फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

(GMT+08:00) 2015-05-18 18:59:45

        नेपालका प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितको पुन:स्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणमा अन्तराष्ट्रिय समूदायलाई अझै ठूलो सहयोग गर्न आग्रह गर्नु भएको छ। उहाँले भूकम्पपीडितको उद्धार र राहतका काममा अन्तराष्ट्रिय समुदायले ठूलो सहयोग गरेकोमा प्रशंसा गर्दै अब पुन:स्थापना र पुनर्निर्माणको काममा पनि यस्तै सहयोगको अपेक्षा गरिएको उल्लेख गर्नुभयो।

         कान्तिपुर अनलाइनका अनुसार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई लक्षित गरेर हिजो आइतबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै कोइरालाले छिमेकी चीन, भारत लगायत सार्क राष्ट्र र अमेरिका, बेलायतलगायत अन्य मुलुकहरूप्रति आभार व्यक्त गर्नु भएको हो।

         उहाँले सबै मुलुकले अझै सहयोग गर्ने प्रतिबद्धता गरिरहकाले त्यसप्रति पनि धन्यवाद दिनु भएको छ। उहाँले अस्थिर अवस्थामा विदेशीहरूले लगानी नगर्ने भएकाले चाँडै संविधानसहितका राजनीतिक स्थिरता कायम गरी विकासको गतिमा दौडने बताउनुभयो।

        राहत पुनर्स्थापनाका लागि अहिलेसम्म भएका कामको विवरण पेस गर्दै प्रधानमन्त्री कोइरालाले यो विपत्तिले सबै एक ठाउँमा आएको र अब मिलेर अघि बढ्न लागेको जानकारी दिनुभयो। 'सबै राजनीतिक दल एक ठाउँमा आएका छन् तपार्इंहरूले मिडियाबाट पनि थाहा पाइरहनुभएकै होला,' प्रधानमन्त्री कोइरालाले भन्नुभयो। भूकम्पपीडितको व्यस्थापनमा राज्य के असफल भयो र के पाठ सिक्यो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री कोइरालाले कुनै काममा असफल नभएको भन्दै ठाडै प्रतिवाद गर्नुभयो। 'हामी फेल भएका छैनौँ, हामी प्रजातान्त्रिक व्यवस्थामा छौँ, प्रजातन्त्रले सबै खालका चुनौती समाना गर्न सक्छ, चाहे ती प्राकृतिक विपत्ति हन् वा अरू कुनै,' प्रधानमन्त्री कोइरालाले भन्नुभयो।

        उहाँले संसद्ले संकल्प प्रस्ताव पारित गरेको र यसकै आधारमा पुनर्स्थापना र पुनर्निर्माणको काममा अघि बढ्ने आधार मिलेको बताउनुभयो। संकटको बेलामा सबै राजनीतिक दलका नेताहरूले चुनौती समाना गर्दै अघि बढ्न देखाएको तत्परताले अगाडि जान हौसला मिलेको प्रधानमन्त्री कोइरालाको कथन थियो।

        उहाँले राहत सामग्री बोकेर आएको बेलायती विमानलाई विदेशमै रोकिएको बारे सोधिएको प्रश्नमा यहाँको विमानस्थलको क्षमताका कारण यस्तो भएको भन्दै स्पष्टीकरण दिनुभयो। 'यहाँको विमानस्थल धेरै भीड थियो, र एयरपोर्टमा 1 सय 90 टनभन्दा ठूलो विमान अवतरणमा समस्या हुन्थ्यो,' प्रधानमन्त्री कोइरालाले भन्नुभयो, 'त्यसैले अवतरण गर्न समस्या परेको हो, यसमा अन्य कुनै कारण छैन।' बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँग भएको टेलिफोन वार्तामा यसबारे आफूले सबै बताएको कोइरालाले उल्लेख गर्नुभयो।

       'मेरो उहाँसँग कुरा भएको थियो, यहाँको अवस्था के छ कस्तो छ, के कारणले अवतरण गर्न सकिएन लगायत सबै कुरा भनेको छु,' प्रधानमन्त्री कोइरालाले भन्नुभयो। उहाँले यहाँको भौगोलिक अवस्थासमेत अप्ठेरो रहेको उल्लेख गर्दै त्यसकै कारण अमेरिकी हेलिकप्टर दुर्घटना भएको उदाहारणसमेत दिनुभयो। उद्धार र राहतका लागि आएको हेलिकप्टर दुर्घटना परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्ति गर्दै उनीहरूको साहसिक कामलाले सधैं सम्झिइरहने कोइरालाले उल्लेख गर्नुभयो। प्रधानमन्त्री कोइरालाले अहिले राहत र पुनस्र्थापनाका काम तीव्र भइरहेको उल्लेख गर्दै पीडित परिवारलाई दिएको रकम र अहिलेसम्म सरकारले गरेका निर्णयहरू पनि सार्वजनिक गर्नुभयो। पीडितहरूलाई अस्थायी बासस्थानका लागि 15 हजार रुपैयाँ, मृतक परिवारलाई एक लाख रुपैयाँ दिएको पनि बताउनुभयो। उहाँले राहत पुनास्र्थापनका लागि जिल्ला–जिल्लामा काम भइरहेको खाद्यान्न, औषधि, खानेपानी प्रबन्ध भइरहेको पनि प्रधानमन्त्री कोइरालाले जानकारी दिनुभयो। उहाँले नौ हजारभन्दा बढीको मृत्यु, 20 हजारभन्दा बढी घाइते भएको विवरण दिनुभयो। हजारभन्दा बढी सरकारी कार्यालय ध्वस्त र दुई हजारभन्दा बढीमा आंशिक क्षति पुगेको उहाँले बताउनुभयो। विश्व सम्पदा पनि ध्वस्त भएको भन्दै यसको पुनर्निर्माणमा विशेष ध्यान दिनुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो।

 

जानकारी तथा लेखहरु
सुझाउ