फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका राष्ट्रपतिले आगामी चैतमा चीन भ्रमण गर्ने

(GMT+08:00) 2015-01-30 19:08:08

        नेपालका राष्ट्रपति डा रामवरण यादव र चीनका राष्ट्रपति सी चिन फिङबीच चैतमा पहिलो भेटवार्ता हुने भएको छ। चीनको हाइनान प्रान्तमा आउँदो चैत 12 देखि 15 सम्म हुने पोआओ एसिया फोरमको वार्षिक सम्मेलनमा सहभागी हुने क्रममा दुई राष्ट्रप्रमुखबीच 'साइडलाइन' भेटवार्ता तय भएको नागरिक अनलाइनले लेखेको छ।

         काठमाडौंमा राजनीतिक अन्योल लम्बिएर चीनका राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमण निश्चित हुन नसकेको अवस्थामा राष्ट्रपति यादव एसियाका राष्ट्र तथा सरकार प्रमुखले भाग लिने महत्वपूर्ण अन्तर्राष्ट्रिय फोरममा सहभागी हुन लाग्नु भएको हो। तत्कालीन राजा वीरेन्द्र शाह 2001 मा पोआओ एसिया फोरम स्थापना समारोहमा सहभागी हुनु भएको थियो भने 2005 मा अर्का राजा ज्ञानेन्द्र शाहले भाग लिनु भएको थियो।

         एसियाको क्षेत्रीय अर्थतन्त्रबीच एकता तथा विकास लक्ष्यमा एसियाली देशलाई सहयोग पुर्‍याउने उद्देश्यले सन् 2001 मा स्थापना गरिएको पोआओ गैरसरकारी तथा गैरनाफामूलक अन्तर्राष्ट्रिय मञ्च हो। यसमा नेपालका राष्ट्रपतिको यो पहिलो सहभागिता हुनेछ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति यादव सम्मेलनमा सहभागी हुन खुनमिङ वा छेङदु भएर दक्षिण चीनको उष्ण प्रदेशीय टापु हाइनानस्थित पोआओ सहर पुग्ने गरी तयारी भइरहेको छ।

          पोआओ एसिया फोरमको वार्षिक सम्मेलन उद्घाटन चैत 14 गते हुनेछ। गत साता बेइजिङमा पोआओ फोरम फर एसियाका महासचिव चोउ वनचोङले बताएअनुसार उद्घाटन समारोहलाई चीनका राष्ट्रपति सीसहित दस देशका राष्ट्र तथा सरकार प्रमुखले सम्बोधन गर्नेछन्। बेइजिङस्थित राजदूत डा महेश मास्केका अनुसार समारोहलाई नेपालका राष्ट्रपति यादवले पहिलोपटक सम्बोधन गर्ने कार्यक्रम बनेको छ। 'नेपालको राजनीतिक अन्योलले गडबड हुन्छ कि भन्ने थियो, अब राष्ट्रपति पोआओ फोरममा सहभागी हुने निश्चित भयो,' पोआओमा नेपाल र चीनका राष्ट्र प्रमुखबीच साइडलाइन वार्ता हुने जनाउँदै राजदूत मास्केले भन्नुभयो, 'पहिला राजाहरू सहभागी हुँदै आएको कार्यक्रममा नेपालका राष्ट्रपति पहिलोपटक सहभागी हुने कुराले बेइजिङ पनि उत्साहित छ।'

         राष्ट्रपति भएको साढे छ वर्षमा दक्षिणी छिमेकी भारतको तीनपटक औपचारिक भ्रमण गरे पनि यादवलाई उत्तरी छिमेकी चीनको राजकीय भ्रमण गर्ने अवसर जुरेको छैन। अक्टोबर 2010 मा सांघाई वर्ल्ड एक्स्पोमा सहभागी हुने क्रममा र 2012 मा नेपाल भ्रमणमा आउँदा चीनका तत्कालीन प्रधानमन्त्री वन च्यापाओसँग भेटवार्ता गरेका यादवको चीनका राष्ट्रपतिसँग यो पहिलो भेट हुनेछ।

          नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको 60 औं वर्षगाँठ अवसरमा यस वर्ष शीर्ष राजनीतिक नेतृत्वबीच आदानप्रदानको कार्यक्रम राखिएको छ। चीनका राष्ट्रपति वा प्रधानमन्त्रीको नेपाल भ्रमण तयारीका क्रममा गत महिना काठमाडौं आएका चीनका विदेशमन्त्री वाङ यीले राष्ट्रपति यादवसँग भेटेर पोआओ फोरममा सहभागी हुन निमन्त्रणा दिनु भएको थियो।

         राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार राष्ट्रपति यादवले चीनको निमन्त्रणा स्वीकार गरेपछि परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी सुरु गरेको छ। 'चीनका राष्ट्रपतिसँग भेटवार्ता हुने भनेपछि मन्त्री पनि सहभागी हुनुपर्छ, अब सिंहदरबारले सबै तय गर्ला,' दाहालले भन्नुभयो।

          परराष्ट्र मन्त्रालयले एक साताभित्र मन्त्रिपरिषदले स्वीकृत गर्ने गरी राष्ट्रपतिको चीन भ्रमण कार्यक्रमलाई अन्तिम रूप दिन काठमाडौंस्थित चिनियाँ दूतावाससँग परामर्श गरिरहेको बुझिएको छ।

          'राजकीय भ्रमणको पर्खाइमा रहेका राष्ट्रपति यादव चीनका राष्ट्रपति सीसँग भेटवार्ता हुने भएपछि पोआओ फोरममा जाने टुंगोमा पुगेका हुन्,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, 'तर राजधानी बेइजिङ जाने कार्यक्रम नभएकाले यो चीनको राजकीय भ्रमण हुनेछैन।'

         यस वर्ष पोआओ सम्मेलनको नारा 'एसियाको नयाँ भविष्य : एक समुदायतिरको आम भाग्य' चयन गरिएको छ, जसको उद्देश्य एसिया र विश्वबाट द्वन्द्व र विवादलाई किनारा लगाएर शान्ति र समृद्धिका लागि सबैले जित हुने खालको समावेशी विकासलाई प्रोत्साहन गर्नु रहेको महासचिव चोउले बताउनुभयो।

           वार्षिक सम्मेलनमा क्षेत्रीय सहयोग, राजनीतिक सुरक्षा तथा सामाजिक कल्याण, न्याय र धर्म, नयाँ कृषि र प्रविधि लगायत 73 विषयमा छुट्टाछुट्टै सेमिनार राखिएको छ। जसमा 20 मन्त्री तथा विशेषज्ञ, व्यापारीसहित 2 सय जनाले सम्बोधन गर्नेछन्।

           चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीका अनुसार पोआओ 'कम राजनीति हुने परिणाम उन्मुख' फोरम हो। 'चीनले छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिएको अवस्थामा बोआओ फोरमको महत्व झन् बढेको छ,' रेग्मीले भन्नुभयो, 'यसमा सक्रिय सहभागी हुँदा नेपाल अन्तर्राष्ट्रिय रूपमा थप स्थापित हुन्छ।'

 

जानकारी तथा लेखहरु
सुझाउ