फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरामा पर्यटकको बसाइँ लम्ब्याउन चिडियाखाना निर्माणको पहल

(GMT+08:00) 2015-01-29 19:33:22

         पर्यटकीय नगर पोखरामा पर्यटकलाई लोभ्याउन चिडियाखाना निर्माणको पहल थालिएको छ। पश्चिमाञ्चलका क्षेत्रीय प्रशासन कार्यालयको अगुवाइमा चिडियाखाना निर्माणका लागि समिति नै गठन गरिएको राष्ट्रिय समाचार समितिले लेखेको छ। चिडियाखाना निर्माण अध्ययन समितिको संयोजकको जिम्मेवारी अमरसिंहचोकमा रहेको युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले लिनु भएको छ। प्रस्तावित 15 सदस्यीय समितिको सहसंयोजकमा जिल्ला पशुसेवा कार्यालय कास्कीका प्रमुख रहने व्यवस्था गरिएको छ।

         चिडियाखाना बन्न सके पोखरामा नयाँ पर्यटकीय गन्तव्य थपिने र यहाँ आउने पर्यटकको बसाइँ लम्बिने भएकाले चिडियाखाना निर्माणमा जोड दिइएको हो। अहिले पोखरामा पर्यटकको बसाइँ औसत साढे 2 दिनको रहेको छ। चिडियाखाना कहाँ बनाउने भन्नेबारे केही निर्णय त भएको छैन तर अध्ययन भने थालिएको छ।

         विभिन्न सरोकारवाला निकायले पोखरामा चिडियाखाना निर्माणको चर्चा गर्दै आए पनि ठोस रुपमा युनाइटेड क्लबले नै यो विषयलाई अगाडि बढाएको हो। क्लबले बर्सेनि आयोजना गर्दै आएको पोखरा महोत्सवबाट हुने आम्दानीको 25 प्रतिशत रकम पोखरामा चिडियाखाना निर्माणका लागि छुट्याएर यो अभियानको थालनी गरेको क्लबका अध्यक्ष बख्रेलले बताउनुभयो।

         उहाँका अनुसार क्लबले 2067 सालमा पहिलोपटक पोखरा महोत्सवको आयोजना गर्दादेखि महोत्सवको चौथो संस्करण 2070 सम्ममा चिडियाखाना निर्माणका लागि रु नौ लाख 50 हजार जम्मा भइसकेको छ। सो रकम क्लब र जिल्ला विकास समिति कास्कीको संयुक्त खातामा रहेको र चिडियाखाना बनाउन 'बीउ पैसा' का रुपमा राखिएको क्लबका अध्यक्ष बख्रेलले जानकारी दिनुभयो।

 

जानकारी तथा लेखहरु
सुझाउ