चिमाञ्चल क्षेत्रलाई विकास गर्न सकिने अर्थमन्त्री डा. महतले बताउनुभयो।

         अन्नपूर्ण पोष्टका अनुसार पोखरा र भैरहवामा बन्न लागेको अन्तर्राष्ट्रियस्तरका विमानस्थल, लमजुङमा 6 सय मेगावाटको माथिल्लो मस्र्याङ्दी, एक सय 40 मेगावाटको तनहुँ जलविद्युत् योजनाजस्ता ठूला आयोजनाले यो क्षेत्रको आर्थिक समृद्धिको ढोका खोलिसकेको उहाँको भनाइ छ।

          पोखरामा अवसर र सम्भावना प्रशस्त भएकोले उद्यमशीलताको प्रदर्शन गर्न मन्त्री महतले सुझाव पनि दिनुभयो। म्याग्दीको बेनीबाट जोमसोम पुग्ने सडक कालोपत्रे योजना पनि सरकारले सुरु गर्न लागेको बताउँदै यसले उत्तरी नाकासँग पोखराको व्यापारलाई सहजै जोड्ने उहाँले बताउनुभयो।

          राजनीतिक अस्थिरताका कारण ओरालो लागेको आर्थिक क्षेत्र अब ब्युँझने प्रयासमा रहेकाले यसमा निजी क्षेत्रले समेत साथ दिन उहाँले आग्रह गर्नु भएको छ। अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बन्ने पक्का भयो अब त्यही स्तरका होटेल, अस्पताल र शैक्षिक संस्था पोखरामा खुल्नुपर्छ।

          पोखराको भौगोलिक सुन्दरताको पूर्ण सदुपयोग गरी अब अघि बढ्न दीर्घकालीन योजना बनाउनु जरुरी रहेको उहाँको भनाइ थियो। राजनीतिक अस्थिरताले विकास रोक्न नहुने भन्दै अहिले लगानीको वातावरण बनिरहेका बेलामा राष्ट्रिय महत्त्वका योजना थालिहाल्नुपर्ने अर्थमन्त्री डा. महतले बताउनुभयो।

          राजनीतिको पछि लागेकै कारण मुलुक आर्थिक रूपमा एसियामा पछि परेको उहाँको धारणा थियो। विकास निर्माणमा राजनीति नगरी अघि बढ्नसमेत उहाँले आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, 'सामाजिक विकासको सूचकांकमा हामी अघि भए पनि आयका कारण आर्थिक रूपमा हामी पछि परेका छौँ।'

          मुलुकले अहिले बर्सेनि 6 खर्बको व्यापार घाटा बेहोर्दै आएको तथ्यांक प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले अहिले रेमिट्यान्सले अर्थतन्त्र धाने पनि वैदेशिक रोजगारीमा केही समस्या आउनेबित्तिकै त्यसको असर अर्थतन्त्रमा पर्ने बताउनुभयो। उहाँले भन्नुभयो, 'व्यापार घाटा प्रतिस्थापन गर्न कृषि, जलस्रोत र पर्यटनमा भएको सम्भावनालाई डोर्‍याएर अघि बढौं, यी तीन क्षेत्रबाटै मुलुकको आर्थिक समृद्धिको बाटो कोरिन्छ।'

          मेलामा डोममा 78, रेस्टुराँका 15, अटोका 47, पोखराका उत्पादन, पर्यटन, कृषि तथा हस्तकलामा 36, फ्लोरिकल्चरमा 7, गार्मेन्टका 20 र बाँकी एक सय 92 साधारण स्टल रहेको बताइएको छ। नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित मेलाको तीन लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ।

          मेला मंसिर 14 गतेसम्म चल्नेछ। 'लगानीको संवर्द्धन : उद्योग व्यवसायको प्रवर्द्धन' नाराका साथ आयोजित मेलाबाट पश्चिमाञ्चल क्षेत्रमा व्यवसाय विस्तारको सम्भावनाको खोजी गरिने आयोजकको भनाइ छ।

          मेलामा औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचनाप्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरूलाई प्रवद्र्धन तथा बजारीकरण गरिने भएको छ। मेलाबाट 95 लाख रुपैयाँ आम्दानी गर्ने आयोजकको लक्ष्य छ।

          70 लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको मेलाबाट 25 लाख रुपैयाँ बचत गर्ने लक्ष्य छ। मेलाबाट बचत हुने रकम पोखरामा निर्माण हुन लागेको पोखरा प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माणमा विशेष प्राथमिकता प्रदान गरी खर्च गरिने संघले बताएको छ।

जानकारी तथा लेखहरु
सुझाउ