फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सार्क सम्‍मेलन तयारीलाई एक अर्ब 87 करोड निकासा

(GMT+08:00) 2014-11-22 19:12:32
                दक्षिण एसियाली सहयोग संगठन (सार्क) शिखर सम्मेलनको तयारीको लागि अर्थमन्त्रालयले एक अर्ब 98 करोड तथा काठमाडौं महानगरपालिकाले करिब चार करोड गरेर दुई अर्बभन्दा बढि निकासा गरेको छ। सरकारले सार्कको तयारीको लागी दुई अर्ब छुट्टयाएको थियो भने सार्क सम्मेलन आयोजना हुने शहर काठमाडौं महानगरपालिकाले पनि स्थानीय श्रोतबाट 10 करोड बजेट छुट्टयाएको अन्नपूर्ण पोष्ट दैनिक पत्रिकाले लेखेको छ।

                आगामी साता काठमाडौंमा हुनै 18औँ सार्कको तयारीको लागि एक अर्ब 98 करोड अर्थमन्त्रालयले निकासा दिइसकेको अर्थमन्त्रालयका प्रवक्ता कृष्णप्रसाद देवकोटाले बताउनुभयो। उहाँका अनुसार सबैभन्दा बढि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई रकम निकासा दिएको छ। अर्थमन्त्रालयले सबैभन्दा बढी 78 करोड 35 लाख रुपैयाँ भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निकासा दिइसकेको छ, देवकोटाले बताउनुभयो।

               सार्क सम्मेलनको लागि काठमाडौंका सडक तथा पूर्वाधारको मर्मत र सम्भारको जिम्मेवारी पाएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय उक्त रकम निकासा दिइएको उहाँले बताउनुभयो।

               देवकोटाका अनुसार दक्षिण एसियाली राष्ट्रका विशेष पाहुनाको सुरक्षाको लागि गृह मन्त्रालयलाई 38 करोड 50 लाख निकासा दिइएको छ भने, सहर सजावट तथा मर्मतको लागि सहरी विकास मन्त्रालयलाई 25 करोड 41 लाख तथा सम्मेलनको संयोजन गर्न परराष्ट्र मन्त्रालयलाई 20 करोड 10 लाख रुपैयाँ निकासा दिइसकिएको छ।

               अर्थ मन्त्रालयले रक्षा मन्त्रालयलाई सुरक्षा व्यवस्थामा सहयोग पुर्‍याउन 12 करोड 63 लाख निकासा दिएको पनि उहाँले बताउनुभयो। यसैगरी, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट पूर्वाधार विकास तथा सजावटका लागि आठ करोड 46 लाख रुपैयाँ, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयलाई तीन करोड दुई लाख तथा सूचना तथा सञ्चार मन्त्रालयलाई एक करोड 97 लाख रुपैयाँ निकासा गरिएको छ,' उहाँले भन्नुभयो, 'यस्तै, सूचना तथा सञ्चार मन्त्रालयले सार्क शिखर सम्मेलनका सूचना प्रवाह जिम्मेवारी पाएको छ।'

                पूर्वाधार विकास तथा सजावट अन्तर्गत काठमाडौं महानगरपालिकाले आफनो बजेट पनि खर्च गरेको उहाँले बताउनुभयो। विशिष्ट अतिथिको सवारी हुने सडकका दुबैपट्टि गमला राख्ने देखि विरुवा लगाउने जस्ता सजावट एवं सरसफाइ लाई महानगरपालिकाले विशेष प्राथमिकता दिएको छ। महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत धर्मबहादुर श्रेष्ठले बताउनुभयो।

                 उहाँका अनुसार महानगरपालिकाले 12 करोड 46 लाखमा सहरका प्रमुख स्थान सुधार एवं मर्मत संभारका लागि ठेक्का दिएकोमा कूल ठेक्का रकमको 30 प्रतिशत भुक्तानी भइसकेको छ। श्रेष्ठका अनुसार खुलामंच हरियाली प्रबद्र्धन, रत्नपार्क सुधार, रानी पोखरीमा फाउन्टेन निर्माण, विरुवा खरिद तथा बृक्षरोपण जस्ता शहरको सौन्दर्य बढाउने कार्यमा महानगरपालिकाले ठेक्का लगाएको हो।

                यस्तै, अर्थमन्त्रालयले अन्य विभिन्न मन्त्रालय तथा सरकारी निकायलाई पनि सार्क सम्मेलनको तयारीको क्रममा 12 करोड रुपैयाँ भन्दा बढी रकम निकासा दिएको देवकोटाले बताउनुभयो।

                सुरुमा आर्थिक बर्ष 2071/72को बजेटमा एक अर्ब 50 करेाडको बजेट छुट्टयाएको अर्थमन्त्रालयले पछि विभिन्न मन्त्रालयहरुको दवावले दुई अर्बभन्दा बढी रकम सार्क सम्मेलनकै लागि भनेर निकासा दिइसकेको पनि उहाँले बताउनुभयो। तर सार्क सम्मेलनका लागि निकासा गराएको रकम सार्क सम्मेलन पूर्व नै खर्च गरिसक्नुपर्ने पनि देवकोटाले बताउनुभयो। 'नत्र बेरुजुमा जाने डर हुन्छ,' उहाँले भन्नुभयो। सार्क सम्मेलन अन्तर्राष्ट्रिय प्रतिष्ठाको विषय पनि भएकाले रकम अभावकै कारण राम्रो तयारी हुन बाधा नपरोस भनेर कम जिकासा गरिएको उहाँले बताउनुभयो।

               मंसिर 10 र 11 गते काठमाडौँमा 18औं सार्क सम्मेलन हुदैछ। दक्षिण एसियाली क्षेत्रका आठ राष्ट्रका राष्ट्र प्रमुख एवं विशिष्ट अतिथिको स्वागतको लागि सम्पूर्ण तयारी भईसकेको बताइएपनि काठमाडौंका सडक सजावट एवं मर्मत सम्भार जारी छ।

जानकारी तथा लेखहरु
सुझाउ