फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भक्तपुर भ्रमणमा भारतीय पर्यटकलाई उछिन्दै चिनियाँ पर्यटक अगाडि

(GMT+08:00) 2015-03-04 18:15:31

भक्तपुर भ्रमणमा आउने विदेशी पर्यटकमध्ये चालू आवमा चिनियाँ पहिलो स्थानमा देखिएका छन्। अघिल्लो वर्षसम्म भक्तपुर भ्रमण गर्न आउने पर्यटकमा पहिलो स्थानमा भारतीय थिए। चालू आर्थिक वर्षको पुससम्मको तथ्यांकले भने पहिलो स्थान चिनियाँ पर्यटकले लिएको देखाएको छ। चालू आर्थिक वर्षको 6 महिनामा घुम्न आउने पर्यटकको संख्यामा चिनियाँ पहिलो र भारतीय दोस्रो स्थानमा रहेका छन्। अन्नपूर्ण पोष्ट अनलाईनका अनुसार भक्तपुर नगरपालिकाको पर्यटन सूचना केन्द्रका अनुसार अघिल्लो वर्षसम्म सधैं पहिलो स्थानमा भारतीय पर्यटक रहँदै आएका थिए।

केन्द्रका प्रमुख दामोदर सुवालका अनुसार चालू आर्थिक वर्षको पुससम्ममा 61 हजार एक सय 85 जना चिनियाँ पर्यटकले भक्तपुर भ्रमण गरेका छन्। जब कि यही अवधिमा 45 हजार आठ सय 42 जना भारतीय पर्यटक भक्तपुर पुगेका छन्। केन्द्रको तथ्यांकअनुसार गत वर्ष 64 हजार तीन सय 75 भारतीय पर्यटकले भक्तपुर भ्रमण गरेका थिए। भक्तपुर भ्रमण गर्ने कुल पर्यटकमध्ये यो 23 दशमलव 52 प्रतिशत हो।

भारतीय पर्यटकलाई पछ्याउँदै गत वर्ष 58 हजार आठ सय 59 चिनियाँ पर्यटकले भक्तपुर भ्रमण गरेका थिए। भक्तपुर भ्रमण गर्ने कुल विदेशीमध्ये दोस्रो स्थानमा रहेका चिनियाँको प्रतिशत 21 दशमलव 52 थियो। केन्द्रका प्रमुख सुवालले चालू वर्षको साउन महिनादेखि सार्क मुलुक तथा चिनियाँ पर्यटकको प्रवेश शुल्क पाँच सय बनाइएपछि भारतीय पर्यटकको आगमन घटेको जानकारी दिनुभयो।

आर्थिक हिसाबले भारतीयभन्दा चिनियाँको स्तर माथि भएकाले शुल्क बढाए पनि चिनियाँ पर्यटकमा भने कुनै प्रभाव नपरेको उहाँको भनाइ छ। गत आर्थिक वर्षसम्म भक्तपुर नगर प्रवेश गर्ने चिनियाँसहित सार्क राष्ट्रका पर्यटकले एक सय रुपैयाँ तिरे पुग्थ्यो। तर, भक्तपुर नगरपालिकाले यसै साउन महिनादेखि चीनसहित सार्क राष्ट्रका पर्यटकसँग प्रतिव्यक्ति पाँच सय रुपैयाँ पर्यटन शुल्क लिन थालेको हो।

चीन र भारतपछि भक्तपुर भ्रमण गर्ने मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ। गएको पुससम्म 12 हजार आठ सय 10 फ्रान्सेली पर्यटकले भक्तपुर भ्रमण गरेका थिए।

गत वर्ष 17 हजार नौ सय 83 जना फ्रान्सेलीले भक्तपुरको भ्रमण गरेको तथ्यांकमा उल्लेख छ। फ्रान्सपछि जर्मनी र अमेरिका क्रमश: चौथो र पाँचौं स्थानमा रहेका छन्।

यो वर्षजस्तै गत वर्ष पनि जर्मनी र अमेरिकाका पर्यटक चौथो र पाँचौं स्थानमा रहेका थिए। यो आर्थिक वर्षको पुससम्म 11 हजार 15 जर्मनेली र 10 हजार सात सय अमेरिकी पर्यटकले भक्तपुर भ्रमण गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ