फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा विदेशी चिकित्सकद्वारा 7 हजार घाइतेको उपचार

(GMT+08:00) 2015-05-21 19:20:20

        विदेशबाट आएका चिकित्सकहरूले नेपालमा भूकम्पमा गम्भीर घाइते भएका 6 हजार सात सय 73 जनाको स्थलगत उपचार गरेका छन्। उनीहरूले भूकम्पछि विभिन्न समस्या देखिएका 28 हजार तीन सय 72 बिरामीको समेत उपचार गरेको अन्नपूर्ण पोष्टले लेखेको छ।

        स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रअन्तर्गतको 'फरेन मेडिकल टिम कोर्डिनेसन युनिट' को बुधबारसम्मको प्रतिवेदनअनुसार विदेशी चिकित्सकको टोलीले भूकम्पमा परी गम्भीर घाइते भएका चार सय 40 जनाको 'मेजर सर्जरी' समेत गरेका छन्।

        वैशाख 12 गतेको विनाशकारी भूकम्म्पको भोलिपल्टदेखि अन्तर्राष्ट्रिय समुदायका चिकित्सक टोलीले भूकम्पबाट बढी प्रभावित क्षेत्रमै पुगेर घाइतेको प्राथमिक उपचार, शल्यक्रिया, प्रसूतिलगायत सेवा दिन थालेका थिए। घाइतेको उपचार गरी 79 वटा विदेशी चिकित्कका टोली आफ्नो मुलुक फर्किसकेका छन्। कतिपय विदेशी चिकित्सकले दिएको सेवाबारे रिपोर्टिङ हुन बाँकी छ।

        अहिलेसम्म सबैभन्दा धेरै घाइतेको उपचार र शल्यक्रिया इजरायल, पाकिस्तान, जापान, चीन, भुटान, श्रीलंका, भारतबाट आएका विशेषज्ञ चिकित्सकले गरेका छन्। भूकम्प पीडितकै माझमा अत्याधुनिक उपकरण लिएर खटिएका उनीहरूले 'फिल्ड हस्पिटल' सञ्चालन गरी घाइतेको उपचार गरेका थिए। 'फिल्ड हस्पिटल'बाट मात्रै एक सय 58 जना गम्भीर घाइतेलाई केन्द्रीय अस्पताल रिफर गरिएको थियो।

         युनिटका संयोजक डा. खेम कार्कीले अन्तर्राष्ट्रिय चिकित्सकको सहयोगले धेरै घाइतेको जीवन बच्न सफल भएको बताउनुभयो। 'विदेशी चिकित्सकले नेपाली घाइतेको जीवन मात्र बचाएका छैनन्', उहाँले भन्नुभयो, 'कयौँलाई अपाङ्गता हुनबाट समेत बचाए, उनीहरूको दक्षता, टिममा काम गर्ने चलन, साथमा ल्याएको अत्याधुनिक उपकरणका कारण घाइतेले राम्रो उपचार पाए।'

        डा. कार्कीले जस्तोसुकै अवस्था र ठाउँमा पनि 'सेल्फ सस्टेन्ट' हुने सक्ने भएकाले पनि विदेशी चिकित्सक टोलीले लामो समय प्रभावकारी रूपमा घाइतेको उपचार गरेको बताउनुभयो। प्रतिवेदनअनुसार 'फिल्ड हस्पिटल'मा ल्याउँदा ल्याउँदै र उपचारका क्रममा तीन सय आठजनाको ज्यान गएको छ। कार्कीका अनुसार भूकम्प प्रभावित क्षेत्रबाट घाइते आउने क्रम जारी रहेको र 'फलोअप' पनि महत्त्वपूर्ण भएकाले अझै अन्तर्राष्ट्रिय विशेषज्ञसहितको 50 वटा टोली विभिन्न क्षेत्रमा परिचालित छ।

         तीमध्ये 14 वटा अन्तर्राष्ट्रिय चिकित्सकको टोलीले 'फुल फिल्ड हस्पिटल' खडा गरी घाइतेको शल्यक्रियासहितको उपचार सेवा दिइरहेका छन्। अन्य टोलीले घाइतेको प्राथमिक उपचार, रिफर र परामर्श गरिरेहका छन्।

         सबैभन्दा ठूलो संख्यामा काभ्रेको धुलिखेल अस्पतालमा चिनियाँ विशेषज्ञ चिकित्सकको टोलीले उपचार दिइरहेको छ। सिन्धुपाल्चोकको चौतारामा नर्वेको रेडक्रस, रसुवाको धुन्चेमा क्यानडाको रेडक्रस, गोरखाको आरुघाटमा एमएसएफ फ्रान्स, गोरखा अस्पतालमा स्विजरल्यान्ड, कीर्तिपुरमा क्युवा, दोलखाको चरिकोट र काठमाडौँको सिनामंगलमा भारत, सिन्धुपाल्चोकको भिमटारमा थाइल्यान्ड, काभ्रेको चन्देनीमा थाइल्यान्डको चिकित्सकको टोली खटिएको छ। यी टोलीले नेपालमा अन्यले भन्दा लामो समय उपचार गर्ने डा. कार्कीले बताउनुभयो।

         'उपयुक्त उपकरणको अभावमा नेपाली चिकित्सकले सेवा दिन नसकेको स्थानमा पनि अन्तर्राष्ट्रिय चिकित्सकको टोली खटेर उपचार गरिरहेका छन्', डा. कार्कीले भन्नुभयो, 'विदेशी चिकित्सकले दिइरहेको उपचार नेपालले दिन सक्ने व्यवस्था गरेपछि मात्रै उनीहरू फर्कनेछन्, जसको तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्न थालेको छ।'

 

जानकारी तथा लेखहरु
सुझाउ