फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा निकासी गर्ने वस्तुमा वाणिज्य मन्त्रालयद्वारा अध्ययन प्रारम्भ

(GMT+08:00) 2014-12-18 18:37:23

       चीनले नेपालका आठ हजार वस्तुलाई दिएको भन्साररहित सुविधा उपयोगको लागि नेपालको वाणिज्य मन्त्रालयले अध्ययन थालेको छ। नेपालसहित अल्पविकसित मुलुकलाई सहुलियत दिएको आठ हजार 30 मध्ये चीनमा निकासी सम्भावना भएका वस्तु विकास गर्नुपर्ने निष्कर्षमा मन्त्रालय पुगेको नागरिक अनलाइनले लेखेको छ।

       दुई साताअघि चीनले नेपालका थप एक सय 99 वस्तुलाई भन्साररहित प्रवेश सुविधा दिएको थियो। तर नेपालसँग निकासी गर्ने वस्तु पर्याप्त मात्रामा नहुँदा त्यो सुविधा लगभग अर्थहीन जस्तै भएको छ। 'चीनले दिएको सुविधा उपयोगको लागि हामीले वस्तु विकास गर्नु जरुरी छ,' मन्त्रालयका सहसचिव जीवराज कोइरालाले भन्नुभयो, 'हामीसँग निकासी गर्ने वस्तु नै पर्याप्त छैन।' चीनमा कृषिजन्य र केही औद्योगिक वस्तुको सम्भावना छ। चीनको स्वशासित क्षेत्र तिब्बतमा सिमेन्ट, फलामे डन्डी लगायतको उच्च माग छ। भन्साररहित सुविधा पाउन उत्पादन क्षमता बढाउनुपर्ने उहाँले बताउनुभयो। यो सुविधाका लागि आठ अंकको भन्सार कोड (हार्मोनिक कोड) भएका वस्तु हुनुपर्ने बाध्यतात्मक व्यवस्था छ। त्यस्ता वस्तु नहुँदा सहुलियत उपयोग गर्न सकिएको छैन। कोइरालाले चिनियाँ पक्षलाई निकासी सरलीकरणको लागि समेत आग्रह गर्ने  बताउनुभयो।

       चीनबाट गत वर्ष 78 अर्ब रुपैयाँ बराबरको सामान आयात भएको थियो। नेपालबाट दुई अर्बको सामान निकासी भएको थियो। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चीनले निकासीयोग्य वस्तुको सूची मागे पनि दिन सकेको छैन। 'चीनले हामीसँग कृषि वस्तुको सूची मागेको छ। तर हामीले सूची दिनसमेत सकेका छैनौ,' केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले भन्नुभयो, 'हामीले गुणस्तरीय वस्तु उत्पादन गर्ने प्रतिबद्धता समेत गरेका छन्।' उहाँका अनुसार अर्गानिक कृषि वस्तुको चीनमा माग छ। नेपाल हिमालय सीमापार वाणिज्य संघका संस्थापक अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ क्वारेन्टाइन लगायत समस्याले नेपालबाट निकासी हुन नसकेको बताउनुहुन्छ। 'क्वारेन्टाइनका कारण नेपाली सामान निकासीमा झन्झट छ। झन्झटकै कारण व्यवसायीले निकासीलाई प्राथमिकतामा नराखेका हुन्,' उहाँले भन्नुभयो, 'हामीले क्षमतासमेत विस्तार गर्नुपर्छ।' उहाँका अनुसार नेपाली वस्तु प्रतिस्पर्धी हुन नसकेकोले चीनले दिएको सहुलियत लिन सकिएको छैन।

       'यसअघि पनि चीनले सात हजार आठ सय 31 वस्तुलाई भन्साररहित सुविधा दिएको थियो। तर हाम्रो आन्तरिक कारणले निकासी बढाउन सकेनौं,' श्रेष्ठले भन्नुभयो, 'मागअनुसार सामान दिन सक्ने अवस्था नभएसम्म भन्साररहित सुविधा पाउन कठिन हुन्छ।' गत वर्षको तथ्यांक हेर्ने हो भने पनि नेपाल कृषि वस्तुमा परनिर्भर बन्दै गएको छ। गत वर्ष नेपालले एक खर्ब बराबरको कृषि वस्तु आयात गरेको छ।

       व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चामल, भटमासको तेल, मकै, सुपारी र भटमासमात्रै 50 अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ। केन्द्रका अनुसार गत वर्ष चामलमात्रै 17 अर्ब 25 करोडको आयात भएको छ।

       पछिल्लो समय चामलको आयात निरन्तर बढेको छ। अघिल्लो वर्ष चामलको आयात 12 अर्ब हाराहारीमा थियो। सो अवधिमा भटमासको तेल 14 अर्ब 90 करोडको आयात भएको छ। मकै सात अर्ब 49 करोड रुपैयाँको आयात छ।

       'कृषि वस्तुमा हामी विस्तारै विदेश निर्भर हुँदैछौं। तरकारी लगायत सामान विदेशबाटै आउँछ,' उहाँले भन्नुभयो, 'अहिलेकै अवस्थामा कृषि वस्तु निकासीको सम्भावना न्यून छ।'

जानकारी तथा लेखहरु
सुझाउ