फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–चीन सम्बन्ध सदियौंदेखि समस्यारहित रहेको विज्ञहरुको भनाइ

(GMT+08:00) 2014-11-22 19:14:02
              

                राजनीतिक नेता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले नेपाल–चीन सम्बन्ध सदियौंदेखि समस्यारहित रहेको र आगामी दिनमा यो सम्बन्धले अझै व्यापकता पाउने विश्वास व्यक्त गरेका छन्। चीन अध्ययन केन्द्रले हिजो शुक्रबार काठमाडौँमा आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा नेता तथा विद्वानहरुले चीनमा आएको नयाँ रानीतिक नेतृत्वले एक वर्षको अवधिमा नेपाल–चीन सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको चर्चा पनि गरे।

               संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले 'नयाँ नेतृत्व अन्तर्गत चीनको कूटनीतिको एक वर्ष' नामक पुस्तक विमोचन गर्दै नेपालले सधैं एक चीन नीति अवलम्बन गरिरहेको र चीन नेपालको सच्च मित्रको रुपमा अडिग रहेको बताउनुभयो। चीनको नयाँ नेतृत्व पनि छिमेकीप्रति विश्वास कायम गरेर दुवै पक्ष जित्ने नीतिका साथ अगाडि बढिरहेको आफूले पाएको उहाँले उल्लेख गर्नुभयो। पुस्तकको विमोचन नेम्वाङ र नेपालका लागि चिनियाँ राजदूत उ छुन्थाईले संयुक्त रुपमा गर्नुभएको थियो।

               चिनियाँ राजदूत छुन्थाईले नेपालले एक चीन नीतिप्रति समर्थन जनाइरहेकोमा नेपाल सरकार र पार्टीका नेताहरुलाई धन्यवाद दिनुभयो। चीनको कठिन समयमा नेपालले सहयोग गरेकोमा प्रशंसा गर्दै उहाँले छिमेकीको विकासमा सहयोग पुर्‍याउने नयाँ नेतृत्वको नीति रहेको जानकारी गराउनुभयो। सो अनुसार नेपाललाई आगामी दिनमा नेपाललाई अझै सहयोग अभिवृद्धि गर्दै लैजाने चीनको नीति रहेको पनि उहाँले बताउनुभयो।

               नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शशांक कोइरालाले नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको चीन भ्रमणपछि नेपालसँग चीनको सम्बन्ध जनस्तरमा पनि विकास भएको बताउनुभयो। उहाँले नेपालको विकासमा चीनले सघाइरहेकोमा प्रशंसा गर्दै त्यसको उचित सदुपयोगमा नेपालीहरु गम्भीर हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। नेपाल र चीनको प्रगाढ सम्बन्धलाई अझै उचाइमा पुर्‍याउन आपसी विश्वास र समझदारी बढाउनुपर्नेमा जोड दिनुभयो।

               एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्ध बहुआयामिक रहेको र यो विश्वमै गर्व गर्न लायक रहेको बताउनुभयो। उहाँले एक चीन नीतिप्रति नेपालको राष्ट्रिय नीतिमा परिवर्तन नहुने विश्वास दिलाउँदै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझै मजबुत र विस्तार हुने आशा गर्नुभयो। उहाँले चीनको छिमेकी मैत्री र अहस्तक्षेपकारी नीतिको प्रशंसा पनि गर्नुभयो।

               नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले चीनको नयाँ नेतृत्वले समृद्ध, शान्ति र समझदारीको नीति लिएको चर्चा गर्दै यस नीति अन्तर्गतको एकवर्षे कूटनीतिक सम्बन्धले सफलता हासिल गरेको विचार राख्नुभयो। चीन र नेपालबीचको सम्बन्धमा कहिल्यै समस्या उत्पन्न नभएको र विरोधाभास नदेखिएको उहाँले उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा नेपालमा चिनियाँ लगानी अझै बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो।

               नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले विश्वको दोस्रो आर्थिक शक्तिका रुपमा देखापरेको चीनले नेपालमा लगानी र सहयोगको दायरा अझै बढाउनु पर्नेमा जोड दिनुभयो। उहाँले नेपाली भूमि कुनै पनि छिमेकी विरुद्ध प्रयोग हुन नदिने नेपालको नीति स्मरण गराउनुभयो र चीनले पनि कहिल्यै नेपालप्रति हस्तक्षेपकारी नीति नलिएको चर्चा गर्नुभयो।

               कार्यक्रममा चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मी, कृष्ण पोखरेल, डा. मीना वैद्य मल्ल, सुन्दरनाथ भट्टराईले पुस्तकका विविध पक्षबारे बोल्नुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ