फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा पुनः सार्कको सदस्य बन्ने चाहना प्रकट

(GMT+08:00) 2014-11-27 18:31:04

    विश्वको नयाँ आर्थिक शक्ति चीनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य बन्ने चाहना पुनः प्रकट गरेको छ। सार्क शिखर सम्मेलन उद्‌घाटन कार्यक्रममा सम्बोधन गर्दै नौमध्ये एक पर्यवेक्षक चीनका उपविदेशमन्त्री लिन झेनमेनले पहिलेदेखि नै चीन सार्कमा सदस्य रहन इच्छुक रहेको बताउनुभएको हो।

    चीनले सार्कसँग सहकार्य गरिरहेकाले अझ नजिक रहेर काम गर्न चाहेको स्पष्ट पारेको छ। ईकान्तिपुर अनलाईनका अनुसार उपविदेशमन्त्री झेनमेनले कूटनीतिक भाषामा सदस्य नभए पनि अझ बढी नजिक भएर काम गर्न चाहेको बताउनुभयो।

    उपमन्त्री झेनमेन बोलिरहँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ध्यानपूर्वक सुनिरहनुभएको थियो। चीनको भूमिकालाई लिएर सार्कका सदस्य राष्ट्रबीच चर्चा भइरहँदा सबैभन्दा बढी भारतले त्यसलाई अवलोकन गरिरहेको छ। चीनले सार्कको विकासमा फेरि 55 लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय लिएको उपविदेशमन्त्री झेनमेनले मन्तव्यमा उल्लेख गर्नुभयो। चीनले सधैं सार्कको शान्ति र अन्य क्षेत्रमा काम गर्न चाहेको बताउँदै उहाँले सार्कको अध्ययन, स्वास्थ्य तथा पूर्वाधार विकास क्षेत्रमा 5 वर्षसम्म दिएको सहयोग आँकडासमेत प्रस्तुत गर्नुभयो।

    राष्ट्रपति सी जिनपिङले यसै वर्ष माल्दिभ्स, श्रीलंका र भारतको भ्रमण गरेको जानकारी दिँदै झेनमेनले चीन यस क्षेत्रको महत्त्वमा प्रस्ट भएको बताउनुभयो। चीनले सार्क र आफूलाई जोड्ने मात्र होइन, पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय संगठन 'आसियान'सँगको सम्बन्धलाई ख्याल गरेर भारत, बंगलादेश, म्यानमार र चीन जोड्ने 'सिल्क रोड' का लागि 40 विलियन अमेरिकी डलर नवस्थापित एसियाली पूर्वाधार विकास बैंकमार्फत लगानी घोषणा गरिसकेको छ।

    अन्य पर्यवेक्षकले गरिबी निवारण र आतंकवाद नियन्त्रणमा सार्क राष्ट्रहरूले सहकार्य गरिरहेको बताएका छन्। अमेरिकी दक्षिण एसिया मामिलासम्बन्धी उपविदेश सहायकमन्त्री निशा देसाईले सार्क क्षेत्रमा रहेको आतंकवाद नै विकासको बाधक रहेको बताउनुभयो।

    युरोपेली युनियनको प्रतिनिधित्व गरेकी राजदूत रेन्छी तेरिङले सार्क क्षेत्रलाई यातायात सञ्जाल र पूर्वाधारको विकासले अझ बढी एकीकृत गर्न सक्ने उल्लेख गर्नुभयो।

    पर्यवेक्षकका रूपमा प्रतिनिधित्व गरेका जापानका राजदूत मसासी ओगवाले पनि सार्कको विकासमा आफूहरूको सहकार्य जारी रहने बताउनुभयो। दक्षिण कोरियाका प्रतिनिधिले पनि सार्कको विकासमा आफूहरू सधैं तत्पर रहेको र यो क्षेत्रमा देखिएको एकताले सार्क क्षेत्रको विकासलाई उचाइमा पुर्‍याउने बताए। अस्ट्रेलियाका संसदीय सचिव ब्रेट मार्टनले आर्थिक कूटनीति वर्तमान समयमा प्रमुख मुद्दा भएको बताउनुभयो।

    मोरिससले भने मन्त्रीस्तरीय पदाधिकारी पठाउनुपर्नेमा दूतावासका प्रथम सचिव पठाएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ