फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आन्तरिक उडान 50 प्रतिशत कटौती

(GMT+08:00) 2015-05-19 19:18:07

        विनाशकारी भूकम्पपछि निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान 50 प्रतिशतसम्म कटौती गरेका छन्। काठमाडौंबाट मुलुकका विभिन्न गन्तव्य जाने यात्रुको चाप अधिक भए पनि उताबाट लगभग रित्तै जहाज ल्याउनुपर्ने बाध्यताका कारण उडान कटौती गर्नुपरेको वायुसेवा कम्पनीले जानकारी दिएको नागरिक अनलाइनले लेखेको छ।'यताबाट जाँदा यात्रु चाप राम्रै हुन्छ, फर्कंदा जहाज लगभग खाली ल्याउनुपरिरहेको छ,' सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्वल थापाले भन्नुभयो,'उताबाट जहाज खाली ल्याउनुपरेका कारण जाने उडान कटौती गरेका हौँ।'

         वायुसेवा कम्पनीहरूले प्रमुख गन्तव्य पोखराका लागि 50 प्रतिशतसम्म उडान कटौती गरेका छन्। प्रमुख वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, सिम्रिक एयरलाइन्स लगायतले पोखरातर्फको उडान आधाले कटौती गरे पनि अन्य गन्तव्यका नियमित उडान भने यथावत राखेका छन्। विराटनगर, भद्रपुर र धनगढी जाने यात्रु चाप भने उच्च रहेको उनीहरूले जनाएका छन्।

        थापाका अनुसार सिम्रिकले पोखराका लागि सामान्य बेला दैनिक 6 वटासम्म उडान गथ्र्यो। वैशाख 12 मा आएको 7.6 म्याग्निच्युडको विनाशकारी भूकम्पपछि उडान संख्या कटौती गरी दुईदेखि तीनवटा मात्र गरिएको छ। अर्को प्रमुख पर्यटन गन्तव्य लुक्लातर्फको उडान पनि आधा कटौती गरिएको छ।

     'लुक्लाका लागि अरु बेला दैनिक पाँचवटासम्म उडान गथ्र्यौं तर भूकम्पपछि मुस्किलले दुईवटामात्र उडान गरिरहेका छौं,' थापाले भन्नुभयो,'त्यता जाने यात्रु झन्डै 70 प्रतिशतले घटेका छन्। कार्गो उडान पनि साह्रै कममात्र हुने गरेको छ।'

          सिम्रिकले भैरहवाका लागि दैनिक एक उडान भने यथावत राखेको छ। तर, पछिल्लो 10 दिनमा भैरहवा जाने यात्रु नभएकाले एउटामात्र उडान भएको उहाँले जानकारी दिनुभयो। त्यसैगरी पोखराबाट जोमसोम उडान वैशाख 12 यता 10 दिन पूर्णरूपमा बन्द भएको उहाँले बताउनुभयो। 'अब विस्तारै बुकिङ सुरु हुन थालेको छ'उहाँले भन्नुभयो,'भारतीय पर्यटकसँगै तेस्रो देशका पर्यटक पनि विस्तारै बढ्न थालेका छन्।'

         अर्को प्रमुख वायुसेवा कम्पनी बुद्ध एयरले पनि नियमित उडान भने सबै यथावत राखेको छ। उसले पनि पोखरातर्फको उडान भने आधाभन्दा बढीले कटौती गरेको छ। पोखराका लागि सामान्य दिनमा दैनिक 6 सम्म उडान गरिरहेको बुद्धले हाल त्यसमा कटौती गरी दुईमा झारेको छ।

     'पोखराका उडान आधाभन्दा बढीले कटौती गरे पनि उताबाट फर्कंदा हामीले यात्रु राम्रै संख्यामा पाएका छौँ। पोखरामा हाल भारतीय वा तेस्रो देशका पर्यटक नभए पनि आन्तरिक यात्रुले वायुसेवा धानेका छन्,' बुद्धका वरिष्ठ कार्यकारी प्रबन्धक रुपेश जोशीले भन्नुभयो,'अन्य गन्तव्यमा भने जाँदा यात्रु भए पनि फर्कंदा जहाज खालिजस्तै हुने गरेको छ।'

         बुद्धले पोखराबाहेक अन्य सबै गन्तव्यका नियमित उडान भने यथावत राखेको छ। जोशीका अनुसार विराटनगर पाँच, भद्रपुर दुई, धनगढी एक, नेपालगन्ज दुई, भैरहवा दुई, जनकपुर एक, भरतपुर दुई र तुम्लिङटारका लागि दैनिक एक उडान यथावत राखिएका छन्।

         प्रतिस्पर्धी वायुसेवा कम्पनी यती एयरलाइन्सले पनि पोखरातर्फको उडान करिब आधाले कटौती गरेको छ। सामान्य दिनमा दैनिक पाँच उडान गर्ने यतीले विनाशकारी भूकम्पपछि यसलाई घटाएर तीनमा झारेको छ। पर्यटन सिजनमा भने पोखराका लागि दैनिक 10 वटासम्म उडान गथ्र्यो।

        'नियमित उडान भएका कारण फर्कंदा खालि हुने गरे पनि उडान यथावत राखिएको छ,' यतीका बजार नायब निर्देशक सरल राणाले भन्नुभयो,'जसोतसो उडान गरिरहेका छौं।'

 

जानकारी तथा लेखहरु
सुझाउ