फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सार्क शिखर सम्मेलनमा तीन राष्ट्राध्यक्ष र पाँच सरकार प्रमुख

(GMT+08:00) 2014-11-22 19:11:42
           आगामी बुधबार र बिहीबार काठमाडौँमा आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अठारौँ शिखर सम्मेलनमा तीन मुलुकका राष्ट्राध्यक्ष र पाँच देशका सरकार प्रमुख सहभागी हुने भएका छन्।

            राष्ट्रिय समाचार समितिका अनुसार शिखर सम्मेलनमा सार्कको कान्छो सदस्य राष्ट्र अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी तथा संस्थापक सदस्य देश मालदिभ्स र श्रीलङ्काका राष्ट्रपति क्रमशः अब्दुल्ला यामिन अब्दुल गैयुम र महिन्द राजपक्ष आआफ्ना मुलुकका प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी मङ्गलबार काठमाडौँ आइपुग्ने कार्यक्रम छ।

            सरकार प्रमुखको जिम्मेवारी सम्हालेका बङ्गलादेश, भुटान, भारत र पाकिस्तानका प्रधानमन्त्री क्रमशः शेख हसिना, ल्योन्छेन छिरिङ तोब्गे, नरेन्द्र दामोदरदास मोदी र नवाज सरिफ पनि शिखर सम्मेलनमा भाग लिन सोही दिन यहाँ आउँदै छन्। शिखर सम्मेलन आयोजक मुलुक नेपालका प्रधानमन्त्री सुशील कोइराला पनि सरकार प्रमुख हुनुहुन्छ।

            सार्कका राष्ट्राध्यक्ष वा सरकार प्रमुख तथा प्रथम महिलालाई शिष्टाचार महापाल, सम्बन्धित देशका राजदूत वा नियोग प्रमुखले विमानमा नै पुगेर स्वागत गर्नुहुनेछ भने मोटरबाट ओर्लेपछि उहाँहरूलाई उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का एक सदस्य, मुख्य सचिव र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले औपचारिक स्वागत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सार्क मुलकका राष्ट्राध्यक्ष तथा प्रथम महिलालाई स्वागत गर्ने सोही टोलीमा राष्ट्रपति कार्यालयका सचिवलाई पनि समावेश गरिएको छ।

            उक्त टोलीले स्वागत मञ्चमा स्वागत गरेपछि उपप्रधानमन्त्रीले विशिष्ट पाहुनालाई प्रधानसेनापतिसँग परिचय गराउनुहुनेछ। परिचयपछि प्रधानसेनापतिले सम्मान गारत अर्पण गरिने विशेष मञ्चमा उहाँहरुलाई लैजानु हुनेछ।

            मङ्गल धुनसँगै पाहुनामा सम्मान गारत प्रस्तुत गरिनेछ। विशिष्ट पाहुनाको देशको राष्ट्रिय गीत बजाएपछि नेपालको राष्ट्रिय गीत प्रस्तुत हुनेछ। सम्मानगारत मञ्चको कार्यक्रम समापनपछि विशिष्ट अतिथिलाई उपप्रधानमन्त्रीले अतिविशिष्ट कक्षमा लौजानेछन्। सामान्य शिष्टाचार र जलपानपछि उहाँहरू सोल्टी होटलतर्फ प्रस्थान गर्नुहुनेछ।

           विमानस्थलदेखि सोल्टी होटलसम्मको सवारी मार्गका विभिन्न भागमा नेपालका विविध जाति र समुदायले आआफ्नो वेशभूषा झल्किने परम्परागत पहिरनमा विशिष्ट अतिथिको मुलुकका राष्ट्रिय झन्डा फहराउनका साथै परम्परागत बाजा बजाएर उहाँहरूको अभिवादन गर्नेछन्।

           सोल्टी होटलका विशिष्ट सुइटमा प्रवेश गर्नुअघि सार्कका राष्ट्राध्यक्ष वा सरकार प्रमुखलाई शिक्षामन्त्री चित्रलेखा यादव र ऊर्जामन्त्री राधा ज्ञवालीले स्वागत गर्ने कार्यक्रम छ।

जानकारी तथा लेखहरु
सुझाउ