नेपालका प्रधान सेनापति गौरव शम्शेर जबराले भूकम्प प्रभावित क्षेत्रमा सुरुदेखि नै संयुक्त राज्य अमेरिकाका विभिन्न निकाय र अमेरिकी सेनाले गरेको सहयोगको प्रशंसा गर्नुभएको छ। अमेरिकी सेना स्वदेश फर्कनु पूर्व सन्ध्यामा हिजो बुधबार नेपाली सेनाको मुख्यालयमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधान सेनापति जबराले अमेरिकी सेनाका विशिष्ट उपकरणको सहयोगले नै भूकम्प प्रभावित दुर्गम क्षेत्रमा उद्धार र राहत सामग्री पुर्याउन ठूलो मद्दत पुगेको बताउनु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।
प्रधान सेनापति जबराले अमेरिकी सेनासँग निकट रहेर नेपाली सेनाले उद्धार तथा राहतमा सँगसँगै काम गर्ने अवसर पाएकोमा खुशी समेत व्यक्त गर्नुभयो। उहाँले उद्धारका क्रममा हेलिकोप्टर दुर्घटनामा परि अमेरिकी र नेपाली सेनाको निधन भएकोमा दुःख व्यक्त गर्नुभयो।
पत्रकार सम्मेलनमा नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडीले नेपाललाई परेको यस महाविपत्तिमा आफ्नो मुलुकले उद्धार तथा राहतमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै सहयोग निरन्तर जारी रहने जानकारी गराउनुभयो।
राजदूत बोडीले अमेरिकाले नेपाललाई उद्धार तथा राहत कार्यमा हालसम्म झण्डै चार करोड 70 लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराएको बताउनुभयो। उहाँले यस रकमबाट भूकम्प प्रभावित क्षेत्रमा बसोबास सामग्री, औषधि, सुरक्षित पिउने पानी र स्वास्थ्य सामग्री वितरण गरी सहयोगलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो।
कार्यक्रममा अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोन विसलरले नेपाललाई परेको विपत्तीको यस घडिमा आफूहरुले गर्न पाएको सहयोगप्रति खुशी व्यक्त गर्दै सहयोगका शिलशिलामा ज्यान गुमाएका सैनिक प्रति श्रद्धाञ्जलि समेत व्यक्त गर्नुभयो।
अमेरिकी सेनाले भूकम्प प्रभावित क्षेत्रमा 110 टन राहत सामग्री पुर्याएको र उद्धार गर्नका लागि 52 उडान सञ्चालन गरेको जानकारी गराएको छ। त्यस्तै हालसम्म युएसआईडीले झण्डै तीन लाख 10 हजार 500 मानिसहरुको आपतकालीन बसोबासका लागि पर्याप्त हुने छ हजार 200 रोल प्लाष्टिकका टिकाउ पालहरु प्रदान गरिसकेको छ।