फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खासामा रोकिएका सामान राजधानी ल्याइँदै

(GMT+08:00) 2015-05-20 18:50:05

        भूकम्पका कारण अरनिको राजमार्ग र तातोपानी भन्सार कार्यालयमा क्षति पुगेपछि झण्डै एक महिनादेखि भन्सार यार्ड र खासामा थन्किएका चिनियाँ सामग्री आज बुधबारबाट राजधानी भित्रिने भएका छन्। भन्सार कर्मचारीले सिल लगाएको सामान एअरपोर्ट भन्सारमा अस्थायी रूपमा खडा गरिने तातोपानी भन्सार युनिटमा जाँच गर्नेगरी राजधानी लगिने भएको अन्नपूर्ण पोष्टले लेखेको छ। व्यवसायी संस्था र तातोपानी भन्सार कार्यालयको पहलमा गत सोमबार र मगंलबार भन्सार विभागमा सहमति भएपछि हाललाई सीमा क्षेत्रमा थन्किएका सामग्री राजधानी भित्र्याउने निर्णय भएको हो।

         नाकामा थन्किएको सामग्री राजधानी नआइपुगुन्जेल एअरपोर्ट भन्सार परिसरमा तातोपानीको युनिट रहने तातोपानी भन्सार कार्यालयका प्रमुख दिव्यराज पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार तत्काललाई भन्सार परिसर र सीमा क्षेत्रमा थन्किएका सामग्री राजधानी भित्र्याउन यस्तो व्यवस्था गरिएको हो।

        तातोपानी भन्सारका कर्मचारीले लगाएको सिल एअरपोर्टमा सामान जाँच गर्ने बेला खोल्ने गरी तत्कालका लागि व्यवस्थापन गरिएको प्रमुख भन्सार अधिकृत पोखरेलले बताउनुभयो। भन्सार कर्मचारीले सिल लगाएको सामान एअरपोर्ट भन्सारमा अस्थायी रूपमा खडा गरिने तातोपानी भन्सार युनिटमा जाँच गर्नेगरी राजधानी लगिने भएको हो।

         नेपाल हिमालय सिमापार वाणिज्यसंघका अध्यक्ष विष्णुबहादुर खत्रीले भूकम्पका कारण भन्सारमा जाँच पास हुन नसक्दा झण्डै तीन सय सामान लोड गरिएका कन्टेनर तातोपानी भन्सार र खासाका सडकमा अलपत्र रहेका बताउनुभयो।

        तत्कालका लागि लोड भएका गाडी राजधानी ल्याउने तयारीसँगै दिर्घकालीन रूपमा नाका सुचारु गर्ने विषयमा पनि छलफल अघि बढाइएको खत्रीले जानकारी दिनुभयो। 'अहिलेलाई गाडीमा लोड भएका सामान भनिएको छ, पछि व्यवसाय निरन्तर सञ्चालन हुने व्यवस्थाका लागि छलफल अघि बढाउँछौं' खत्रीले भन्नुभयो,सडक सुचारु भएकाले तातोपानी नाकाबाट हुने व्यवसाय रोकिनु हुँदैन।'

         नाकामा गर्मी मौसमका तयारी पोसाक, विद्युतीय उपकरण, दैनिक उपभोग्य सामग्री रोकिएका छन्। स्याउलगायत बिग्रनसक्ने सामग्री खासामा गोदाम गरिएको व्यवसायी बताउँछन्। भूकम्पपछि कार्यालयमा क्षति पुगेकाले भन्सारका कर्मचारी राजधानीमा छन्। माथि पहिरोको खतरा र कार्यालय तथा आवाससमेत भत्किएपछि कर्मचारी विस्थापित भइ भन्सारमार्फत हुने कारोबार ठप्प भएको हो।

        वैशाख 12 गतेको पहिलो भूकम्पका कारण गएको पहिरोले अवरुद्ध अरनिको राजमार्ग चिनियाँ सेनाको सहयोगमा खुलेको एक साता नबित्दै पुन: 29 गतेको भूकम्पले सडकमा क्षति पुर्‍याएको थियो।

         दोस्रो पटक पनि चिनियाँ सेनाले आइतबारबाट यातायात सुचारु गराएपछि नाकामा रोकिएका सामान छुटाउन व्यवसायी र भन्सार कार्यालयले पहल सुरु गरेका थिए। विभागबाट तत्काल रोकिएका सामान छुटाउने निर्देशन पाएपछि तातोपानी भन्सारले नै राजस्व लिनेगरी एएअरपोर्टबाट सामान जाँच गराउने व्यवस्था मिलाइएको तातोपानी भन्सार कार्यालयले जनाएको छ।

         पहिरो जाने खतरा र भवन समेत काम नलाग्ने भएकाले वर्षा अघि तातोपानीबाट व्यवसाय सुचारु हुने सम्भावना न्यून छ। सरकारले अस्थायी संरचना निर्माण गरेर पनि भन्सार सुचारु गराउनुपर्ने व्यवसायी बुद्धराज बस्नेतले बताउनुभयो। तातोपानी नाका सञ्चालन नहुँदा सयौं व्यवसायी विस्थापित हुने भएकाले पनि तत्काल संरचनाको विषयमा सोच्न बस्नेतले सरकारसँग आग्रह गर्नुभयो।

         गाडीमा लोड भएका बाहेक नै खासाका गोदाममा अबौं रुपैयाँका सामान थन्किएकाले ती सामान ल्याउन पनि भन्सारले व्यवस्थापन गर्नुपर्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका मानार्थ उपाध्यक्ष दोर्जे लामा बताउनुहुन्छ।

 

जानकारी तथा लेखहरु
सुझाउ