फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वमै दुर्लभ मानिएका अति संकटापन्न चरा नेपालमा

(GMT+08:00) 2015-03-04 18:15:53

विश्वमै दुर्लभ मानिएका अति संकटापन्न सुनगिद्ध र चिरकालिज मध्यपश्चिम नेपालको जाजरकोटमा देखिएका छन् । लह 5, पोखरामा सुनगिद्ध र सक्ला 1, लैखमको जगलमा चिरकालिज देखिएका हुन्। सुनगिद्धले सक्ला गाविस पोखराको महादेवस्थान गोथाथत जंगलको सल्लीको रूखमा लगाएको गुँडमा अण्डा पारेको गिद्ध प्राविधिक ईश्वरीप्रसाद चौधरीले बताए । सुन गिद्धले दोस्रो पटक अण्डा कोरल्न थालेको छ। गत वर्ष पनि बच्चा हुर्काएको थियो । सुनगिद्धले वर्षको एउटा मात्र बच्चा कोरल्ने गर्छ।

सुनगिद्ध पाइने जाजरकोट दक्षिण एसियामै दोस्रो हो। पाल्पा पहिलो हो । हालसम्म जाजरकोटमा सुनगिद्धका 3 वटा गुँड भेटिएका छन् । स्थानीय भाषामा काली गिद्ध भन्ने गरिन्छ । वन अतिक्रमणका कारण यसको बासस्थान नाश भई संकटमा परेको छ। सुनगिद्धले वन अतिक्रमणले बर्सेनि गुँड सार्ने गरेको स्थानीय छवि पन्तले बताउनुभयो। सल्लीका रूख जथाभावी फँडानी गर्दा सुनगिद्धको बासस्थान तथा गुँड लगाउने क्षेत्र संकटमा परेको पन्तको भनाइ छ।

पृथ्वीबाटै लोप हुने अवस्थामा पुगेको दुर्लभ सुनगिद्ध जाजरकोटमा देखिएको पक्षी विज्ञ कृष्णप्रसाद भुसालले बताउनुभयो। सुनगिद्धको संख्या यस जिल्लामा के कति छ भन्ने आधिकारिक जानकारी हुन नसकेको उहाँले बताउनुभयो।

त्यस्तै पक्षी विज्ञहरूले जाजरकोटको लैखम जंगलमा सुन्दर चरा चिरकालिज देखेका हुन्। नेपालमा पाइने लोपोन्मुख चराहरूको अनुसन्धान र संरक्षणमा कार्यरत संस्था नेपाल पक्षी संरक्षण संघका विज्ञहरूले उक्त चरा देखेका हुन् । 18 सयदेखि 3 हजार मिटरको उचाइको झाडीयुक्त डाँडापाखामा यो चरा पाइने गरेको छ । चिरकालिज विश्वमै लोपोन्मुख र दुर्लभ छ। जसका कारण सरकारले संरक्षित 9 प्रजातिका चराहरूको सूचीमा चिरकालिजलाई पनि सूचीकृत गरेको छ ।

पछिल्लो समय पशु उपचारमा प्रयोग गरीएको डाइक्लोफेनेक औषधिका कारण गिद्ध लोप हुने अवस्थामा पुगेको भए पनि जाजरकोटमा भने गिद्धको अवस्था राम्रो देखिएको हो। विश्वमा 23 प्रजातिका गिद्ध पाइन्छन् । दक्षिण एसियामा पाइने नौ प्रजातिका गिद्ध नेपालमा पनि पाइन्छन्। नेपालमा सन् 1990 को दशकसम्म 16 लाख गिद्ध रहेको अहिले 91 प्रतिशत गिद्ध लोप भइसकेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ