फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बुद्ध सर्किटद्वारा सार्कलाई जोड्न सकिने भारतीय प्रधानमन्त्रीको भनाइ

(GMT+08:00) 2014-11-27 18:32:56

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार सार्क शिखर सम्मेलनमा 'बुद्ध सर्किट'द्वारा सार्कलाई जोड्न सकिने बताउनुभएको छ। नेपाल र भारत सरकारबीच पर्यटनसम्बन्धी सम्झौता भएको भोलिपल्ट मोदीले 'बुद्ध सर्किट' विकास गर्दै यसैमार्फत दक्षिण एसियालाई जोड्न सकिने बताउनुभएको कारोबार अनलाईनले समाचार लेखेको छ।

  "बुद्ध जन्मस्थान लुम्बिनीदेखि बुद्धले बुद्धत्व प्राप्त गरेको बोधगयासम्मको क्षेत्र विकासलाई अगाडि बढाउँदा नेपाल र भारतलाई मात्र नभई पूरै दक्षिण एसियालाई जोड्ने उहाँको विश्वास छ।

     हाल भारतीय बाटो हुँदै आउने बुद्धमार्गीहरू लुम्बिनीमा जम्मा २ घण्टामात्रै बिताउने गरेकाले उनीहरूको बसाइ अवधि लम्ब्याउन यो योजना कोसेढुंगा हुने विश्वास उनीहरूको छ।

    व्यवसायीले वर्षौंदेखि बुद्ध जन्मस्थल लुम्बिनी, उनले बुद्धत्व प्राप्त गरेको बोधगया र महापरिनिर्वाण प्राप्त गरेको कुशीनगरसँगै कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम र रुपन्देहीको देवदहसमेतलाई जोडेर 'बुद्ध सर्किट' निर्माण गर्नुपर्ने माग गर्दै आए पनि कुनै सुनवाइ भएको थिएन।

    पर्यटन व्यवसायी तथा 'बुद्ध सर्किट' निर्माणका अभियन्ता विक्रम पाँडे मोदी अभिव्यक्तिको सकारात्मक प्रभाव पर्ने बताउँनुहुन्छ। बुद्धसँग जोडिएका सबै क्षेत्रलाई जोडेर एकीकृत 'बुद्ध सर्किट' बनाउँदा दुवै देशलाई उत्तिकै फाइदा हुने उहाँको भनाइ छ।

    सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका मोदीको उपस्थितिमा दुवै देशबीच 'बुद्ध सर्किट'लाई समेत अगाडि बढाउने सम्झौता भएको छ। मंसिर 6 देखि विभिन्न चरणमा भएका द्विपक्षीय छलफलमा पर्यटन विकासलाई संयुक्त रूपमा अगाडि बढाउने सम्झौताभित्र यो विषयलाई समेत समावेश गरिएको छ।

    नेपाल र भारतबीच भएका द्विपक्षीय सम्झौताका 73 बुँदामा 'बुद्ध सर्किट' पनि समावेश भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले जानकारी दिनुभयो।

    जन्मस्थल लुम्बिनीदेखि ज्ञान प्राप्त गरेको भारतको बोधगयासम्मका क्षेत्रलाई समेटेर अन्तर्राष्ट्रिय बुद्ध सर्किट बनाउने प्रष्ट्याउँदै उहाँले "अर्को— आन्तरिक रूपमा लुम्बिनीदेखि काठमाडौंका स्वयम्बू, बौद्ध, कपनलगायत क्षेत्रलाई समेट्ने लक्ष्य रहेको बताउनुभयो।

    सरकारले 2017 सम्ममा निर्माण सम्पन्न गर्ने गरी विमानस्थलको काम अगाडि बढाइसकेको छ। विमानस्थल निर्माणसँगै 'बुद्ध सर्किट'समेत अगाडि बढाउन सकिए लुम्बिनीमा बर्सेनि लाखौं बौद्धमार्गी आउने विश्वास छ।

    भारतले हाल बोधगया, कुशीनगर, सारनाथ र श्रावस्तीलाई लुम्बिनीसँग जोडेर 'बुद्ध सर्किट' बनाइरहेको छ। पाँडेका अनुसार हाल भारतीय बौद्ध क्षेत्रहरूलाई लुम्बिनीसँग मात्रै जोडेर सर्किटका रूपमा प्रचार हुँदै आएको छ। सोही रुटमा नेपालका कपिलवस्तु (तिलौराकोट), रामग्राम (नवलपरासी) र देवदह पूर्ण रूपमा ओझेल पर्ने भएकाले एकीकृत सर्किटको अवधारणा ल्याइएको हो। नेपालका 'बुद्ध सर्किट'को विकास र प्रचारप्रसारबिना भारतीय क्षेत्र पनि ओझेलमा पर्छन्।

जानकारी तथा लेखहरु
सुझाउ