फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा विनाशकारी भूकम्प अकल्पनीय क्षति

(GMT+08:00) 2015-04-25 19:02:00

       नेपालको गोरखाको बारपाकमा केन्द्रविन्दु बनाएर 7.6 म्याग्नेच्युड स्केलबाट सुरु भएको भूकम्प एकपछि अर्को गर्दै देशै भरि असर गरेको छ। हाल पनि भूकम्प जाने क्रम जारी छ। अहिलेपनि सा-सानो भूकम्प गइरहेको छ। भुकम्पबाट काठमाडौंमा धरहरा पूर्ण रुपमा क्षति भएको छ। अहिलसम्म कति मानवीय क्षति भयो भन्ने थाहा हुन सकेको छैन। काठमाडौंका पुराना मठ-मन्दिर र घरहरु पनि भत्किएका छन्।

        गृह मन्त्रालयका अनुसार, हालसम्म काठमाण्डौंमा मात्र 181, भक्तपुरमा 43 तथा ललितपुरमा 66जनाको मृत्यु भएको छ। यस्तै 4 सय भन्दा बढी घाइते भएका छन् । धेरै भौतिक संरचना ध्वस्त भएका छन्।

        सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले नेपाली जनतालाई धैर्य गर्न तथा आकस्मिक उद्धार तथा सुरक्षा समन्वय नेपाल सरकारले गरिहेको सीआरआई नेपाली सेवालाई बताउनुभएको छ।

        पहिलो पटक गोरखाको बारपाकमा केन्द्रविन्दु बनाएर 7.6 म्याग्नेच्युड स्केलबाट सुरु भएको भूकम्प दोस्रो तिब्बतमा केन्द्रविन्दु बनाएर 5.5, तेस्रो गोरखामै 6.6 र चौथो रसुवामा केन्द्र बनाएर 5.7 रेक्टरस्केलको भुकम्प गएको थियो। खानी तथा भूगर्भ विभाग भुकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले दिएको जानकारीका अनुसार अहिले पनि सा-साना भूकम्प जाने क्रम जारी छ। उनले सतर्क भएर बस्न सबैलाई सुझाएका छन्। सुरुमा गएकोभन्दा कम म्याग्नेच्युडका भूकम्प गइरहेको पनि अधिकारीले बताए।

         पहिलो भूकम्प 11 बजेर 56 मिनेटमा गएको थियो। त्यसपछि तिब्बतमा लगत्तै र गोरखामा 12 बजेर 30 मिनेट जाँदा तेस्रो भूकम्प गएको थियो। त्यसपछि तेस्रो रसुवामा 12 बजेर 41 मिटेट जाँदा र पाँचौ रसुवामै 12 बजेर 53 मिनेटमा गएको अधिकारीले बताएको नागरिकन्यूजले लेखेको छ।

        नागरिकका संवाददाता सागर घिमिरेका अनुसार बसन्तपुरमा रहेका 3 ओटा मन्दिरमा क्षति पुगेको छ। त्यहाँ घाइते र मृतकलाई उद्दार गरिएको छ। त्यसैगरी नागरिकका फोटोग्राफर विजय राईले दिएको जानकारी अनुसार धरहरमा लगभग 1 सय 50 जना मानिस चढेका थिए। भूकम्प गएको बेला धरहरा वरपर हजारौंको संख्यामा मानिसहरु रहेका थिए। हाल काठमाडौंमा लाखौं मानिस सडकमा छन्।

         भक्तपुरतिर घर भत्किएको र बाटो भासिएको छ। यसैगरी अरनिको राजमार्गअन्तर्गत पर्ने लोकनथली-कौशलटार सडक चिरिएको, पर्खाल भत्किएको स्थानीयले बताएका छन्।

         हाल काठमाण्डौंलगायत नेपालका भूकम्पग्रस्त क्षेत्रमा जनजीवन अस्तव्यस्त बनेको छ। विनाशकारी भूकम्पबाट देशभर जनधनको अकल्पनीय क्षति भएको छ। राजधानी काठमाडौंको मुटुमा अवस्थित ऐतिहासिक नौ तले धरहरा फेदैसम्म ढलेर ध्वस्त भएको छ। धरहरा भत्किदा धरहराको टुप्पोमा रहेका र जमिनमा समेत रहेका कम्तिमा पचासजना हताहत भएका छन्। यो संख्या अझै धेरै रहेको प्रत्यक्षदर्शीले बताएका छन्। देशभर ठूलो हताहति भए पनि यकिन तथ्यांक कतैबाट आएको छैन।

         करीव तीन घण्टादेखि लगातार भूकम्पको धक्का दोहोरिदा देशभर सयौंको ज्यान गएको अनलाइनखबरले लेखेको छ। खर्बौंको भौतिक क्षति भएको प्रारम्भिक अनुमान छ। त्यस्तै रसुवामा कम्तिमा 17 जनाको मृत्यु भएको छ। नुवाकोटमा 6 जनाको मृत्यु भएको पुष्टि भएको छ। रामेछापमा कम्तिमा 7 जनाको मृत्यु भएको छ। त्यस्तै सुनसरीको दुहवीमा 2 जनाको मृत्युको पुष्टि भएको छ।

         कान्तिपुरअनलाइनका अनुसार, भूकम्पबाट मोरङ जिल्लामा 11 जना घाइते भएका छन् । टंकी सिनुवारी 5 स्थित एभरेष्ट आइरन उद्योगको पर्खाल भत्किँदा च्यापिएर एक नाबालक सहित 6 जना घाइते भएको जिल्ला प्रहरीका डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिएका छन्। यस्तै विराटनगरकै विभिन्न स्थानमा घरवाट हामफाल्ने क्रममा अन्य 5 जना पनि घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। डिएसपी ढकालका अनुसार भूकम्पवाट जिल्लाको केही विद्यालय र घरहरू चर्किएका छन् । जिल्ला भरी नै प्रहरी परिचालन गरि भूकम्पवाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भईरहेको छ ।

          यसैगरी क्षेत्रीय प्रहरी कार्यालयका अनुसार कास्कीमा अहिलेसम्म 2 जनाको मृत्यु भएको छ भने 1 सय 47 घरमा क्षति पुगेको छ। शिक्षण अस्पताल महाराजगञ्जमा 50 जनाभन्दा बढीको शव राखिएको कान्तिपुरअनलाइन लेखेको छ। धरहरा क्षतिग्रस्त हुँदा केहीको ज्यान गएको अनुमान गरिएको छ । गोरखामा 14 जनाको मृत्यु भएको छ। मकवानपुरमा 3 जनाको मृत्यु भएको छ। पुराना घरहरु भत्किएको छ। बसन्तपुर दरबार क्षेत्रबाट चारजनाको शब निकालिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ