फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भेरी बबई सिचाइको सुरुङ चिनियाँ कम्पनी निर्माण गर्ने

(GMT+08:00) 2015-01-30 19:07:31

        नेपालको सिँचाइ विभागले भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको ठेक्का चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडलाई दिएको छ। भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र कम्पनीबीच हिजो बिहीबार ठेक्का सम्झौता भएको जानकारी सिँचाइ विभागका महानिर्देशक माधव बेल्बासेले दिनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

        उहाँका अनुसार ठेक्का सम्झौतासँगै ठेकेदार कम्पनीले एक महिनामा सरकारको महत्त्वाकांक्षी आयोजनाको मुख्य संरचना सुरुङ निर्माण कार्य सुरु गर्नेछ। प्राविधिक योग्यता पुगेर छानिएका ठेकेदार कम्पनीहरूमध्ये सबभन्दा कम रकम कबोलेको चिनियाँ कम्पनीलाई सुरुङ निर्माणको जिम्मा दिइएको हो।

         बर्दिया र बाँकेको 51 हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र बाह्रै मास 48 मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको महत्त्वाकांक्षी बहुउद्देश्यीय आयोजना हो। भेरी नदीमा बाँध बाँधेर 12 किलोमिटर लामो सुरुङबाट 40 क्युबिक मिटर प्रतिसेकेन्ड पानी बबई नदीमा लगेर खसालिनेछ। बबई सिँचाइ आयोजनाबाट उक्त पानी बर्दिया र बाँकेको खेतीयोग्य जग्गामा लगेर सिँचाइ गरिनेछ। दुई जिल्ल्लाका 51 हजार हेक्टर जमिनमा वर्षैभरि सुनिश्चित सिँचाइ सुविधा पुग्नेछ।

          भेरीको पानी सुरुङबाट लगेर बबईमा पानी खसाल्ने हात्तीगाल भन्ने ठाउँमा पावरहाउस निर्माण गरी विद्युत् उत्पादन गरिनेछ। उक्त आयोजनाले वर्षभरि नै एउटै क्षमतामा 48 मेगावाट विद्युत् उत्पादन गर्नेछ। उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ। सिँचाइ सुविधा र विद्युत् उत्पादनका लागि एउटा नदीको पानी अर्को नदीमा खसाल्ने यो मुलुककै पहिलो आयोजना हुनेछ।

         यो आयोजनामा टनेल बोरिङ मेसिनबाट सुरुङ खन्ने कार्य हुनेछ। नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिनबाट सुरुङ खन्ने प्रविधि भित्र्याइएको हो। मुलुकमा विभिन्न जलविद्युत् आयोजना र मेलम्ची खानेपानी आयोजनामा मेसिनको सट्टा प्राविधिकले ड्रिलिङ गरेर सुरुङ खन्ने काम हुँदै आएको छ।

          आयोजनाले पहिलो चरणमा सुरुङ निर्माणको काम मात्र सुरु गर्न लागेको हो। सुरुङ निर्माण कार्य साढे चार वर्षमा सम्पन्न हुने जानकारी भेरी-बबई बहुउद्देश्यीय आयोजनाका प्रमुख शिव बस्नेतले दिनुभयो। उहाँका अनुसार सुरुङ निर्माण कार्य आधाआधी भएपछि भेरी नदीमा बाँध (इन्टेक) र बबईको हात्तीगालमा विद्युत् गृह निर्माण सुरु गरिनेछ। साढे चार वर्षपछि आयोजनाबाट बर्दिया र कैलालीमा सिँचाइ सुविधा पुग्नेछ भने पावरहाउस निर्माण सम्पन्न गरी अबको छ वर्षमा विद्युत् उत्पादन सुरु हुने जानकारी बस्नेतले दिनुभयो।

          आयोजनाले ठेकेदार कम्पनीलाई 10 अर्ब 57 करोड रुपैयाँमा सुरुङ निर्माणको ठेक्का दिएको हो। इन्टेक र पावरहाउसको लागत जोड्दा बहुउद्देश्यीय आयोजना सम्पन्न गर्न हालको मूल्यमा 16 अर्ब रुपैयाँ लाग्ने अनुमान छ। तर इन्टेक र पावरहाउसको ठेक्का दुई वर्षपछि मात्र हुने भएकाले बजार मूल्यसँगै लागत केही बढ्ने अनुमान आयोजनाको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ